डेरी उद्योग र पसललाई कारबाई

64

प्रस, लहान, २० वैशाख/

सिराहाको नरहा गाउँपालिका–३ नयाँ चोहर्वास्थित दूधगङ्गा डेरी उद्योगलाई कारबाई गरिएको छ।

घरेलु तथा साना उद्योग कार्यालय लहान र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको संयुक्त अनुगमन टोलीले खाद्यान्न अनुज्ञापत्र नलिई डेरी सञ्चालन गरी दूध, दहीलगायत सामग्री बजारमा बिक्री गरिरहेको पाएपछि सञ्चालकमाथि कारबाई प्रक्रिया अघि बढाएको हो।

सो डेरी उद्योगको खाद्यपदार्थ गुणस्तरीयसमेत नदेखिएकाले कारबाई गरिएको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले बताए।

यसैगरी, टोलीले बजार अनुगमनको क्रममा मिर्चैया नगरपालिकास्थित एक दर्जन किराना तथा मिठाइ पसलबाट म्याद गुज्रिएका खाद्यपदार्थ, पेय पदार्थ तथा खानेतेल नियन्त्रणमा लिई नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका सुरेश सिंहले बताए।

पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्ताले देख्नेगरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गर्न चेतावनी दिइएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्