हत्याको आरोपमा सातजना कारागार चलान

0

जलेश्वर, १७ वैशाख/रासस
एक दम्पतीको हत्या प्रकरणमा पक्राउ परेका सातजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । घरमा सुतिरहेको अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया पत्नी गीतादेवीलाई गत फागुन १० गते राति ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा जिल्ला अदालत महोत्तरीेले पक्राउ परेका सातजनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार हत्या भएका झा दम्पतीका छोरा मनीषको जाहेरीका आधारमा वादी नेपाल सरकार भएको अपहरण, शरीर बन्धक, ज्यानसम्बन्धी कसूर, आपराधिक षड्यन्त्र, लागूऔषध र चोरी मुद्दाका प्रतिवादी सातजनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको छ । न्यायाधीश डा रमेशप्रसाद रिजालको इजलासले प्रतिवादी कैलाश झा, हरेन्द्र ठाकुर, रामबाबू यादव, सुरेन्द्र यादव, राजेन्द्र भनिने राजिन्द्र यादव र विकास भनिने बबलु झालाई थुनामा राखी मुद्दाको कारबाई गर्ने र तारादेवी झालाई रू दुर्ई लाख धरौटीमा तारेखमा राखी मुद्दाको कारबाई गर्ने आदेश भएकोमा तारादेवीले धरौटी रकम बुझाउन नसक्दा उनीसहित सातैजनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो ।

घटनामा संलग्न रञ्जीत मिश्र र तेजनारायण झाका हकमा पक्राउ पुर्जी म्याद जारी गर्न आदेश भएको हो । गत फागुन १० गते सुतेकै अवस्थामा घरबाट गायब झा दम्पतीको शव गत चैत १२ गते प्लास्टिकका बोरामा राखेर गाडिएका अवस्थामा भेटिएको थियो । पिपरा गाउँँपालिका–२ स्थित पिपरा–धिरापुर सडकखण्डमा गत वर्ष बाढीले २० फिट गहिरो हुने गरी माटो बगाइ बनाएको खाल्डो पुर्ने क्रममा स्काइभेटरको बकेटमा कङ्काल रहेको बोरा भेटिएपछि झा दम्पतीको पत्तो लागेको थियो ।

घटनामा संलग्न नौजनामध्ये जिल्ला प्रहरी कार्यालय महोत्तरीले सातजनालाई पक्राउ गरी मुद्दा चलाएर जिल्ला अदालतमा उपस्थित गराएकामा सातैजना जेल चलान भएका हुन् । घटनामा संलग्न अन्य दुईजनाको खोजी जारी रहेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here