सिम्रौनगढमा ऐतिहासिक नवमी मेला लाग्यो

0

प्रस, सिम्रौनगढ, ८ वैशाख/
बाराको सिम्रौनगढमा ऐतिहासिक चैते नवमीको मेला लागेको छ। कोरोनाको कारण भीडभाड हुने गरी कुनै पनि मेला, उत्सव नगर्न प्रशासनले निषेध गरे पनि रामनवमीमा लाग्ने ऐतिहासिक मेलामा यहाँको प्रशासनले कुनै रोक नलगाएको कारण बिहानैदेखि मेला भर्न आउनेहरूको घुइँचो लागेको थियो।

चैत्र शुक्लपक्ष नवमी तिथिमा लाग्ने यहाँको मेला नेपालभरि प्रसिद्ध छ। शक्तिपीठ कङ्काली मन्दिर र रामजानकी मन्दिरमा भक्तजनहरूको ठूलो भीड बिहानैदेखि लागेको थियो। भक्तजनहरूले लामबद्ध भएर कोरोनालाई बिर्सेर स्वास्थ्य र सुरक्षाका मापदण्डको ठाडो उल्लङ्घन गर्दै पूजापाठ गरेका थिए। जबकि सुरक्षामा खटेका प्रहरीहरूले मेला भर्न आउनेहरूलाई मास्क लगाउन, विसङ्क्रमित हुन र दूरी बनाएर पूजा गर्न बारम्बार निर्देशन गर्दै आएको थियो।

मेलाको मुख्य आकर्षण नेटुवाको नाँच रह्यो। अहिलेको आधुनिक युगमा पनि परम्परागत नेटुवाको नाँच धेरैको लागि नौलो थियो। भाखल गरेका महिलाहरूले नेटुवालाई आफ्नो आँचलमा नचाएका थिए। सिम्रौनगढमा करीब ६ दशकदेखि यो मेला लाग्दै आएको बताइएको छ। पहिले मेला तीन महीनासम्म लाग्ने गरेकोमा अहिले दुई दिन मात्र लाग्ने गरेको छ।
यसैबीच कोरोनाको कारण सिम्रौनगढमा रामनवमीमा लाग्ने भनिएको सिम्रौनगढ महोत्सव औपचारिकतामा सीमित रह्यो। महोत्सवको उद्घाटन उपप्रमुख रीमादेवी कुशवाहाले गरेकी थिइन्। उनले कोरोनाको कारण महोत्सव औपचारिकतामा सीमित रहेको बताइन्। सिम्रौनगढको विकासको लागि महोत्सव आवश्यक भएपनि कोरोनाले सो कार्यलाई अवरुद्ध गरेको उनको भनाइ थियो।

जनचेतना समाज नेपालका अध्यक्ष्F मुना कुशवाहाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा राजेश कुशवाहा, खुशीलाल कुशवाहा, नेपाल पत्रकार महासङ्घ बाराका उपाध्यक्ष्F रामबाबू मेहता, हरेन्द्र कुशवाहा, रञ्जीत कुशवाहालगायतले मन्तव्य व्यक्त गरेका थिए। तीन दिनसम्म चल्ने महोत्सव कोरोनाको कारण आज उद्घाटन भएर आजै समापन पनि भयो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here