केही हुँदैन, म छु नि

197

राजेश मिश्र

हालै ठोरीमा घटित एक घटनाबाट यस स्तम्भको प्रारम्भ गर्नु उपयुक्त हुन्छ । एक किसानमाथि पाटेबाघले आक्रमण ग¥यो । बाघको आक्रमणले उनको ज्यान जोगिने सम्भावना थिएन । यद्यपि उनी बाँचे । तर कसरी ? उनको मस्तिष्कमा एउटै कुरा अङ्कुरित भयो, ‘बाघले त अब मार्छ, बरू बाँचुञ्जेल लड्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ ।’ यो सोचाइले उनको मस्तिष्कमा सकारात्मक उर्जा प्रवाह ग-यो । ताकतका साथ लड्न सक्षम बनायो । अन्ततः बाघ भाग्नुप-यो । घाउ र चोट त उनलाई पनि नलागेको होइन, तर आफ्नो ज्यान बचाउन सफल भए ।

अर्को एक प्रसङ्ग पनि प्रायः चर्चा हुने गरेको पाइन्छ । सर्पले टोकेको व्यक्तिलाई मुसोले टोकेको बताइयो भने उसको बाँच्ने सम्भावना प्रबल हुन्छ । यद्यपि मुसाले टोकेको व्यक्तिलाई सर्पले टोकेको बताउँदा उसको मृत्युको सम्भावना बढ्छ । मानवीय मस्तिष्कले देखेको वा सुनेको आधारमा खुशी वा भय ग्रहण गर्दछ । सोही अनुसार मस्तिष्कमा प्रतिक्रिया प्रवाहित हुने गर्दछ ।

दोस्रो लहरमा कोरोनाको नयाँ स्वरूप उग्र छ । सङ्क्रमित हुनेहरूको सङ्ख्या आश्चर्यजनकरूपमा बढ्दो छ । एकातर्फ जो अहिलेसम्म सङ्क्रमणको चपेटामा परेका छैनन््, उनीहरूमध्ये अधिकांशको लापरवाह गतिविधि छरपष्ट छ । अर्कोतर्फ कोरोना सङ्क्रमितहरूमा भययुक्त मानसिकता व्याप्त छ । त्रासका कारण पनि सङ्क्रमितहरूको ज्यान बढी जोखिममा छ । सङ्क्रमित भएपछि त्रासपूर्ण मनोविज्ञानले मधुमेह र रक्तचापको स्तर वृद्धि भई ज्यान गुमाउनेहरू पनि कम छैनन् ।

त्रसित वातावरण सृजना हुनुको अन्य कारणहरू पनि छन् । जस्तै जटिल अवस्थाका बिरामीलाई तत्काल उद्धार, उपचारको निश्चितता, जनमैत्री सरकारी भूमिका आदि । समुदायलाई त्रासमुक्त गर्ने सवालमा उपचार र खोप आदिको निश्चितताका साथै जिम्मेवार निकायले गम्भीर हुनैपर्छ । सर्वसुलभ उपचारको प्रत्याभूति जनजनमा पु-याउनै पर्दछ ।

एकदमै जटिल बताइएको कोरोना सङ्क्रमित व्यक्तिसँग सम्पर्क गर्ने प्रयास गरियो । उनी निको हुनुको पछाडि उपचार मात्र होइन, बिरामीको उच्च मनोबलको पनि अहम् भूमिका छ । अहिले उनी सङ्क्रमणमुक्त भइसकेका छन् । चिकित्सकको सल्लाह अनुसार आफ्नै निवास वीरगंजमा एकान्तवासमा छन् ।

आजको यस स्तम्भमा कोरोना विजेता र उनका आफन्त तथा मनोचिकित्सकलगायतसँग भएको कुराकानीको संक्षिप्त अंश प्रस्तुत छ ।

प्रभु प्रसाद (कोरोना विजेता)
५० वर्षीय प्रभु प्रसाद वीरगंज मनपा–१० आदर्शनगरका बासिन्दा हुन् । झन्डै डेढ महीनाअघि उनी बिरामी भएका थिए । बिरामी भएदेखि अहिलेसम्मको उनको भोगाइ, आत्मबल, धैर्य, सहनशीलतालगायतका विषय चर्चायोग्य छन् ।

बितेको होलीको करीब एक हप्ताअघि उनलाई ज्वरोको साथै खोकी भएको थियो । शुरूमा ज्वरोको औषधि सेवन गरे । एक/दुई दिनमैं ज्वरो निको भयो । तर खोकी निको भएन । अर्को औषधि सेवन गरेपछि होलीको पूर्वसन्ध्यामा खोकी पनि निको भयो । सपरिवार उत्साह, हाँसोखुशी र धूमधामका साथ होली पर्व मनाए ।

होलीको दुई दिनपछि पुनः ज्वरो आयो । स्थानीय एक चिकित्सकसँग सम्पर्क गरे । चिकित्सकको सल्लाह अनुसार रगत परीक्षणका साथै छातीको एक्स–रे गराए । चिकित्सकले सिफारिश गरेको औषधि झन्डै एक हप्ता सेवन गरे । निको भएनन् ।

पुनः अर्को चिकित्सालय पुगे । त्यहाँका चिकित्सकले भनेबमोजिम चेकजाँच र छातीको एक्स–रे गराए । पहिलेको एक्स–रे को तुलना अहिलेको एक्स–रेमा छातीमा उच्च सङ्क्रमण देखा प-यो । चिकित्सकले कोरोनाको सम्भावना अवगत गराउँदै असामान्य अवस्था रहेको बताए । आफन्तजनलाई चिन्ता हुनु अस्वाभाविक थिएन । भाइ शिवले भरतपुर तथा काठमाडौंका चिकित्सकलाई सम्पूर्ण रिपोर्ट ह्वाट्सएपमार्फत पठाए । उताबाट पनि निराशाजनक सङ्केत प्राप्त भयो । यो कुरा सीमापारिका आफन्तहरूसम्म पुगिसकेको थियो । आफन्तजनको आग्रहमा भारत बिहारको मोतीहारी गए । त्यहाँ प्रथमतः कोरोना जाँच भयो । भर्ना भएको तेस्रो दिन सङ्क्रमण पुष्टि भयो । त्यहाँका चिकित्सकले पटना रेफर गरिदिए । पटनामा एक निजी अस्पतालमा भर्ना भए । पुनः कोरोना जाँचमा सङ्क्रमण पुष्टि भयो । उपचार शुरू भयो । भर्ना भएको एघारौं दिनपछि रिपोर्ट नेगेटिभ आयो ।

एक प्रसङ्गमा उनी भन्छन्, “कोरोनाको उच्च जोखिम रहेकाले सावधानी अपरिहार्य छ । यद्यपि सङ्क्रमित भएमा हतोत्साहित हुनुपर्ने आवश्यकता छैन । साहस र धैर्यता जस्ता आत्मबल प्रोत्साहित हुने प्रकृतिका क्रियाकलाप आवश्यक छ ।”

उनको अवस्था गम्भीर छ भन्ने कुरा उनलाई अवगत थियो । यद्यपि सकारात्मक कुराहरूमा उनको ध्यान बढी केन्द्रित थियो । हिम्मत गरियो भने बाँचिन्छ भन्ने भावना अभिवृद्धिको सवालमा डिस्कभरि च्यानलमा हेरेको एक वास्तविक कथाले ऊर्जा प्रदान गरेकोे उनी बताउँछन् । उनको बुझाइमा ऊर्जा प्रदान गर्ने सकारात्मक गतिविधि बढी आवश्यक छ ।

शिवप्रसाद गुप्ता
उपचारको सिलसिलामा प्रभु प्रसादका भाइ शिव गुप्ता र विक्कु डेढ महीना सँगै थिए । अहिले उनीहरू दुवैजना होम क्वारेन्टाइनमा छन् । शिव गुप्ताले भने, “दाइ (बिरामी)को हौसलापूर्ण मानसिकताका कारण हामी कोरोनालाई जित्न सफल भयौं ।” वीरगंज, भरतपुर र काठमाडौंलगायतका चिकित्सकबाट अवस्था चिन्ताजनक भएको थाहा पाएपछि त्रास बढ्नु अस्वाभाविक थिएन । वीरगंजका अभिन्न मित्रहरू तथा सीमापारिका कुटुम्बहरूको सल्लाह र सुझावबाट अब कहाँ उपचार गराउने भन्ने सुनिश्चित गर्नु कठिन भएकै थियो । यद्यपि बिरामीको हौसलामा कुनै कमी थिएन ।

डिस्कभरी च्यानलबाट प्रसारित एक वास्तविक घटनामा आधारित कथाले बिरामीलाई उत्साहित गरेको उनीहरू बताउँछन्।

उक्त कथा यस्तो छ । आकाशमा उडिरहेको हवाईजहाज क्र्यास भयो । हवाईजहाज जङ्गलमा खस्यो । हवाईजहाज पूर्णरूपमा ध्वस्त भइसकेको थियो । सोको केही मिटर पर मृततुल्य एक व्यक्तिको अवस्था चिन्ताजनक थियो । उद्धार कार्यमा खटिएको हेलिकप्टरको आवाज उनी प्रतिदिन महसूस गर्दथे । हेलिकप्टर आउँथ्यो । घना जङ्गलमा घटनास्थल देखिंदैन थियो । माथिबाटै फर्किन्थ्यो । यद्यपि उनलाई उद्धार गर्ने टोली आफूलाई खोजिरहेको छ भन्ने कुराले आत्मबल प्राप्त भइरहेको थियो । म बाँच्छु भन्ने दृढ भावना उनको मनमा थियो । शारीरिक हलचल शून्य थियो । चेतना मात्र शेष थियो । शरीरभरि घाउ र चोटै चोट थियो । घाउमा कीरा लागिसकेको थियो । दश दिनपछि हेलिकप्टर सोही स्थानको छेउमा अवतरण भयो । उनलाई यो कुरा महसूस भयो । त्यसपछि उनले शरीर हल्लाउँदै आफू यहाँ छुँ भन्ने सङ्केत गर्ने कोशिश गरिरहेका थिए । अन्ततः उद्धार टोली उनलाई खोेज्न सफल भयो । उनको जीवन बाँच्यो ।

गुप्ताको बुझाइमा बिरामीको मस्तिष्कमा उपरोक्त कथाले ओखतीको काम गरेको रहेछ । पटनाको एक निजी अस्पतालमा उपचार भइरहेको थियो । त्यहाँका चिकित्सकहरूले कोरोनालाई भयको रूपमा कहिल्यै प्रस्तुत गरेनन् । उनीहरूले कुरूवासँग आफैं खाना लिएर जानु भन्थे । कुरा गर्न र हँसाउन भन्थे । चिकित्सकहरूको सुमधुर व्यवहार, पौष्टिक आहार, औषधि र बिरामीको आत्मबलले कोरोना परास्त भएको बताए ।

डा भरत गोइत
(मनोचिकित्सक)
मनोबल उच्च भएका व्यक्तिहरू जुनसुकै विषम परिस्थितिसँग पनि लड्न सक्छन् । जटिलभन्दा जटिल रोगसँग छुटकारा पाउने व्यक्ति हाम्रै वरिपरि पनि हुन सक्छन् । ती व्यक्तिहरूको हौसलापूर्ण आत्मबललाई आत्मसात् गर्नुपर्छ । कोरोनाको नयाँ स्वरूप समुदायमा फैलिइसकेको अवस्था छ । कारोना फैलाउने माध्यम भनेकै मानवीय गतिविधि हो । त्यसैले सावधानी नितान्त आवश्यक छ । कसको माध्यमबाट र कहाँबाट कोरोना आउँछ भन्ने कुरा हामीलाई थाहा छैन । कोरोनावाहक स्वयम् आफैं, परिवारका सदस्य वा समुदायका जो कोही पनि हुन् सक्छन् ।

यद्यपि डरभन्दा पनि कोरोनाबाट बच्ने उपाय अवलम्ब गर्नुपर्छ । खानपान र व्यायाम नियमित गर्ने बानी विकसित गर्नुपर्छ । मानसिक अवस्थामा प्रतिकूल प्रभाव पार्ने प्रकृतिका गतिविधिहरू छोड्नुपर्छ । बिरामीको आत्मबलले उपचार प्रक्रिया सफलता उन्मुख हुँदोरहेछ । बिरामीको निको हुने प्रक्रियामा केवल औषधिको मात्र योगदान हुँदैन । बिरामीको मानसिक अवस्था कस्तो छ ? भन्ने कुराले औषधिको प्रभावलाई महत्वपूर्ण वा महत्वहीन बनाउँछ । कोरोना सङ्क्रमित व्यक्तिहरूसँग पारिवारिक र सामाजिक व्यवहार सौहार्दपूर्ण हुनुपर्छ ।

चिकित्सकहरूको हौसलापूर्ण आश्वासनले बिरामीलाई रोगसँग लड्न धेरै मदत गर्दछ । जस्तै ‘तपाईंलाई केही हुँदैन, तपाईं चिन्ता नलिनुस्, म छु नि’ जस्ता व्यवहारले बिरामीलाई आशावादी बनाउँछ । अहिले कोरोनापीडित बिरामीहरू दिनहुँजसो आइरहेको उनी बताउँछन् । प्रायःजसो बिरामीको मनमा डर बसेको पाइएको छ । यस प्रकारका बिरामीलाई मनोचिकित्सा पनि अत्यावश्यक छ । भयग्रस्त बिरामीको मस्तिष्कबाट डर हटाउनु पहिलो प्राथमिकतामा पर्नुपर्दछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्