के गर्दै छन् त साहित्यकारहरू

47

– सञ्जय मित्र
साहित्यकारको लागि सबैभन्दा बढी उपयुक्त समय कस्तो हुन्छ ? यसको उत्तरमा दुई कुरा विशेष हुन जान्छ र दुवै पक्ष एकअर्काका विपरीत पनि हुन सक्छन्। दुःखान्त र सुखान्त अर्थात् संयोग र वियोग साहित्यका दुई प्रमुख शैली हुन्। यसले विचारलाई पनि निर्देशित गर्दछ।

एकथरीको मत छ कि दुःख र पीडाको समयमा उत्तम साहित्यको सिर्जना हुन्छ र अर्कोथरीको विचार छ कि कोही दुःखमा रहेर साहित्य सिर्जना गर्न सकिंदैन। यो बहस र विवाद चलिरहने कुरा हो। यस्ता तर्क–वितर्कले पनि सामाजिक चेतना बढाएको छ। समाजको विकासमा यस्ता तर्क–वितर्कको विशेष स्थान हुन्छ भने साहित्यमा त झन् पहिलेदेखि नै सुखान्त र दुःखान्त साहित्य चल्दै आएको छ।

अहिले कोरोनाको दोस्रो लहर चलिरहेको छ। देशभरका शिक्षालयहरू बन्द गरिएका छन्। यसले गर्दा शिक्षालयमा कार्यरत साहित्यकारहरू के गर्दैछन् ? साहित्यको विषयमा नयाँ के गर्ने सोच बनाएका छन् त ? यस विषयमा केही प्रतिनिधि विचारलाई यहाँ समेट्न खोजिएको छ।

भनिन्छ, साहित्यकारलाई समय जहिले पनि अपुग हुन्छ। गहन लेखन तथा गहन अध्ययन गर्ने साहित्यकारलाई साँच्चै समय अपुग किन हुन्छ भने पढ्नपर्ने सामग्रीको अभाव हुन्छ र पढ्नुपर्ने सामग्रीको खोजी तथा सङ्कलन गर्नुपर्ने हुन्छ। त्यसपछि आफूले लेख्नुपर्ने कुरालाई पनि एउटा पे्रmमजस्तो बनाएर के लेख्ने, कसरी लेख्ने र कति समयमा लेख्ने भन्ने कुरा निर्धारण गर्दछन्। यसमा भौतिक तयारी र मनोविज्ञान दुवैले काम गरेका हुन्छन्।


अधिकांश शिक्षालयहरू बन्द छन्। कतिपयले अनलाइन कक्षा सञ्चालन गरेका छन्। अनलाइन कक्षा शहरी क्षेत्रमा सीमित छ। गाउँघरतिर अझै पनि अनलाइन कक्षा सञ्चालन गर्ने वातावरण नहुँदा एक हिसाबले शिक्षकहरूले पुराना बाँकी रहेका कामहरू गरिरहेका छन् र कतिपय शिक्षकहरू अनौपचारिकरूपमा विद्यार्थीको सम्पर्कमा रहेर थोरै भएपनि सहयोग गर्न खोजिरहेका छन्। यस्तो अवस्थामा शिक्षक जो साहित्यकार पनि छन्, तिनले अलिक बढी फुर्सद पाएका छन्।

लुम्बिनी प्रदेशका साहित्यकार रमेश समर्थनलाई अहिले पनि भ्याइनभ्याइ छ। अनलाइन कक्षा सञ्चालन भइरहेको छ। आफूले पढाउने विषयको लिइएको परीक्षाको कापी परीक्षण गर्नुपर्नेछ। यी जीवननिर्वाह दैनिकीसँगै मोबाइलमा रहेका लघुकथा, मुक्तक र कविताहरूलाई कम्प्युटरमा सारेर व्यवस्थित गर्नुछ। अनि हरिमोहन झाको खट्टर काका पुस्तकको अनुवाद जो एक तिहाइ मात्र पूरा भएको छ, त्यसलाई पूरा गर्नुछ।

लुम्बिनी प्रदेशबाट वाग्मती प्रदेशतिर जाऔं। वाग्मती प्रदेशको राजधानी हेटौंडाका साहित्यकार रमेशमोहन अधिकारीका आफ्नै योजना छन्। संस्मरण लेखनतिर लहसिएका अधिकारीलाई एक/दुई वटा संस्मरण लेख्नु छ। अधिकारीका समीक्षा तथा समालोचनात्मक रचनाहरू धेरै प्रकाशित छन्। ती प्रकाशित रचनाहरूलाई समेटेर एउटा कृतिको रूप दिन पाए हुन्थ्यो जस्तो लागेको छ। प्रकाशकसित कुराकानी भइसकेको छ। विभिन्न पत्रपत्रिकामा छरिएर रहेका ती समीक्षा तथा समालोचनालाई एक ठाउँमा व्यवस्थित गर्नु छ र प्रकाशनको लागि तयार पार्नु छ।

प्रदेश दुईका साहित्यकार सुमन घिमिरे अग्रिमको दैनिकी पनि निकै व्यस्त छ। रेडियोमा साहित्यिक कार्यक्रम सञ्चालन गर्नु छ। लालबन्दी नगर वाङ्मय परिषद्को नियमावली, कार्य निर्देशिका, कार्यविधिहरूको निर्माण गर्नु छ। परिषद्का सचिव हुन् अग्रिम। साहित्यकार अग्रिमले आफ्नै एउटा कविता सङ्ग्रह निकाल्ने तयारीमा छन्। यसको लागि आवश्यक पूर्वतयारी तथा सम्पादनको कामलाई अगाडि बढाएका छन्। साथै साहित्यिक कृतिहरूको अध्ययन तथा लेखनको कामलाई अगाडि बढाउने सोचाइमा छन् अग्रिम।

बज्जिका साहित्यकार सञ्जय सुदामाले भने कुनै योजना बनाएका छैनन्। तीनवटा खण्डकाव्य प्रकाशित छन् र एउटा फुटकर कविता सङ्ग्रह प्रकाशनको लागि तयार छ। तर कुनै योजना बनाएका छैनन्। कोरोना महामारीको भयाक्रान्त अवस्थामा बालबालिकाको पठनपाठन एक्कासि रोकिंदा अलिक कस्तो कस्तो लागेको छ, यद्यपि विद्यालयहरू भाइरस सर्ने इपिसेन्टर नबनून् भन्नेमा सचेत छन्। साहित्यका कृतिहरू अध्ययन गर्ने कुरा त बिदा हुँदा र नहुँदामा खासै फरक पर्दैन। सुर चल्यो भने कुनै कृति अवश्य आउन सक्छ।

कतिपयले यस्तो विचार राख्छन्– साहित्यकार नै हुन्, जसले आफ्नो मस्तिष्कको उपयोग आफ्नै तरीकाले गर्दछन्।

अध्ययन र अनुसन्धानमा तथ्य, प्रमाण र साक्ष्यादि चाहिने हुन्छन् तर मौलिक सिर्जनामा भने साहित्यकार पूर्ण स्वतन्त्र हुन्छन्। आफ्नो हृदय वा मस्तिष्कको उपयोग सिर्जनामा पूर्ण स्वतन्त्र भएर गर्दछन्। विधागत बन्धन किन बाधक हुँदैन भने जुन विधामा सजिलो हुन्छ, त्यसैमा सिर्जना प्रस्फुटन हुन्छ र यदि विधागत स्वरूप नै बाधक हुन्छ भने विधाभञ्जन पनि हुन्छ।

अहिलेको समय संवेदनशील समय हो। साहित्यकारहरू पनि मानिस नै हुन्। आम मानिसलाई घरबाट ननिस्कन सबैतिरबाट निरन्तर आग्रह भइरहेको छ। साहित्यकारहरू त स्वभावैले घरबाट निस्कन नपाए हुन्थ्यो भन्ने सोच्ने प्राणी हुन् किनभने उनको प्रयोगशाला भनेको आफ्नै घर हो, पुस्तकालय हो। जहाँ स्वच्छन्द भएर अध्ययन, पठन वा सिर्जन गर्न सक्छन्। यदि साहित्यकार कतै बाहिर निस्कन चाहन्छन् भने त्यो हो सार्वजनिक कार्यक्रम। दैनिक घरव्यहार, आफन्त तथा चाडपर्व, मेलापातमा निस्कनुलाई वास्तवमा घरबाहिर निस्केको भन्न मिल्दैन किनभने यो अतिनिर्देशित र नियन्त्रित हुन्छ।

गत वर्षको लकडाउनको अवधिमा अनलाइन साहित्यको प्रशिक्षण र विकास धेरै भएको थियो। अहिलेसम्म त्यसको परकम्प छँदैछ र अहिले लकडाउन नै त भएको छैन तर मनोविज्ञानमा भने यसको असर परिसकेको छ। साहित्यकारहरू त झन् मनोविज्ञानले काम गर्ने हुन्। मानवको जीवन खतरामा रहेको वर्तमान अवस्थामा पनि आफूलाई मानवताको पक्षमा साहित्य सिर्जना गर्दछन् र गरिरहेका छन्। सजिलो त के छ भने सडकमा विनाकाम साहित्यकार किन निस्कँदैन भने ऊ बढी संवेदनशील हुन्छ, जसले गर्दा आत्मनियन्त्रण सहज हुन्छ। स्वाभाविक आत्मनियन्त्रण गर्ने कलामा साहित्यकार अगाडि हुन्छ, यद्यपि साहित्यकारलाई सामान्य मानिसले बुझ्न सक्दैन।

साहित्यकारको धर्म हो सिर्जन, कर्म हो सिर्जन। सिर्जन र यससित सम्बन्धित कार्यमा लागेका छन्, साहित्यकारहरू। शिक्षक साहित्यकारहरूले भने तुलनात्मकरूपमा केही बढी अध्ययन र सिर्जनका लागि अवश्य पाएका छन् तर कोरोनाले भयाक्रान्त पारिरहेको परिवेशले भने निकै चिन्ता पनि बढाएको छ। चिन्तालाई निराकरण गर्न तथा यसलाई अन्यत्र मोड्न सिर्जन र पठनले ठूलो सहयोग गरेको छ। साहित्यकार पनि मानिस नै हुने भएकाले यावत मानवीय समस्याहरूसित जुध्दै सिर्जन र पठन धर्ममा लागेका साहित्यकार के कुरा बताउन बिर्संदैनन् भने समयको वर्तमान गम्भीरतालाई विचार गरेर संयमित र सतर्क रहनु आवश्यक छ। कोही पनि यस्ता साहित्यकार छैनन्, जसले कोरोनाबाट जोगिन र सतर्क रहन तथा आफूलाई अनुशासनमा रहेर काम गर्न पाठकलाई सन्देश दिएको नहोओस्। सुन्दर, शान्त, समृद्ध र सभ्य समाजको कल्पना त साहित्यकारहरूले गरिरहने नै हुन्। यस धर्मलाई निर्वाह गर्दै अरूलाई पनि सत्धर्ममा सत्कर्मको सन्देश अहिले पनि साहित्यकारहरूले दिइरहेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्