निषेधाज्ञाको पाँचौं दिनः ग्रामीण क्षेत्रमा कडाइ

327

प्रस, बिरुवागुठी, २० वैशाख/

                जिल्ला प्रशासन कार्यालय, पर्साले वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेकोमा पाँचौं दिनदेखि सुरक्षाकर्मीहरूले कडाइ गरेका छन्।

                ग्रामीण भेगमा निषेधाज्ञा खुकुलो भएको समाचार प्रकाशमा आएपछि सुरक्षाकर्मीहरू सोमवारदेखि सक्रिय भएका हुन्।

                बडनिहार र मनवाका बजार, व्यवसाय सुरक्षाकर्मीले बन्द गराएका थिए। सातामा दुईपटक लाग्ने बजार सञ्चालनमा थिए भने पसलहरू पनि छिटपुटरूपमा खुल्दै आएका थिए।

                सशस्त्र प्रहरी बेस क्याम्प बेलवा र प्रहरी चौकी बडनिहार, प्रहरी चौकी मनवाले बजार बन्द गराएको प्रहरी चौकी बडनिहारका इन्चार्ज विनोदमान सिंहले बताए। अति आवश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन चल्न नदिएको उनले बताएका छन्।

प्रस, पोखरिया/

                ग्रामीण क्षेत्रहरूमा निषेधाज्ञा उल्लङ्घन गरेर सवारीसाधन सञ्चालनमा रहेको समाचार प्रकाशनमा आएपछि सुरक्षाकर्मीहरूले ठाउँ–ठाउँमा चेकजाँच बढाएका छन्। यसै क्रममा वीरगंज महानगर र विन्ध्यवासिनी गाउँपालिका जोड्ने तिलावे पुलमा आज सुरक्षाकर्मीहरूले सवारीसाधन चेकजाँच गरेका थिए।

                अनावश्यक कामको लागि सवारीसाधन चलाउनेहरूलाई आज दण्ड, जरिवाना गरिएको थियो। कतिपय मोटरसाइकल नियन्त्रणमा लिएको सुरक्षाकर्मीहरूले बताएका छन्। चार दिनसम्म सुरक्षा जाँच नहुँदा ग्रामीण क्षेत्रमा खासगरी मोटरसाइकल निर्बाध सञ्चालन भइरहेका थिए। आजदेखि चेकजाँचमा कडाइ भएपछि ग्रामीण क्षेत्रमा मोटरसाइकल चल्ने क्रम पनि पातलिएको छ। आवश्यक भएका मानिसहरू मात्र मोटरसाइकल लिएर बाहिरिएको पाइयो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्