कोरोनाको ताण्डव नृत्य र हाम्रो सामाजिक व्यवहार

70

सञ्जय साह मित्र

आदिकालदेखि नै मानिसले नृत्य गर्न जानेको हो। जतिखेर मानिसले बोल्न जानिसकेको थिएन, त्यतिखेर ऊसित इशारा थियो, चित्रकला थियो। चित्र बनाएर आफ्ना मनका अभिव्यक्ति साटासाट गर्दथ्यो भने इशाराले अभिव्यक्ति आदानप्रदान गर्दथ्यो। इशाराको व्यवस्थित रूपलाई नै नृत्य भन्न त सकिन्न तर इशारालाई व्यवस्थित गर्दा अभिनय अवश्य बन्दछ। कसले कुन काम ग–यो भन्ने कुरा बताउन यदि शब्द प्रयोग नगर्ने हो भने चित्र बनाउन नसक्नेले पनि यही कोशिश गर्दछ र यदि कोही अगाडि छ भने चित्र बनाएर ढिलो गरेर संवाद गर्नुभन्दा तत्काल हात, मुख, अनुहार, टाउको र समग्र शरीर आवश्यकतानुसार परिचालन गरेर आफ्नो कुरा भन्ने कोशिश गर्नुपर्ने हुन्छ।

अभिनयको युग धेरै कालसम्म रहिरह्यो। यसकारण अभिनयको महत्व अझै पनि उत्तिकै छ। मानिसमा व्यवस्थित वाणीको विकास भइसक्दा पनि उसले अभिनय छोडेन र छोडेको छैन। अझ पनि जुन भाषा अत्यन्तै कम विकसित अवस्थामा छ र जुन समुदायमा शिक्षाको प्रवेश हुन सकेको छैन, त्यस समुदायमा वाचिकभन्दा आङ्गिक अभिनयको महत्व बढी देखिन्छ। हुन त वाचिक भनेको वाचन गरेर वा मुखले बोलेर गरिने अभिनय हो र आङ्गिक अभिनय भनेको शरीर र विभिन्न अङ्ग परिचालन गरेर गरिने अभिनय हो। नृत्यलाई पनि यसको नजीक राखेर तुलना गर्न सकिन्छ। आङ्गिक अभिनयलाई कुनै निश्चित पद्धतिमा व्यवस्थित गर्ने हो भने नृत्य हुन पुग्दछ। सामान्यतया आङ्गिक अभिनयबाट अहिलेको युगमा मनोरञ्जन र शिक्षा प्राप्त गर्न सकिन्छ तर नृत्यको उद्देश्य आरम्भदेखि मनोरञ्जनप्रधान नै रहिआएको छ। मनोरञ्जनको माध्यमले शिक्षा वा नैतिकता प्रदान गर्नु पनि प्रारम्भदेखि नै नृत्यको उद्देश्य रहेको छ, अझ यसमा संवादको मात्रा पनि रहेको हुन्छ। के भनिन्छ भने जहाँ दुई मानिसले एक अर्काको भाषा फिटिक्कै बुझ्दैनन् त्यहाँ इशारा, अभिनय आदिले सजिलै काम गर्दछ र अझ यदि दुवै पात्र व्यवस्थित नृत्य गर्ने वा बुझ्नेछन् भने अभ्यन्तरदेखिको भाव प्रस्फुटन हुने तथा शब्दले सामान्यतया नबुझिने भाव पनि बुझाउन सक्ने हुन्छ। दुवै पात्रबीच हार्दिक सम्बन्ध पनि स्थापित हुन पुग्दछ।

आज किन नृत्य र मनोरञ्जनको प्रसङ्ग आइरहेको छ। आज नृत्य दिवस हो। हुन त अहिले नृत्यको समय होइन, नृत्यको विषयमा समय खर्च गर्नुपर्ने समय पनि होइन। मानव समुदाय नै समस्यामा रहेको छ। जब मानव समुदायमाथि नै खतराको अवस्था हुन्छ भने नृत्यको कुरा गर्दा मनोविज्ञान खल्बलिएको भन्ठान्न पनि बेर लाग्दैन। तर अहिले कस्तो संयोग परेको छ भने कोरोना महामारीले ताण्डव नृत्य गर्दैछ र हाम्रो समाज भने लापरवाह भएर नृत्यको चुम्बकीय आकर्षणले तानिएको छ। अझै पनि यस्ता मानिस देखिंदैछन् जो सोझै भनिरहेका छन् कि “कोरोना शहरी रोग हो र यसले गाउँलाई केही प्रभाव पार्दैन। गत वर्ष मेरो गाउँमा सातजनालाई कोरोना रोग लागेको अस्पतालले भनेको थियो तर तिनलाई केही पनि भएको थिएन र पछिसम्म पनि केही भएन। यसैगरी तिनको घरपरिवारलाई कहिल्यै केही भएन। यसबाट जति धेरै डरायो, उति धेरै डर लाग्छ। मैले पोहोर कोरोनाको समयमा एक दिन मास्क लगाइनँ र एक दिन पनि सेनेटाइजर प्रयोग गरिनँ। यो सब बेकारको कुरा हो।” यस्तो ठाडो अभिव्यक्ति दिने त्यस्ता व्यक्ति हुन् जो शिक्षक छन्। ताज्जुब लाग्दछ, यस्तो कहालीलाग्दो परिवेशमा पनि यस्तो पूर्णतया असावधान र असतर्क मानिस पनि छ, जसले पूर्णतया गैरजिम्मेवार अभिव्यक्ति दिन्छ।

साँच्चै अहिलेको समय अत्यन्त गम्भीर छ। अति नै पीडादायी समय छ। गत वर्ष कोरोना महामारीले जुन पीडा मानव समुदायलाई दिएको छ, त्यसको भरपाई अझै हुन सकेको छैन। कतिपय यस्तो क्षेत्र पनि प्रभावित भएको छ जसको भरपाई हुन कसरी सम्भव होला, जस्तो लाग्छ। यदि गत वर्ष चैत महीनाको दोस्रो हप्तामा नै लकडाउन घोषणा नभएको भए त्रिभुवन विश्वविद्यालयको स्नातक तहको तेस्रो वर्षको परीक्षा जेठतिर हुन्थ्यो र ती विद्यार्थीहरूले गत चैत वा अहिले वैशाखमा चौथो वर्षको परीक्षा दिन्थे। सामान्यतया यसरी नै हुँदै आएको थियो तर समयको मार कसरी परेको छ भने गत वर्षको जुन परीक्षा स्थगित भएको थियो त्यो अहिले केही हप्ता पहिले लिइएको छ र उनीहरू चौथो वर्षमा पढ्न पाएका छन् भर्खरदेखि। चौथो वर्षमा औपचारिक प्रवेश गरेपछि फेरि शिक्षा क्षेत्रमा लकडाउनकै अवस्था आएको छ। अहिलेसम्मकै अवस्थामा कम्तीमा एक वर्ष समय बढी लागिसकेको छ र अब जति छिटो हुँदा पनि चार वर्षे स्नातक तहको समयमावधि पाँच वर्षे हुन पुगेको छ र यदि यो कोरोना महामारीको समय अझ लम्बिने हो भने यो समय अझ बढ्न बेर छैन। स्नातक चौथो वर्षको मात्र समस्या होइन, त्रिविका सबै तहमा झन्डै यस्तै परिस्थिति देखिएको छ। यहाँ त्रिविलाई कुनै किसिमले आरोपित गर्न खोजिएको होइन। यसरी कोरोनाले समाजको विभिन्न क्षेत्रमा कसरी प्रभाव पारेको छ भन्ने दृष्टान्त प्रस्तुत गरिएको मात्र हो।

गत वर्षभन्दा कोरोना महामारी शक्तिशाली भएर आएको भनिन्छ। गत वर्षको भन्दा कोरोनाको सङ्क्रमणको दर नै बढी छ रे १ अझ मानिसलाई पनि छिटो प्रभावित पारिरहेको छ रे १ मतलब पहिलेभन्दा बढी सतर्क रहनुपर्ने देखिएको छ। अहिलेसम्म विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ र सरकारी संयन्त्रले सतर्कतापूर्वक विभिन्न सावधानीका उपाय अँगाल्न सर्वसाधारणलाई आग्रह गरिरहेको छ। सम्पूर्ण शिक्षालय बन्द गरिएका छन् र जारी परीक्षाहरू पनि बीचमैं स्थगित गरिएका छन्, रोकिएका छन्। परिस्थितिको गम्भीरतालाई सरकारले निकै सतर्कताका साथ बुझेर कदम चालिरहेको छ तर समाज भने अझै लापरवाह बनिरहेको छ। यो लापरवाहीले कोरोना भाइरसको सङ्क्रमणको विस्तार नेपालमा पनि धेरै भएको छ। हरेक दिन कोरोना सङ्क्रमितको सङ्ख्या देशमा बढिरहेको छ। जुन जिल्लामा कोरोना सङ्क्रमण बढी भएर निषेधाज्ञा जारी भएको छ, त्यहाँका अस्पतालमा भीडभाड बढेको बताइएको छ।

कोरोनाको ताण्डवलाई टुलुटुलु हेरेर बस्नुपर्ने होइन यो समय। अझै पनि विनाकाम घरबाहिर निस्कनेहरू छन्। बाहिर निस्कँदा नाकमुख नछोप्ने वा मास्क प्रयोग नगर्ने, सवारी साधनमा कोचाकोच गर्ने, बजारमा भीडभाड गर्ने, हाटहरू अझै पूर्णतया लापरवाह नै छन्। साना होटेलहरूको भीड कम भएकै छैन। बजारमा अझै पनि सावधानीभन्दा लापरवाहीको मात्रा बढी देखिएको छ र बजारमा कतै पुलिसलाई उभिएको देखेपछि खल्तीमा मास्क खोज्ने गरिएको दृश्य देखिन्छ। अझ जहाँ प्रहरीले अलिकति बढी कडाइ गरेको छ, त्यहाँ सामाजिक लापरवाही कम छ तर सामाजिक वा भौतिक दूरी कायम
राखेको भने देखिएको छैन। यसकारण कतिपयले टिप्पणी गरेका छन् कि लापरवाह समाजले लकडाउन वा निषेधाज्ञा खोजेको हो। सामान्य अवस्था हुँदा सामान्य सावधानी पनि आत्मसात् नगर्ने अनि लकडाउन वा निषेधाज्ञा भयो भनेर निकै घाटा लाग्यो, भोकभोकै मर्ने भइयो, बैंकबाट लिएको ऋणको ब्याज तिर्न नसक्ने भइयो, बेपारमा घाटा लाग्यो, घरजग्गा लिलाम हुन थाल्योजस्ता अभिव्यक्तिहरू आउँछन्। कतिपय पसले यस्ता छन् जो मास्क लगाउँदै लगाउँदैनन् तथा पसलमा भौतिक दूरी कायम हुने कुनै उपाय गर्दैनन्, जहिले पनि पसलमा भीड बनाइराख्छन् तर निषेधाज्ञा र लकडाउनको डरले डराउँछन्। पसलेको तर्क हुन्छ म सुरक्षित छु तर उनीकहाँ आउने ग्राहकहरूले उनलाई देखेर सतर्कता बिर्सन्छन् भन्ने कुराको हेक्का राख्दैनन्। साथै ग्राहकहरूलाई सावधान गराउँदैनन्। उनीहरूको बुझाइ छ कि ग्राहकसित बढी सतर्कताको कुरा गर्दा अर्कै पसलमा जान थाल्छन्।

साँच्चै समय निकै गम्भीर छ। अहिले कोरोनाको ताण्डव नृत्यलाई प्रोत्साहन हुने सामाजिक व्यवहारलाई हामी सबैले रोक्नैपर्छ। सामाजिक व्यवहार सामान्य अवस्थाजस्तो नगरेर विशेष समयको माग ठानी व्यवहार गर्नु आवश्यक छ। कोरोनाबाट डराएर, आत्तिएर होइन, सावधान भएर बस्नुपर्ने आवश्यकता छ। यसको ताण्डवलाई प्रोत्साहन दिने व्यवहारमा परिवर्तन गरेनौं भने भोलिको दिनमा डराउनुपर्ने पनि हुन सक्छ। हामीले कोरोनाको पहिलो लहर पार गरेपछि जसरी अति सामान्य भएर जीवन व्यतीत गर्न थालेका थियौं, त्यसरी नै यो दोस्रो लहर पार गरेपछि पनि सामान्य जीवन व्यतीत गरौंला तर अहिलेको समयमा हरेकले आफूलाई नै सतर्क राख्नुपरेको छ, सतर्क हुनुपरेको छ। हरेकको सतर्कता समाजको सतर्कता र हरेकको लापरवाही समाजको लापरवाही हुन सक्ने भएकोले परिवार, समाज र देशप्रति उत्तरदायित्व ठानेर हरेकले आफू सतर्क बस्नुपरेको छ। हरेकको सतर्कता र सावधानीले फेरि हाम्रो समाजमा सुदिन आउन सक्छ भन्ने चाहना हुनुपर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्