लभ इन वीरगंज

108

समीर पाख्रिन

सुशीला ः उषाले त अस्ति, ज्वाइँ साप बेलुकी सवारी होइबक्सिन्छ भन्दै थिई।
सरोज ः ए उतैको एकजना चिनजानसित भेट भयो। सर, बाइकमा जाऊ भनेकाले उतै भन्सारबाटै हेटौंडा लागियो ममी।
सुशीला ः ज्वाइँ साप, वीरगंज आउँदा कहिलेकाहीं नाति केटोलाई पनि सँगै लिएर आउनुभए हुन्थ्यो नि। सा–है हेर्न मन लागेको छ।
सरोज ः अब केही दिनमा बर्खे बिदा शुरू हुँदैछ। ल्याएर केही दिनलाई छाडिदिउँला नि। (उषातिर हेरेर) साली नानीको रिजल्ट बिग्रेछ। पढाइमा अलिक मिहेनत गर्नुप–यो नि त सालीनानी।
उषा ः खोइ भिनाजु, पढेर मात्र हुन्छ र दिमागमा पनि घुस्नुप–यो नि।
सुशीला ः फुर्सद भयो कि फेसबूकमा अनि कसरी पास होस्।
सरोज ः दिमाग जति फेसबूकले खायो कि क्या हो त सालीनानी ?
उषा ः भिनाजु, फेसबूक त हाम्रो जेनरेशनको लाइफलाइन नै भइसक्यो नि। अब त भात खान नपाए बाँचिन्छ होला तर फेसबूकविना त बाँच्न असम्भव भइसक्यो।
सुशीला ः ज्वाइँ साप, हजुर वीरगंंज आइरहनुहुन्छ। यसो यसलाई कतै सानोतिनो काममा झुन्ड्याउन मिल्दैन ?
सरोज ः सालीनानी गर्ने हो त काम ?
उषा ः पाए त गर्ने हो भिनाजु।
सरोज ः त्यसो भए म एउटा शोरूममा कुरा गरिदिन्छु है त।
सुशीला ः हुन्छ ज्वाइँ साप हुन्छ। काम भयो भने बरालिएर हिंड्न पनि नपाइने।
उषा ः बरालिएर चाहिं कोही पनि हिंडेको छैन है। डेटिङमा त जान परि हाल्छ नि होइन त भिनाजु ?
सरोज ः ए सालीनानी डेटिङमा समेत जाने भइसकी ? मामु, अब काम होइन ज्वाइँ चाहिं खोज्नुपर्ला जस्तो देखें।
सुशीला ः कवि, पुलिस, ड्राइभर र मास्टर छाडेर बाँकी जो आए पनि दिने हो ज्वाइँ साप।
सरोज ः (मुसुमुसु हास्दै) कविलाई चाहिं किन नदिने नि ?
सुशीला ः अँह, कविलाई त झन् म दिंदै दिन्नँ। कविसित बिहे गर्ने कसैको छोरीचेलीले सुख पाएका छैनन्।
सरोज ः अनि मास्टर र पुलिस चाहिं किन नहुने नि ?
सुशीला ः मास्टरको बल्ल–बल्ल चार महीनामा तलब आउँछ अरे। त्यो पनि यता र उता भन्दाभन्दै सकिन्छ भन्छन्। पुलिस र ड्राइभरलाई दिऊ भने सौता हाल्ला कि भन्ने डर। (सरोज हाँस्छ)
उषा ः हजुरले भनेर म जोसुकैसंँग बिहे गर्छु कि क्या हो। (हवल्दारको प्रवेश)
सरोज ः (हतार–हतार उठेर) बुबा, दर्शन गरे है।
इमान सिंह ः भाग्यमानी हुनु। अनि ज्वाइँ त अस्ति बेलुकी यतै बस्ने गरी आउनुहुन्छ भन्दै थिई उषाले ?
सरोज ः हो बुबा, तर हेटौंडाको एकजना मित्रसित भन्सारमा भेट भयो र सँगै फर्कियौं।
इमान सिंह ः मेरो पनि ड्युटी अहिले हेटौंडाको रातोमाटेमा परेको छ। आउँदा आउँदै रात परिहाल्छ। राम्रै गर्नुभो त्यो दिन त… (उषाले बुबालाई चिमोट्दै)
उषा ः हजुर पहिला फ्रेस भएर आउनुहोस् अनि गफ गर्नोस्। म सबैका लागि चिया बनाउँछु।
इमान सिंह ः ल ल ज्वाइँ साप म एकै क्षण है। (बाथरूमतिर छिर्छ)
०००
दृश्य ः ११
समय ः दिउँसो। स्थान ः हेटौंडाको रातोमाटे चेकपोस्ट।
चालकले सीट सङ्ख्याभन्दा बढी यात्रु बोकेको आरोपमा हवल्दारद्वारा केरकार हुँदैछ।
इमान सिंह ः के हो गुरुजी, सीट सङ्ख्याभन्दा बढी यात्रु बोक्न नपाइने नियम लागू भएको थाहा छैन ? कि सय/दुई सयमा सल्टाउँछु भनेर अटेर गरेको ? यहाँ छातीमा नाम पढ्नु भॉछ ? इमान सिहं हँु इमान सिंह। म आप्mनो इमान धर्ममा एकदम पक्का छु। सीटभन्दा बढी यात्रु बोकेमा कारबाही हुन सक्छ याद गर्नाेस्।
चालक ः याद किन नहुनु हवल्दार साप, तर यात्रुहरू नै कुरा बुझ्दैनन्। बसको छतैमा बसेर भएपनि जाने
भन्छन्। के गर्नु ? न चढाए “भोलि
कुन बाटो हिंड्छस्, मैले जानेको छु” भनेर धम्क्याउँछन्। यो चालक भन्ने जन्तुलाई त सा–है गा–हो पो छ त हवल्दार साप।
इमान सिंह ः ल्याउने बेलामा कोची–कोची ल्याउने, अहिले यात्रुको दोष देखाउने ?
चालक ः सबैलाई घरै पुग्न हतार हुन्छ। यात्रु ओराल्न बस रोक्यो ह्वार् मानिसहरू बसमा चढिहाल्छन्। सीट छैन भन्दासमेत अटेर गरेर चढ्छन्। के गर्ने ? बरु बसभित्र उभिएर यात्रा गर्नेलाई चाहिं जरिवाना हुने हो भने जारी कानून सफल होला कि ? (बस गन्तव्यतिर बढ्छ)
इमान सिंह ः (नजीकै रोकिएको माइक्रोबसकोे चालकनजीकै गएर) के छ त गुरुजी ? ट्राफिक नजीक आएपछि मात्र बेल्ट लगाउने ? गाडी हाँकेको बेलामा मोबाइलमा कुरा गर्ने गरेको उजूरी परेको छ। हो त ?
चालक ः होइन कसले भन्यो ? म घरैबाट बेल्ट बाँधेर आउँछु हवल्दार साप, नपत्याए यी हेर्नाेस्। (ढोका खोलेर बाहिर आई पाइन्टको बेल्ट देखाउँदै) यी हेर्नाेस् त। (यात्रुहरू गलल हाँस्छन्)
इमान सिंह ः मैले कम्मरको बेल्टको कुरा गरेको होइन। सीट बेल्टको कुरा गरेको।
चालक ः के गर्नु हवल्दार साप, यात्रु चढाउन र ओराल्न घरी–घरी ओर्लन पर्ने भएकोले सीट बेल्ट बाध्न भ्याइँदैन। रह्यो कुरा मोबाइलको, मेरी बूढी ज्यादै शङ्कालु छे। घरबाट निस्कियो कि आधा–आधा घण्टामा फोन गरिबस्छे। नउठाऊ भने घरमा पुग्ना साथै भुत्ल्याउन आइपुगिहाल्छे। यसैले म त घण्टी बज्यो कि मोबाइल उठाइहाल्छु हवल्दार साप।
इमान सिंह ः अनि चालकले मोबाइलमा गफ गर्दा दुर्घटना हुने खतरा बढी हुन्छ थाहा छ कि छैन ? (भित्र यात्रुहरूलाई हेर्दै) तपाईं यात्रुहरूले पनि, चालकले सवारी हाँकेको बेला मोबाइलमा कुरा गरेको खण्डमा आपत्ति जनाउनुपर्ने होइन ?
यात्रु ः आपत्ति जनाएर के गर्नु हवल्दार साप। कसैले जङ्गल बीचमा लगेर ओरालिदिन्छन्। कसैले त्रिशूलीमा
लगेर घोप्टाइदिन्छन्। अस्ति मात्रै साहुको रिसले यात्रुसँगै बस त्रिशूलीमा घोप्टाइदिएको होइन ? अनि आपत्ति जनाएर भो?
इमान सिंह ः हेर, आज चेतावनी दिएर छाडिदिंदैछु। अब पनि नियम मिचेको पाइयो भने हदैंसम्मको कारबाही हुनेछ। ल जानोस्। (यत्ति नै बेला हवल्दारको मोबाइलको रिङ टोनमा राष्ट्रिय धुन बज्छ। हवल्दार जीउ
तनक्क तान्दै) हेलो हवल्दार इमान सिंह हियर। क्रमशः

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्