पानी पीडामा चुरे फेद र आसपासका मानवबस्ती, बर्सेनि खानेपानीको समस्या झेल्दै चकरीवासी

74

प्रस, निजगढ, १८ वैशाख/

      दश वर्षीया सुविना योञ्जनलाई आफ्नो पढाइभन्दा बढी पिउने पानीको दैनिक जोहो गर्ने चिन्ताले बढी सताउने गर्छ।

  जीतपुरसिमरा उपमहानगरपालिका–२२ चकरीकी सुविना दैनिक बिहान उठ्ने बित्तिकै पानीको जोहोका लागि हातमा बाल्टिन, डोरी, जर्किन र गाग्री बोकी इनारतर्फ लाग्नुपर्ने बाध्यता छ। पानीको जोहो गरिसकेपछि मात्रै उनी पढाइको मेलोमेसोमा लाग्छिन्।

      पुस/माघ महीनादेखि नै चुरे फेद आसपासका मूल मुहानमा पानी घट्दै गएपछि यस बस्तीमा पिउने पानीको चरम अभाव हुने गरेको छ। उनका अभिभावकलाई छोरी सविनाको पढाइप्रति चिन्ता छ। तर पानीविना घरको काम पनि नहुने भएकोले सविनालाई विद्यालय जानुअघि पानीको जोहो गर्ने पहिलो जिम्मेवारी दिइएको छ। बोक्न सक्ने जर्किनमा पानी लिएर घर फर्केपछि गाग्रीमा भरेको पानी लिन उनका अभिभावक इनार पुग्छन्।

      बस्तीमा भएका तीन/चार वटा इनारमा बस्तीका ३/४ सय घरधुरी आश्रित छन्। यसैले बिहानदेखि रातिसम्म इनारमा पानी लिनका लागि भीड लाग्ने गरेको बस्तीकी ६५ वर्षीया सीतामाया वाइवाले बताइन्। उनले इनारमा भने रातसम्म भीड हुने गरेको बताइन्। चकरीमा उनीसँग भेट हँुदा तीन घण्टापछि बल्ल इनारमा बाल्टिन हाल्ने पालो आउन लागेको भन्दै उनी बाल्टिन र डोरी मिलाउँदै इनारतर्फ अघि बढेकी थिइन्।

      करीब ८ फिट गोलाइ भएको सानो इनारमा ४ देखि ६ जनाले पानी तान्दै भाँडोमा भर्न सक्छन्। प्लास्टिकको जर्किनलाई काटेर इनारबाट पानी तान्ने काम गरिन्छ। एउटा गाग्री भर्न झन्डै आधा घण्टा समय लाग्ने गर्छ। इनारमा पानी लिन आएकी सीतामायाले यसपालि खानेपानीको एकदमै दुःख सहनुपरेको बताइन्। उनले प्रत्येक वर्ष बस्तीका मानिसले ६ महीना पानीको लागि सास्ती खेप्नुपरेको दुःखेसो पोखिन्।

      ३७ वर्षीया शिल्पा थिङले पानीको लागि पसल बन्द गरेर आएको बताइन्। उनले एउटा गाग्री भर्न आधा घण्टाभन्दा बढी समय लाग्ने गरेको बताइन्। पानीको जोहो गर्दा बस्तीका बालबालिकाहरूको पढाइ प्रभावित हुने गरेको उनले बताइन्। पानीको लागि जनप्रतिनिधिहरूबाट आजसम्म आश्वासन मात्र पाउँदै आएको उनले दुःखेसो पोखिन्। जहिले पनि खानेपानीको बारेमा जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदा प्रक्रिया अगाडि बढेको बताउने गरेको उनले बताइन्।

      इनारनजीकै घर हुनेले दिन/रातको समय निकालेर पानीको जोहो गरिरहे पनि अलि टाढाका मानिसहरू भने दिनभर टन्टलापुर घाममा पालो कुरिरहेका देखिन्थे। गर्मीयामसँगै इनारमा पानीको सतह घटिरहेको छ। जति जति सुक्खायाम बढ्दै जान्छ, त्यति नै पानीको सतह घट्दै जाने गरेको छ। समयमा वर्षा नहँुदा अहिले पानीको स्रोत सुक्दै गइरहेको हो।

      चुरे पहाडले वर्षामा पानी सोस्ने र भावर क्षेत्रमा पानी लुक्दै पFँच/सात किलोमिटरदेखि आठ/दश किलोमिटर टाढा पुगेर पानीको सतह माथि उठ्ने गर्छ। त्यसैले यस भावर क्षेत्रमा पानीको समस्या बढी देखिन्छ, जलाधारविज्ञ मोहन वाग्ले बताउँछन्।

      पानीको स्रोतलाई सुरक्षित राख्न वनजङ्गल हरियाली बनाइराख्नु, प्राकृतिक स्रोत साधनको संरक्षण गर्नुपर्ने उनको सुझाव छ।

       अहिले स्थानीय तहको आम्दानीको स्रोत चुरे क्षेत्रबाट बगेर आउने नदीजन्य पदार्थ ढुङ्गा, ग्रेभल, बालुवामा छ। वार्षिक करोडौंमा ठेक्का लगाएर लाखौं घन मिटर नदीजन्य पदार्थ निकाल्ने गरिन्छ। जसको असर चुरे फेद आसापासका बस्तीमा परिरहेको छ।

      अहिले सबैको नजर चुरे र नदीजन्य पदार्थमा गडेको छ। कसरी कानून बनाएर बिक्री गर्न सकिन्छ। त्यसरी नै ऐन, कानून परिमार्जन गर्ने गरिन्छ। सरकारले तोकिदिएको मापदण्डको समेत स्थानीय तह र ठेकेदारले पालना गर्दैनन्, अनि कसरी हुन्छ चुरे संरक्षण, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास कार्यान्वयन एकाइ चितवनका प्रमुख रामहरि पन्त भन्छन्। संरक्षण तर्फपनि स्थानीय तहको ध्यान जानुपर्ने उनको भनाइ छ। बस्तीनजीकैको चुरे यसपालि पनि डढेलोको चपेटामा प–यो।

      डढेलोले चुरे पहाड अहिले सुक्खा र उजाड देखिएको छ। जति चुरेलाई हरियाली र आसपासका वनजङ्गललाई संरक्षण गर्न सकिन्छ, त्यति नै आकाशे वर्षा हुने र पानीको स्रोतमा सन्तुलन कायम हुन्छ। जसले गर्दा मूल मुहान, जरुवा फुट्छ। चुरे फेद आसपासका बस्तीका जताततै पानीको सतह माथि उठ्न मदत पुग्छ। जसले गर्दा पानीको हाहाकार हुन कमी हुन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्