कोरोनाको दोस्रो लहरः आपत्कालीन आर्थिक व्यवस्थापन

16
  • विश्वराज अधिकारी
    कोरोनोको दोस्रो लहर नेपालमा फेरि बढेको छ। नेपालमा बढेको स्थितिले भन्दा हामीलाई अहिले भारतमा अनियन्त्रित किसिमले बढेको कोरोनाको दोस्रो लहरको स्थितिले बढी सताएको छ। स्वास्थ्य सामग्री (औषधी, औजार आदि) खाद्य–वस्तु, निर्माण–सामग्री लगायत अन्य विभिन्न किसिमका सामग्रीहरूका लागि हामी भारतमा अति भर पर्नुपर्ने भएकोले भारतको स्थितिबाट हामी अधिक चिन्तित हुनु स्वाभाविक हो। त्यसमाथि पनि हाम्रो निर्यात व्यवस्था (यातायातको लागि) समेत पनि भारतप्रति अति निर्भर हुने भएकोले हाम्रो चिन्ताको आकार झनै ठूलो हुनु अस्वाभाविक होइन। तर भारतमा कोरोनाको दोस्रो लहर आगोझैं फैलिनुले सर्वाधिक चिन्ता हामीले गर्नुपर्ने स्थिति भने अनियन्त्रित सीमाले गर्दा उत्पन्न भएको छ। नेपाल–भारतबीच खुला र अनियन्त्रित सीमाले गर्दा भारतबाट कोरोना सङ्क्रमित
    (दुवै–नेपाली र भारतीय) हरू नेपाल प्रवेश गर्नेछन्। उनीहरूलाई कुन किसिमले नेपाल प्रवेश गर्न दिने र नेपाल प्रवेश गरेकालाई कुन किसिमबाट क्वारेन्टिनमा राख्ने वा व्यवस्थापन गर्ने भनी पहिलेदेखि नै सोच्न आवश्यक छ।
    यस्तो महामारीको समयमा स्वदेश फर्किन पाउनु नेपालीहरूको मौलिक हक हो र त्यो हकबाट उनीहरूलाई वञ्चित गर्न सकिन्न। यसैगरी खुला र अनियन्त्रित सिमाना भएको कारण सीमावर्ती भारतीयहरू पनि सुरक्षित हुन ठूलो सङ्ख्यामा नेपाल प्रवेश गर्नेछन् भन्ने सम्भावनालाई नकार्न सकिंदैन। यस्तो स्थितिमा भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई कुन किसिमबाट र कसरी नेपाल प्रवेश गर्न दिने भनी समयमैं नेपालका स्थानीय, प्रान्तीय र केन्द्रीय सरकारहरूले एउटा साझा रणनीति निर्माण गर्न भने नितान्त आवश्यक छ। यी निकायहरूबीच बलियो र भरपर्दो समन्वय पनि हुनु आवश्यक छ।
    भारतमा फैलिएको कोरोनाको यो दोस्रो लहर नियन्त्रण हुन कति समय लाग्न सक्छ भन्न सकिने स्थिति छैन। छ महीना पनि लाग्न सक्छ वा एक वर्ष पनि लाग्न सक्छ। दिल्ली, कोलकाता जस्ता भारतका अति ठूला शहरहरूमा कोरोना अनियन्त्रित किसिमले बढ्नु भारतभन्दा नेपालको लागि बढी चिन्ताको विषय हो किनभने भारतको अर्थ व्यवस्था नेपालको भन्दा ज्यादै ठूलो भएकोले कोरोनाको दोस्रो लहरले भारतमा आएको आर्थिक मन्दीलाई भारतले खेप्न सक्छ तर नेपालको लागि भने मुसोको टाउकोमा लोहरो राखिदिए सरह हुनेछ। त्यस कारण यो विषय सामान्य छैन। ज्यादै गम्भीर छ। कोरोनो–सङ्कटको बेला भारतबाट नेपाल आउने दैनिक उपभोगका अनेक सामग्री नेपालका बजारहरूमा कसरी प्रभावकारी किसिमले आपूर्ति गर्ने त्यसबारे पनि गम्भीर भएर सोच्न आवश्यक छ। कोरोनाले गर्दा भारत तथा चीनबाट हुने आपूर्ति रोकिनुहुन्न। अन्य मुलुकबाट हुने आपूर्ति पनि रोकिनुहुन्न।
    नेपालभित्रै पनि कोरोनाको दोस्रो लहरले ल्याएको आर्थिक सङ्कट कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा गम्भीर भएर सोच्न आवश्यक छ।
    यस आलेखमा भने कोरोनाको दोस्रो लहरले नेपालको अर्थ व्यवस्थालाई पार्ने गम्भीर प्रभाव र त्यसबाट जोगिन हामीले गर्नुपर्ने अनेक कार्यहरूबारे चर्चा गर्न खोजिएको छ।
    नेपालको अर्थ व्यवस्थलाई, कोरोनाले पार्ने प्रतिकूल प्रभावबाट जोगाउन, सर्वप्रथम हामीले निषेध (लकडाउन) भन्दा उचित व्यवस्थापन अथवा सुरक्षाका प्रभावकारी अन्य विभिन्न उपाय प्रयोग गर्नेतिर जोड दिन आवश्यक छ। जन जीवन नै गतिहीन पार्नेगरी निषेध प्रयोग गर्नु मात्र कोरोना व्यवस्थापनको उत्तम उपाय होइन। निषेधले आर्थिक कारोबार नराम्ररी प्रभावित हुने मात्र होइन, दैनिक मजदूरी गरेर जीवनयापन गर्ने गरीबहरूको लागि बाँच्न कठिन पार्नेछ। गरीबहरू कोरोनाभन्दा बेरोजगारी भएर, आम्दानी नभएर, खान नपाएर मर्नेछन्। अनियन्त्रित एवं अव्यवस्थित निषेधाज्ञाले गरीबहरूको जीवन कठिन हुनेछ, साथै देशको अर्थ व्यवस्था सङ्कटको दलदलमा झनै नराम्ररी फस्नेछ। पहिलो लहरको आर्थिक पीडाबाट मुक्ति पाउनुपूर्व नै दोस्रो लहरको पीडा थपिनु र खप्नुपर्ने स्थिति उत्पन्न हुनेछ।
    मास्कको प्रयोगलाई कडाइका साथ पालना गराउने, दुई वा थोरै व्यक्ति उपस्थित भएर भौतिक दूरी कायम गर्दै गर्न सकिने व्यापारिक कारोबार सञ्चालन र त्यस्तो कारोबार निषेध नगर्ने, धेरै व्यक्ति जम्मा भएर हुने व्यापारिक क्रियाकलाप (जस्तै–सिनेमा हल, रेस्टुरेन्ट, बजार, भोजभतेर, पार्टी आदि) निषेधित गर्ने, एक समयमा एक व्यक्ति (ग्राहक) मात्र उपस्थित भएर रेस्टुरेन्ट वा पसलबाट सामान खरीद गर्न पाउने नियम लागू गर्ने, ठूलो भीडभाड सहित चल्ने बस, मिनिबसको आवागमनमा रोक लगाए तापनि एक व्यक्ति मात्र सवार भएर चल्ने वाहनहरू कार, जीप, मोटरसाइकल, साइकल चल्न दिने, बसहरूमा पनि भौतिक दूरी राखेर बस्ने व्यवस्था छ भने त्यस्ता बसहरूलाई चल्न दिने, एक व्यक्ति मात्र प्रयोगमा आएर गरिने होम डेलिभरी प्रथा उपयोग गर्न सकिने व्यापार सञ्चालन हुन दिने, बैंक, वित्तीय संस्थामा एकपटकमा केवल एक व्यक्ति मात्र उपस्थित भएर कारोबार गर्न पाउने र उक्त व्यक्तिले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने, प्रत्येक कार्यालय एवं सार्वजनिक भवन एवं स्थलमा प्रवेश गर्ने व्यक्तिले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गरेर सरकारी कार्य जारी राख्ने, जस्ता अनेक किसिमका कार्य गरेर कोरोनाको ठूलो कुप्रभाववाट राष्ट्रिय अर्थ व्यवस्थालाई जोगाउन सकिन्छ।
    कोरोनाको प्रभावबाट कसरी जोगिन सकिन्छ भन्ने कुरा स्थानीय सञ्चार माध्यमबाट प्रसारण गरेर, व्यक्तिहरूमा सचेतता जगाएर भौतिक दूरी कायम गर्दै व्यापार एवं व्यवसाय सञ्चालन गर्न सकिन्छ। यसैगरी पत्रपत्रिकाहरूमा केवल सत्य एवं तथ्य समाचार प्रकाशित एवं प्रसारण गरेर कोरोनाले ल्याउन सक्ने अनिश्चितता कम पार्न सकिन्छ। केवल समाचार बढी पढियोस्, हेरियोस्, सुनियोस् र राम्रो आर्थिक लाभ होस् भन्ने अभिप्रायले गलत समाचार प्रवाहित गर्दा समाज अनावश्यक किसिमले भयभीत एवं आतङ्कित हुन्छ। समाजमा अनिश्चितता बढेर जान्छ। समाजमा अनिश्चितता बढेमा व्यापारिक क्षेत्र मात्र होइन, स्वास्थ्य क्षेत्र पनि नराम्ररी प्रभावित हुनेछ। स्वास्थ्य सेवा प्रदान गर्न पर्याप्त स्रोत एवं साधन भए तापनि हल्लै हल्लाले गर्दा ती स्रोत एवं साधन अपुग हुनेछ। त्यस कारण सही र तथ्यपूर्ण समाचार प्रकाशन एवं प्रसारण गर्ने प्रत्येक नेपालीको कर्तव्य हो भन्ने कुरा हामीले पनि बुझ्न आवश्यक हुन्छ। र सोही अनुसार गर्नु आवश्यक छ।
    भारतको कोलकातामा हालै, हल्लैहल्लाले गर्दा आपूर्ति व्यवस्था नराम्ररी प्रभावित भएको केही घटना चर्चामा आएको छ। भोलिका दिनमा कोरोना सङ्क्रमित भएर अस्पताल भर्ना हुनुपर्ला र सो बेला अक्सिजन सिलिन्डर नपाइएला भन्ने भयले निरोगी व्यक्तिले पनि बढी मात्रामा अक्सिजन सिलिन्डर खरीद गरेर घरमा जगेडा राखिदिएकोले बजारमा कृत्रिमरूपमा अक्सिजनको अभाव भएको खबर सार्वजनिक भएको थियो। अक्सिजनको उत्पादन पर्याप्त मात्रामा भए तापनि नागरिकहरूले अनावश्यकरूपमा सङ्ग्रह गरिदिएकाले अस्पतालमा अक्सिजनको अभाव भएको स्थितिप्रति सम्बन्धित अधिकारीहरूले चिन्ता व्यक्त गरेका थिए। यस्तो स्थितिबाट जोगिन बजारमा सही सूचना प्रवाहित गर्नेतिर ध्यान दिनु पनि उत्तिकै आवश्यक छ भन्ने कुरा माथिको घटनाले पुष्टि गर्छ।
    अहिलेको यो अति व्यापारिक समयमा एक घण्टा वा एक दिनको लागि पनि व्यापार–व्यवसाय बन्द गर्नु भनेको ठूलो जोखिम लिनु हो। व्यापार–व्यवसाय बन्द गर्दा ठूलो आर्थिक क्षति व्यक्ति, परिवार र देशले मात्र बेहोर्नुपर्ने होइन, गरीबहरू भोकै मर्ने स्थिति आउन सक्छ। यस्तो किन हुन्छ त ? यस्तो किन हुन्छ भने अहिलेको युग अति परस्पर–आर्थिक निर्भरता (ष्लतभचमभउभलमभलअभ) को युग हो। हामी परस्पर निर्भरताको युगमा बाँचिरहेका छौं। यो युगमा बाँच्नका लागि हामीले अन्य सयौं व्यक्तिको सहयोग वा सहारा लिनुपर्छ। पहिलेको युग आत्मनिर्भर (ष्लमभउभलमभलअभ ) युग थियो। व्यक्ति वा परिवारले बाँच्नका लागि आवश्यक पर्ने लगभग सम्पूर्ण कुरा आफैंले उत्पादन गथ्र्यो। त्यस बेलाका व्यक्तिहरू अहिलेझैं बाँच्नका लागि सयौं व्यक्ति वा संस्थामा निर्भर हुनुपर्ने स्थिति थिएन। तर अहिले, व्यक्ति र परिवार अति परस्पर–निर्भर हुन पुगेका छन्।
    अहिले व्यक्ति वा परिवारले केवल श्रम उत्पादन गर्छ र त्यो एउटा वस्तु
    (श्रम) उत्पदन गरेर, त्यसलाई बिक्री गरेर आवश्यक सयौं वस्तु खरीद गर्छ। श्रमबाहेक अन्य (खाद्य वस्तुहरू) वस्तुहरू आफूले उत्पादन गर्न नसक्ने स्थिति रहेकोले शहरमा अहिले लगभग हरेक व्यक्ति बाँच्नका लागि अन्य सयौं व्यक्तिमा निर्भर हुन बाध्य छ। यस्तै स्थिति गाउँतिर पनि छ। आजभोलि गाउँहरू पनि शहरमुखी हुँदै गएका छन् र कृषि उत्पादनको सङ्ख्या गाउँहरूमा पनि घट्ने क्रम तीव्र गतिमा छ।
    स्थिति यस्तो रहेकोले एक दिन पनि बजार बन्द गर्दा अनेक किसिमका समस्याहरू आउन सक्छन्। बजार बन्द हुना साथ गरीबहरूले आफ्नो श्रम बिक्री गर्न पाउँदैनन्। बाँच्नका लागि आवश्यक सामग्री खरीद गर्न जानेहरूले आवश्यक सामान खरीद गर्न पाउँदैनन्। अहिले, यो युगमा, व्यापार भनेको रक्त सञ्चार जस्तो हुन पुगेको छ। रक्त सञ्चार रोकिएमा व्यक्तिको मृत्यु हुनेझैं व्यपार रोकिएमा मानिसको जीवन जोखिममा पर्छ। त्यस कारण निषेध गर्नुपूर्व दसचोटी सोच्न आवश्यक छ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्