संस्कृत शिक्षा र साहित्यका सङ्गम हुन् चन्द्रशेखर

237

राजेश मिश्र

“यदि प्रणाली गलत छ भने सामुन्नेको पात्र जुनसुकै ओहोदाको किन होऊन्, तथ्यपरक विचार मर्यादित शैलीमा निर्भीकताका साथ प्रस्तुत गर्न चुक्नुहुँदैन, सङ्कोच कदापि मान्नुहुँदैन, किनभने बितेको पल फर्केर आउँदैन।” यो भनाइ मननयोग्य छ। झन्डै १२ वर्षको कलिलो उमेरमा उहिलेका अञ्चलाधीश जस्तो वरिष्ठ अधिकारीसमक्ष उनले आफ्नो विचार सभ्य र शालीनताका साथ अभिव्यक्त गर्न उनी पछि हटेनन्। तत्कालीन अञ्चलाधीशको यतिविघ्न शक्ति हुन्थ्यो कि एक बटुक (विद्यार्थी) को प्रश्नकोे कारण निर्णय परिवर्तन हुने सम्भावना अकल्पित थियो। अपितु बालकको तर्कपूर्ण प्रश्नले बडाहाकिमको मन र मस्तिष्कमा तरङ्ग उत्पन्न गरिदिएको थियो। ह्दयमा ओहोदाको दम्भ जाग्रित नभई बटुकको प्रश्नको समर्थन गर्दै निर्णय सच्याए। उक्त प्रकरण उहिलेका ती बालकको सफलताको पहिलो खुड्किलो थियो।

शिक्षक पेशाबाट सेवानिवृत्त भएपनि साहित्यिक क्षेत्रमा उनी अहिले पनि क्रियाशील छन्। जीवनको उत्तराद्र्धमा शारीरिक शक्ति क्षीण हुँदै गए पनि साहित्यमा उनको कलमले अहिलेसम्म निरन्तरता पाइरहेको छ। विभिन्न आरोह–अवरोहको बावजूद जीवनपथमा नित्य दिन नयाँ सोचका साथ दिनको शुभारम्भ गर्ने ८८ वर्षीय उनी हुन्, चन्द्रशेखर उपाध्याय।

आजको यस आलेखमा उनको शिक्षार्जन, शिक्षण र साहित्यसँगको सामीप्यतालगायतका विविध विषयमा भएका संवादकोे संक्षिप्त अंश प्रस्तुत छ।

रौतहट जिल्लाको सदरमुकाम गौरदेखि ७ किमि उत्तर अवस्थित दुर्गाभवानी गापाको बडहर्वा गाउँ उनको जन्मभूमि हो। यद्यपि कर्मभूमिको सवालमा उनी शिक्षार्जन र शिक्षणका क्रममा महोत्तरी तथा धनुषामा वर्षौं बिताएको बताउँछन्। तीन छोरा र एक छोरीका बुबा उनी वीरगंज मनपाको वडा नं ४ मा पत्नी, छोरा, बुहारी र नातिहरूसँग आनन्दमय जीवन बिताइरहेका छन्।

महोत्तरी जिल्लाको जलेश्वरस्थित श्री राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीमा उनको दाइ पहिलेदेखि अध्यनरत थिए। शिक्षा हासिल गर्नुपर्छ भन्दै कलिलो उमेरमा दाइसँगै बाआमाले जन्मथलोदेखि सुदूर मटिहानी पठाइदिए। उनले छात्रवृत्ति कोटामा संस्कृत शिक्षा हासिल गरे। प्रथमादेखि कक्षा शुरू गरेर विसं २०१३ मा आचार्य तहको परीक्षा उत्तीर्ण गरे। उनी शिक्षण पेशा र साहित्यसँगै विभिन्न तहका उच्च शिक्षा हासिल गर्ने व्यक्तित्व हुन्।

प्रतिप्रश्नले प्रणाली परिवर्तन
उहिले छात्रवृत्ति प्रदान गर्ने प्रक्रिया कस्तो थियो ? कसरी छात्रवृत्ति पाउनुभयो ? भन्ने सवालमा एकाएक उनी भूतकालमा पुगिसकेको महसूस भइरहेको थियो। उहिलेको त्यो प्रसङ्ग फिल्मको रिलझैं तीव्र वेगमा उनको मुखारवृन्दबाट प्रस्फुटित भइरहेको थियो।

उहिलेको शासन व्यवस्थाताका अञ्चल हेर्ने अञ्चलाधीशको दर्जालाई ‘बडाहाकिम’ भनेर सम्बोधन गरिन्थ्यो। तत्कालीन जनकपुर अञ्चलका बडाहाकिम थिए रामशम्शेर। उनकै उपस्थितिमा विद्यार्थीहरूसँग सामान्य सोधपूछपछि छात्रवृत्ति प्रदान गरिन्थ्यो। विद्यालयको प्राङ्गणमा बडाहाकिमसमक्ष विद्यार्थीहरू निर्धारित समयमा उपस्थित भए।

बडाहाकिमले,“कति अध्याय पढेका छौ ?” भन्दै विद्यार्थीसँग प्रश्न सोध्न थाले। विद्यार्थीहरूमध्ये कसैले पन्ध्र अध्याय, कसैले चालीस, त कसैले पच्चीस अध्याय पढेको बताइरहेका थिए। उपाध्यायको पनि पालो आयो। बडाहाकिमले सोधे, “तिमीले कति अध्यायसम्म पढेका छौ ?” उनले उत्तर दिए, “पाँच।”

सम्पूर्ण विद्यार्थीबाट उत्तर आइसकेको थियो। नतीजाको लागि अहिलेको जस्तो महीनौं पर्खिनुपर्ने झन्झट उहिले थिएन। केहीबेरको अन्तरालमा नतीजा सुनाइन्थ्यो। परीक्षा र परिणामबीचको समय विद्यार्थीहरूका लागि अत्यन्तै खुल्दुलीपूर्ण अवस्था हो। हाँस्दै उनले भने, “विद्यार्थी जीवन उहिले को होस् वा अहिलेको, नतीजा जान्ने व्यग्रताले हदैसम्मको व्याकुलता उत्पन्न गर्दाे रहेछ।” केहीबेरपछि प्राचार्यहरूसहित बडाहाकिम बटुकहरू भएका कोठामा विराजमान भए। छात्रवृत्ति प्रदान गर्ने सङ्ख्याको अनुपातमा सबैभन्दा बढी अध्याय पढेको बताउनेलाई पहिलो र क्रमशः दोस्रो र तेस्रो गर्दै छनोट गरियो। उपाध्यायको नाम छनोटमा परेन।

उनलाई पाँच अध्यायसम्म कण्ठस्थ थियो। पूर्ण आत्मविश्वास थियो। जति जानेका थिए, इमानदारीपूर्वक त्यतिमात्र बताएका रहेछन्। व्यावहारिक परीक्षाविना कसरी सम्भव छ ? मौखिक बताएकै भरमा ज्ञान कसरी जाँच्न सकिन्छ ? सामुन्ने जो कोही किन नहोऊन्, प्रश्न किन नगर्ने ? लगायतका विविध कुराहरू उनको मनमा उठ्न थाल्यो।

अभिनन्दन र प्रार्थनालगायतका दैनिक कर्म गर्नैपर्ने पाठशाला जस्तै थियो, उनको पारिवारिक पृष्ठभूमि। आत्मविश्वासका साथ प्रश्न गर्ने निधो गरे। बडाहाकिमतर्फ हेर्दै शालीन र सभ्य भाषामा उनको मुखारबाट स्वर गुञ्जित भयो, “सबैसँग अध्याय पढाइ बक्सियोस्।” प्रश्न सुन्ने बित्तिकै बडाहाकिमको ध्यान उनीतर्फ आकृष्ट भयो। बडाहाकिमको आँखाले एकोहोरो उनको अनुहार नियालिरहेको थियोे। उहिले बडाहाकिमसँग प्रश्न गर्नेे साहस कसैले गर्दैनथे। बडाहाकिमसँग प्रश्न गर्ने बटुकको आँटिलो भाव देखेर त्यहाँ उपस्थित महानुभावहरू दङ्ग परे।
उक्त विद्यालयको इतिहासमा यस प्रकारको घटना पहिलो थियो। माहोल एकदम शान्त भयो। सन्नाटा छायो। शायद कलिलो बटुकको प्रश्नले बडाहाकिमको ह्दयमा तरङ्ग उत्पन्न गरिदिएको थियो। केहीबेरको शान्त माहोलपछि बडाहाकिमले आदेश दिंदै भने, “ल पहिले तिमी नै सुनाऊ।” उनले फर्रर्र अध्याय सुनाउन थाले। बडाहाकिमले अघिको नतीजा सच्याउन बाध्य भए। भद्र र शालीन प्रतिप्रश्नका कारण छात्रवृत्ति पाउनुका साथै उनले प्रणाली परिवर्तन गर्न सफल भए।

तत्कालीन राजा त्रिभुवनको जनकपुरमा सवारी भएको बेला होस् वा प्रधानमन्त्री तुलसी गिरी धनुषामा कमला सिंचाइ आयोजनाको निरीक्षण गर्न आएका बेला होस्, उनले निर्भीकताका साथ शालीन भाषामा विनासङ्कोच आप्mनो विचार राख्ने मौका छाडेनन्। उनको विचार सार्थकतामा परिणत भएको थियो।

शिक्षण पेशा
शिक्षार्जनपछि उनी महोत्तरीबाट फर्केर झन्डै तीन वर्ष रौैतहटमा बिताए। विसं २०१६ सालमा धनुषाको तत्कालीन रघुनाथपुर पञ्चायतको बरकुर्वामा ‘फकिर चन्द गामी मावि’ स्थापना भएको थियो। स्थापनाकालदेखि विसं २०४९ सालसम्म अनवरत शिक्षण पेशामा रहे। उनी मावि तहको नेपाली शिक्षकको रूपमा रु ६५ तलबसहित बहाली भएका थिए। एक प्रसङ्गमा उनले भने, “शिक्षक बन्नु मात्र महत्वपूर्ण होइन, अपितु विद्यार्थीहरूमा शिक्षाको विम्ब प्रत्यार्पण गर्न सक्नु सबैभन्दा महत्वपूर्ण कुरा हो।”

साहित्यिक पथ
मटिहानीमा अध्ययनरत रहँदादेखि नै उनमा साहित्यिक गुण अङ्कुरित भइसकेको थियो। फुर्सतको समयलाई लेखन विद्यामा उपयोग गर्ने उनको बानीले साहित्यिक संसारमा ऊर्जा थप्ने काम ग–यो। आपूmले शिक्षा हासिल गरेको स्थानको नामबाट हिन्दी खण्डकाव्य ‘मटिहानी महिमा’ उनको पहिलो कृति हो। त्यस्तै हिन्दी खण्डकाव्य ‘वीरगंज वैभव’, मैथिली खण्डकाव्य ‘सुदामा चरित’ तथा नेपाली खण्डकाव्य ‘जनकपुर मिमांसा’लगायतका दर्जनौं साहित्यिक कृतिका उनी जननी हुन्।

भारतीय साहित्यकार हरिवंशराय बच्चनका प्रख्यात हिन्दी खण्डकाव्य ‘मधुशाला’, वरिष्ठ साहित्यकार सम्राट अयोध्या सिंह उपाध्याय हरिऔधका शास्त्रीय छन्दमा आधारित महाकाव्य ‘प्रिय प्रवास’, रामधारी सिंह दिनकरका प्रख्यात खण्डकाव्य ‘रश्मि रथि’लगायतका कृतिहरूका अविकल अनुवादकर्ता हुन्।

‘मटिहानी महिमा’मा उनले देवी सीताको मटकोरको विषयमा यसरी वर्णन गरेका छन्, ‘है किंवदन्ती मटिहानी की, सीता मटकोर यहीं से हुआ।’ त्यस्तै मटिहानीको नाम मटिहानी किन भयो ? भन्ने प्रसङ्ग पनि कम रोचक छैन, ‘हानि मिट्टीकी होने से, मटिहानी इसका नाम पडा।’ व्याकरणीय शुद्धता, रस, भाव र शब्द आदिको समिश्रणसहित उनका कृतिहरू अति पठनीय छन्।

नेपालका प्रथम राष्ट्रपति महामहिम रामवरण यादवलगायत बौद्धिक जमातबाट सम्मान र पुरस्कार पाउँदा लेखन कार्यमा झन् क्रियाशीलता बढेको उनी बताउँछन्। उनी भन्छन्, “लेखन कार्य धेरै कठिन कार्य हो, यसमा कल्पना शक्तिलाई जति धेरै जाग्रित गरिन्छ, विषयवस्तु त्यति नै गहकिलो हुन्छ।” विसं २०६३ मा बौद्धिक समाज जनकपुरबाट सम्मानित हुँदै, विसं २०६७ मा ‘मिथिला गौरव’ सम्मान, विसं २०७६ मा विद्यापति प्रतिष्ठानबाट रु २ लाख राशिसहितको पुरस्कार तथा पछिल्लो समय विसं २०७७ मा नेपाल प्रज्ञा प्रतिष्ठानबाट रु ५० हजार राशिसहित पुरस्कृत भए। सम्मानित र पुरस्कृत गर्ने सबैप्रति उनले कृतज्ञता जाहेर गर्न छुटाएनन्। एक प्रसङ्गमा उनले भने, “सम्मानित हुने क्षणमा आप्mनो कार्यप्रति अझ जिम्मेवार बनाउँदो रहेछ।”

संस्कृत शिक्षाप्रति चिन्ता
संस्कृत शिक्षा कुनै जातिविशेषको लागि मात्र होइन, यद्यपि संस्कृत भाषा केवल ब्राह्मणहरूको विद्या हो भन्ने सङ्कुचित धारणा त्यति बेला पनि आम थियो। उनी भन्छन्, “रुचिपूर्ण अध्ययन गर्ने प्रयास गरियो भने संस्कृत भाषा अति सरल, रसयुक्त र आनन्दमयी भाषा हो, विज्ञान हो।” संस्कृत भाषाको बुझाइ र उच्चारण कठिन भएकाले पनि सबैको रुचिमा पर्दैन भन्ने आमबुझाइ सत्यपरक मान्न सकिंदैन। किनभने कहिल्यै नपढेको र नबोलेको भाषा सिक्न र बोल्न कसरी सक्षम हुन्छौं ? तर हामी आपूmले बोल्ने विभिन्न भाषाको जननी ‘संस्कृत भाषा’ सिक्न सकिंदैन ? कतिपय देश छन्, जहाँ शिक्षार्जनको लागि जाँदा उनीहरूको भाषा सिक्नै पर्ने बाध्यता पहिलो प्राथमिकतामा पर्दछ। त्यसपछि मात्र कक्षागत पढाइ शुरू हुन्छ। यसले के सिद्ध हुन्छ भने उनीहरू आप्mनो भाषाको प्रचारप्रसारप्रति कटिबद्ध छन्। जागरूक छन्।

संस्कृत शिक्षा र साहित्यका सङ्गम उनी भन्छन्, “हामीले के बिर्सनुहुँदैन भने नेपाली, मैथिली, भोजपुरी, अवधी र हिन्दीलगायतका थुप्रै भाषाको जननी नै संस्कृत हो। काशी हिन्दू विश्वविद्यालय वाराणसीका संस्थापक महामना मदनमोहन मालवीयले भनेका कुरा सम्झँदै उनी भन्छन्, ‘भाषा शाखा है सभी, संस्कृत भाषा मूल, मूल जमीं पे गढी रहे, शाखाओं में पूmल।’ धेरै पछिसम्म संस्कृत शिक्षा पाठ्यक्रममा संलग्न थियो। सरकारीस्तरबाटै संस्कृत भाषालाई विलीन पार्ने काम भयो। हामीले संस्कृत भाषाको संरक्षण र संवर्धनको सवालमा किन अक्षम छौं ? लगायतका संस्कृत शिक्षाप्रति उनको चिन्ता आम चासो र सामाजिक विमर्शमा परिणत हुन जरुरी छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्