पुस्तक र लोकतन्त्र

36

सञ्जय मित्र

पुस्तक अध्ययनको संस्कृति केही हदसम्म बन्दाबन्दीको समयमा बढेको देखिएको छ। यद्यपि यो नेपाली साहित्यको पुस्तक अध्ययनमा केही हदसम्म बढी पाठकको ध्यान गएको देखिएको हो। नेपालका अन्य मातृभाषाको साहित्यको अवस्था के कस्तो छ, खासै बुझ्न सकिएको छैन तर देशका सबै भाषाको गतिविधिलाई स्थान दिंदै आएको देखिएको गोरखापत्र दैनिकको नयाँ नेपाल स्तम्भ अन्तर्गतका भाषाहरूको पृष्ठमा खासै धेरै प्रगति भएको सूचना पढ्न पाइएको छैन। यस पृष्ठमा सम्बन्धित भाषाको साहित्यको गतिविधि नगएको पनि हुन सक्ला। यद्यपि नेपाली भाषापछि ठूलो रहेको मानिएको मैथिली र देशको अर्को समृद्ध भाषाको रूपमा रहेको भोजपुरी भाषाको पनि खासै धेरै साहित्यिक कृति प्रकाशन भएको पाइएको छैन।

भोजपुरी र मैथिलीमा साहित्यिक पत्रिकाहरू पनि धेरै प्रकाशित छैनन्। भएका पत्रिकाहरू पनि त्यत्ति नियमित हुन सकेका देखिंदैनन्। मैथिली र भोजपुरीको बीचको भाषाको रूपमा नेपालको भूगोलमा रहेको भनिएको बज्जिका भाषाको कृति भने बन्दाबन्दीको समयदेखि केही मात्रामा प्रकाशित भएका छन्। भाषासम्बन्धी गतिविधिले तीव्रता लिएको छ। भाषा र साहित्यको नियमित कार्यक्रमहरू भइरहँदा पत्रिका र पुस्तक प्रकाशनले पनि केही हदसम्म गति लिएको देखिएको छ तर अपेक्षाभन्दा कम छ र अझ नेपाली साहित्यको तुलनामा निकै धेरै पछाडि रहेको छ। यस क्षेत्रका अन्य मातृभाषाको अवस्था पनि खासै भिन्न रहेको पाइएको छ।

प्रदेश दुईमा नेपाली मातृभाषी कमै भएको भएपनि नेपाली भाषाको साहित्यले भने राम्रै फड्को मारेको देखिएको छ। नेपाली साहित्यको सिर्जना र पठन प्रदेशका हरेक जिल्लामा हुने गरेको छ। हरेक जिल्लामा केही निश्चित पाठक रहेका छन्। साथै हरेक जिल्लामा केन्द्रबाट प्रकाशित अखबारहरू पुग्ने गरेका छन्, जसमा नेपाली भाषा र साहित्यका उत्कृष्ट कृतिहरूको चर्चा हुने गरेका छन्। नेपाली भाषाका साहित्यकारहरूको बारेमा र राम्रा सिर्जनाहरूको बारेमा पर्याप्त समीक्षाहरू प्रकाशित हुने गरेका छन्। यसले गर्दा पर्याप्त चर्चा हुने कृतिको बारेमा सर्वसाधारणले जानकारी प्राप्त गरेर सम्भव भएसम्म कृतिको अध्ययन पनि गर्ने गरेका छन्। राम्रा कृतिहरूको अध्ययन र पठनको संस्कृति यस कारण पनि विकास भइरहेको छ र यही अवसर अन्य मातृभाषाका सर्जक तथा पाठकका लागि प्राप्त हुने गरेको देखिंदैन।

सबैभन्दा पहिले त मातृभाषामा पत्रिकाहरू सबल छैनन्। नेपाली भाषामा राम्रा सिर्जना गर्न सक्ने खूबी भएकाहरूले पनि मातृभाषामा सिर्जना गर्न हिच्किचाउँछन्। यस कारण पनि विभिन्न मातृभाषाका सर्जकहरूलाई नेपाली लेख्न र प्रकाशन गर्न सजिलो रहेको छ। मातृभाषामा राम्रा सिर्जना हुँदा पनि प्रकाशनको उति सजिलो व्यवस्था रहेको छैन र पाठक पनि उति धेरै नभएकाले जे जति सर्जक छन्, तिनीहरूले नेपाली भाषामा बढी लेख्छन् र मातृभाषामा देखाउनका लागि बढी लेख्ने गरेका छन्। यस्ता निकै कम साहित्यकार छन्, जसका नेपाली भाषामा साहित्यिक रचना वा कृति प्रकाशित छैनन् र मातृभाषामा मात्र कृति वा रचना प्रकाशित छन्। यसविपरीत धेरै साहित्य सर्जक यस्ता छन्, जसका नेपालीमा कृति वा सिर्जना छन् तर मातृभाषामा छैनन्।

मातृभाषामा साहित्यिक कृति प्रकाशन गर्नु भनेको सेवा गर्नु मात्र हो। यहाँबाट केही फिर्ता आउला भन्ने कल्पना पनि हुँदैन। यसै कारण मातृभाषामा सर्जकहरू लगानी गर्न तयार नभएका होलान्। प्रकाशकको अभाव मात्र होइन कि पाठक र आलोचकको पनि अभाव रहेको छ। मातृभाषाका कृति बाँडेर सिध्याउनुपर्ने अवस्था रहेको छ।

मातृभाषाको साहित्यप्रति नेपाली मातृभाषी पत्रकारहरूको नकारात्मक दृष्टिकोण पनि रहेको छ। नेपाली भाषा र साहित्यका लागि हुने कार्यक्रमबारे निष्पक्षता र इमानदारीपूर्ण समाचार सम्प्रेषण हुन्छ र सम्बन्धित प्रचार साधनले प्रचार गरेको पनि हुन्छ तर त्यही अन्य मातृभाषाको जस्तोसुकै ठूलो वा राम्रो वा महत्वपूर्ण कार्यक्रम हुँदा वा कृति प्रकाशन हुँदा त्यसलाई नेपाली मातृभाषी पत्रकारले समाचार सम्प्रेषण गर्न चाहँदैनन् वा गरिहाले पनि प्रकाशन प्रसारण हुँदैन। यस प्रकारको नियतमा खोट राखेर गरिएको पत्रकारिताले मातृभाषाको साहित्य फस्टाउन र पुस्तक संस्कृतिको विकास गर्न अवरोध सिर्जना गरेको छ, साथै नेपाली भाषाको साहित्यको विस्तारमा पनि केही रोकावट सिर्जना गरेको छ। यद्यपि केही प्रचार माध्यमले भने यस सन्दर्भमा पनि उल्लेखनीय प्रशंसनीय काम गरेका छन्, निष्पक्षतापूर्वक।

अहिले शिक्षा र चेतनामा वृद्धि हुँदै गएको छ। शिक्षा र चेतनाको विस्तारले पुस्तक अध्ययन तथा पठनले संस्कृतिको रूप लिने आशा गर्न सकिन्छ। पुस्तक पठन एउटा लोकतान्त्रिक संस्कार हो। लोकतन्त्र नै हामीकहाँ जहिले पनि चर्चाको विषय हुने गरेको छ। यो हरेकको मनमा संस्थागत हुनुपर्छ। जब हरेक शिक्षितको मनमा लोकतन्त्र स्थापित हुन्छ, तब पुस्तक पठनको संस्कृतिले अझ विस्तार पाउने विश्वास गर्न सकिन्छ। यसको मूल कारण के हो भने पुस्तक पठन पनि लोकतन्त्रसित जोडिएको छ। लोकतन्त्र जति धेरै बलियो बन्दछ, पुस्तक प्रकाशन तथा पुस्तकको चर्चा उति धेरै हुने सम्भावना रहन्छ। लोकतन्त्र कमजोर हुँदा पुस्तकको विकास तथा प्रकाशन र पठनमा उति धेरै अवरोध हुने सम्भावना रहन्छ।

लोकतान्त्रिक संस्कारलाई अझ बलियो बनाउन पुस्तक पठनको संस्कारलाई पनि विस्तार गर्नु आवश्यक रहेको छ। लोकतन्त्र र पुस्तकको सम्बन्ध शरीर र आत्माजस्तो हुनुपर्छ शिक्षित समाजमा। लोकतन्त्र छ र पुस्तक पठनको संस्कार यदि कमजोर छ भने त्यहाँ शिक्षा र चेतना अझै उठ्न बाँकी छ भनेर बुझ्नुपर्छ। हो, विश्वविद्यालयको प्रमाणपत्र मात्र नै शिक्षा र चेतनाको मापक होइन, शिक्षा र चेतना व्यवहारमा पनि देखिनु आवश्यक हुन्छ। शिक्षा चेतनाको प्रकाशन पुस्तक र त्यसको पठनमा विम्बित हुन्छ।

पुस्तक पठनको संस्कृति बसाल्न शिक्षक तथा अन्य बुद्धिजीवीहरूको भूमिका हुन सक्छ। सामाजिक सञ्जालमा चाहिंदा नचाहिंदा फोटा वा स्टाटस लेख्ने उच्च बौद्धिक व्यक्तित्वहरूले वर्षको एक/दुई वटा पुस्तक पढेको कुरा राख्दा पनि हुन्छ। सम्भव भएसम्म पुस्तकका महत्वपूर्ण अंश, फोटो, पुस्तककारको बारेमा दुई शब्द लेखिदिए पनि हुन्छ। कुनै आग्रह, दुराग्रह, पूर्वाग्रहले होइन कि पूर्णतया बुद्ध बनेर वर्षमा केही कृतिको अध्ययन गर्ने र कृतिको बारेमा केही शब्द सामाजिक सञ्जाल वा पत्रपत्रिकामा राख्नाले पुस्तक पठन संस्कृतिको विकास हुने र यसको मूलमा ज्ञान सङ्कलन तथा विस्तारको संस्कृति पनि बस्ने हुन्छ। एउटा असल संस्कृतिको विकासमा सबै बुद्धिजीवीहरूले योगदान दिने कि ?

अभिभावकहरूले पनि बालबालिकालाई सानैदेखि कथा, कविता तथा यस्तै अन्य क्षेत्रका पुस्तक पढ्ने अवसर जुटाउनुपर्दछ। पुस्तक पढ्नु भनेको आपूmभित्र लोकतन्त्रलाई मर्यादित बनाउनु पनि हो। लोकतन्त्रको मर्यादालाई हृदयमा स्थापित गर्नु पुस्तकको स्वच्छन्द अध्ययन गर्नु हो। यद्यपि प्रारम्भमा केही मन परेका लेखक, आपूmले चिनेका लेखक वा आप्mना नजीकका लेखकका कृति नै पढ्दा पनि हुन्छ तर कृतिमा के रहेको छ ? भन्ने कुरा कुन माध्यमले हुन्छ, सार्वजनिक गर्दा पुस्तक अध्ययनको लोकतान्त्रिक संस्कार उद्घाटित हुन्छ। यद्यपि पुस्तक पठन र यसमाथिको टिप्पणी व्यक्तिको नितान्त वैयक्तिक मौलिक अधिकार हो, सार्वजनिक गर्न सकिन्छ वा नगर्न पनि सकिन्छ। तर समाजलाई जुन कुराले फाइदा हुन्छ, त्यो गर्नुपर्दछ भन्ने आग्रह हो। आपूmलाई सम्बन्धित पुस्तकको सन्दर्भमा सार्वजनिक गर्नुपर्छ भन्ने आग्रह हो किनभने कतिपयले भन्ने गरेका छन्– लोकतन्त्र आफैंमा खुल्ला पुस्तक हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्