कोरोनाको कारण यस वर्ष पनि सुभद्रामाईको मेला प्रभावित

0

ओमप्रकाश चौधरी, सेढवा, ८ वैशाख/
भारत पश्चिम चम्पारण जिल्लाको जमुनिया पञ्चायतमा चैते रामनवमीका दिन लाग्ने बिहारको प्रसिद्ध आदिशक्ति सुभद्रामाई मेला कोरोनाको कारण यस वर्ष पनि प्रभावित भयो।

गत वर्ष कोरोनाको कारण प्रभावित भएको सुभद्रामाई मेला यस वर्ष पनि कोरोना सङ्क्रमण बढेकाले प्रशासनले मेला लाग्न दिएन। सुभद्रामाईको मन्दिरमा लाग्ने मेला भर्नका लागि बिहार र नेपालका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा मानिसहरू जाने गर्दछन्। प्रशासनले मेलामा रोक लगाए पनि परम्परागत विधिबाट हुने पूजा भने सम्पन्न गराएको छ।
रामनवमीको दिन सुभद्रामाईको पूजासहित बलि नेपालीबाट गरिने परम्परा अन्तर्गत यस वर्ष पनि पटेर्वासुगौली गाउँपालिका–५ देउरियाका दहित परिवारका ज्येष्ठ नागरिक जगन दहित थारूबाट भयो।

बुधवार बिहान थारूले सुभद्रामाईको पूजा अर्चना गरी बलि दिए। परम्परागत पूजा र बलिको लागि मात्र प्रशासनले इजाजत दिएको र सोही अनुसार नेपाली दहित परिवारका ज्येष्ठ नागरिक थारूबाट बलि दिइएको मोहन दहित थारूले बताए। उनले आफ्नो परिवारका सदस्यहरू पूजा गरेर र बलि चढाएर परम्परा निर्वाह गरी फर्केको बताए।

भारत र नेपालमा कोरोना सङ्क्रमित बढे पनि यसपटक अहिलेसम्म लकडाउन भने भएको छैन। तर दुवै देशका स्थानीय प्रशासनले भीडभाड हुने मेला, उत्सवको आयोजनामा रोक लगाएको कारण मेला स्थगित भएको हो।
सर्वसाधारणका लागि मेला भर्न, बलि दिन रोक लगाइएको कारण नेपाल र भारतबाट मेला भर्न, भाखल चढाउन आएकाहरूले मन्दिरनजीकका गाउँटोलमा पूजापाठ गरी बलि दिएका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here