पृथ्वी दिवस २०२१

118

सञ्जय साह मित्र

करीब एक महीनासम्म हाम्रो आकाश प्रदूषित रह्यो। किन प्रदूषित भयो भन्ने विषयमा अनेक तर्क गरिए। एक दिनको आँधीहुरी र सानो पानीले वायुमण्डल तुलनात्मकरूपमा सफा भएको सबैले अनुभूति गरे। कहाँ गयो प्रदूषण ? हरेक दिन यति धेरै प्रदूषण उत्पादन हुन्छ तर कहाँ जान्छ ? वायुमण्डल वा आकाश वा पृथ्वीमा त्यस्तो के क्षमता छ कि यतिका प्रदूषण पचाइरहेको छ। घरबाहिर निस्कँदा आँखा पोलेको अनुभूति हुँदा कसैकसैले यो पनि भन्दै थिए कि सम्भवतः पृथ्वीको प्रदूषण धान्ने क्षमता कमजोर बन्दैछ। गत पुस–माघ महीनामा निकै लामो समयसम्म शीतलहर कायम रह्यो र केही समय पहिले आकाश पनि लामो समयसम्म प्रदूषित बन्यो। यी दुई घटनाबाट पृथ्वीको भविष्यबारे वा पृथ्वीवासी जीव र जीवनको भविष्यबारे पनि चिन्ता र चिन्तन व्यक्त गरेको पाइएको थियो।

‘पृथ्वी’ संस्कृत शब्द हो। यसलाई तत्सम शब्द पनि भन्न सकिन्छ। पृथ्वीलाई पृथिवी पनि भनिन्छ। यसको अर्थ हुन्छ – विशाल धरा। धरा भनेको धरती हो। विभिन्न भाषामा यसलाई विभिन्न नामले पुकारेको पाइन्छ तर संस्कृतमा अत्यधिक प्रचलनमा रहेको पृथ्वी शब्दको उत्पत्ति पृथु नामबाट भएको मानिएको छ। राजा वेनका पुत्र पृथु थिए। पृथुले भूमण्डलमा सर्वप्रथम सर्वाङ्गीणरूपले राज्य शासन स्थापित गरेको कारण उनकै नामबाट पृथ्वी भन्न थालिएको पाइन्छ। हुन त पृथुको जन्मको पनि आफ्नै किसिमको मान्यता छ। राजा वेनलाई ऋषिमुनिहरूले आफ्नो ध्वनिले नै मारेपछि निस्सन्तान राजाको भुजा (बाहु)को मन्थन गर्दा एक जोडी स्त्री–पुरुष उत्पन्न भएको र स्त्रीको नाम अर्चि तथा पुरुषको नाम पृथु राखियो। यी दुवै पति–पत्नी भए र दुवैलाई विष्णु तथा लक्ष्मीको अंशावतार मानियो। पृथुले नै पृथ्वीलाई सम्याए तथा बस्न र उब्जनी हुन लायक बनाए भन्ने पौराणिक मान्यता छ।

धार्मिक मान्यतालाई एकातिर राखेर पृथ्वीलाई विचार गर्ने हो भने यो सौर्य परिवारको एक सदस्य हो र दूरीको दृष्टिकोणले सूर्यतिरबाट हेर्दा सूर्य तेस्रो स्थानमा रहेको ग्रह हो। सौर्य मण्डलका सदस्यहरूमध्ये पृथ्वी नै यस्तो ग्रह हो जहाँ पानी उपलब्ध छ। यसको सतहको ७१ प्रतिशत भागमा पानी छ भने २९ प्रतिशत भाग जमीन छ। पृथ्वीको उत्तरी तथा दक्षिणी गरी दुवै ध्रुवमा निकै बाक्लो हिउँ जमेको छ। यसको सतह विभिन्न प्लेटले बनेको भूगर्भ वैज्ञानिकहरूको भनाइ छ। सौर्य परिवारका सबै ग्रहहरूमध्ये पृथ्वी नै यस्तो ग्रह हो जसमा जीवन छ, अन्य ग्रहमा जीवनको अस्तित्वको खोजी अहिलेसम्म भइरहेको छ। वैज्ञानिकहरूको अध्ययन तथा अनुसन्धान यसतर्फ पनि केन्द्रित रहेको छ।

यस ग्रहलाई पानीले जीवनलायक बनाएको भनिन्छ। पानीको साथै अक्सिजन पनि उत्तिकै महत्वपूर्ण छ। करीब ४.५४ अर्ब वर्ष पहिले पृथ्वीको उत्पत्ति भएको मानिएको र यसमा जीवनको उत्पत्ति करीब ४.१ अरब वर्ष पहिले भएको अनुमान गरिएको छ। जीवनको उत्पत्तिमा पानी र अक्सिजनको महत्वपूर्ण भूमिका रहेको बताइन्छ। पृथ्वीको बाहिरी सतह वायुमण्डलले भरिएको छ। यसको वायुमण्डलमा अनेक तह रहेका छन्। वायुमण्डलमा नाइट्रोजन तथा अक्सिजनको मात्रा बढी छ। वायुमण्डलमा ओजोन ग्याँसको एक तह छ, जसले सूर्यबाट आउने हानिकारक पराबैगनी किरणलाई रोक्दछ। वायुमण्डल निकै बाक्लो भएको कारण सूर्यको प्रकाश केही मात्रामा प्रवर्तित हुन्छ जसले गर्दा पृथ्वीको तापमान नियन्त्रणमा राख्न सहयोग पुग्दछ। यदि कुनै उल्कापिण्ड पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दछ भने वायुको घर्षणको कारण जलेर नष्ट हुन्छ वा सानासाना टुक्रामा विभाजित हुन पुग्दछ।

सूर्यभन्दा करीब १५ करोड किलोमिटरको दूरीमा पृथ्वी अवस्थित छ। सौर्यमण्डलको सबैभन्दा ठूलो चट्टानी पिण्डको रूपमा रहेको पृथ्वीले अन्य ग्रहझैं सूर्यको परिक्रमा गर्दछ र सूर्यलाई एक चक्कर लगाउन पृथ्वीलाई आफ्नो अक्षको एक चक्करमा लाग्ने समयको दृष्टिकोणले ३६५ दिन लाग्दछ। आफ्नो अक्षमा पृथ्वीले २४ घण्टामा एक चक्कर पूरा गर्दछ जसको कारणले पृथ्वीमा दिन र रात हुने गर्दछ। आफ्नो अक्षमा पृथ्वी २३.५ डिग्री झुकेको छ, यसले गर्दा पृथ्वीमा विभिन्न किसिमको मौसम वा ऋतु हुने गर्दछ। पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह चन्द्रमा हो। चन्द्रमा पृथ्वीको निकट भएको कारण पृथ्वीमा मौसमको लागि उत्तरदायी मानिन्छ। यसको गुरुत्वाकर्षणले पृथ्वीमा ज्वार–भाटा उत्पन्न हुन्छ।
पृथ्वीको आकार झन्डै अण्डाकार छ। औसत व्यास १२,७४२ किलोमिटर रहेको मानिएको पृथ्वीको सतह समुद्री सतहलाई शून्य मानेर नाप्ने गरिन्छ। समुद्रको सतहलाई आधार मानेर पृथ्वीको सबैभन्दा अग्लो स्थान सगरमाथा हो जसको उचाइ ८,८४८.८६ मिटर छ भने समुद्री सतहलाई आधार मानेर हेर्दा सबैभन्दा गहिरो ठाउँ मरियाना गर्त हो, जसको गहिराइ समुद्री सतहभन्दा १०,९११ मिटर छ। समुद्री सतहलाई आधार मानेर हेर्ने हो भने पृथ्वीको सबैभन्दा अग्लो ठाउँभन्दा सबैभन्दा गहिरो ठाउँ नै बढी गहिरो देखिन्छ।

पृथ्वीको संरचनाको विषयमा भौतिक तथा रासायनिक वैज्ञानिकहरूले पर्याप्त अध्ययन गरेका छन्। पृथ्वीको संरचनामा ३४.६ प्रतिशत आयरन, २९.५ प्रतिशत अक्सिजन, १५.२ प्रतिशत सिलिकन, १२.७ प्रतिशत म्याग्नेसियम, २०.४ प्रतिशत निकेल, १.७ प्रतिशत सल्फर तथा ०.०५ प्रतिशत टाइटेनियम र बाँकी अन्य तत्व रहेको वैज्ञानिकहरूको दाबी छ। सौर्यमण्डलका सबै सदस्यहरूमध्ये पृथ्वीको घनत्व बढी छ।
पृथ्वीको कुल सतह क्षेत्र लगभग १९.७ करोड वर्गमाइल रहेको मानिएको छ जसमा ७०.८ प्रतिशत अर्थात १३.९४३ करोड वर्ग माइल क्षेत्र समुद्रमुनि रहेको तथा जलले भरिएको छ। बाँकी २९.२ प्रतिशत क्षेत्र ५.७५१ करोड वर्ग माइल पानीभन्दा बाहिर छ। पानीभित्रको सतह र पानीबाहिरको जमीनको सतहमा निकै भिन्नता छ। पानी बाहिरको जमीन पहाड, रेगिस्तान, समतल मैदान, पठार तथा अन्य भूप्रकृतिमा बाँडिएको छ।

भूगर्भविद्हरूले पृथ्वीको आन्तरिक गर्मी अत्यधिक रहेको बताउने गरेका छन्। पृथ्वीको आन्तरिक केन्द्रको तापमान ६,००० डिग्री सेल्सियससम्म हुन सक्छ र दबाब ३६० जिपिएसम्म पुग्न सक्छ किनभने सबैभन्दा बढी गर्मी रेडियोधर्मी क्षयद्वारा उत्पन्न हुन्छ। वैज्ञानिकहरूले के मानेका छन् भने पृथ्वीको इतिहासको प्रारम्भमा कम वा आधा जीवनको समस्थानिक समाप्त हुनुभन्दा पहिले पृथ्वीमा गर्मी उत्पादन निकै बढी थियो।
पृथ्वीको वायुमण्डलको कुनै सीमा हुँदैन। वायुमण्डल आकाशतिर बिस्तारै पातलो हुँदै जान्छ र बाह्य अन्तरिक्षमा लुप्त हुन्छ। वायुमण्डलको द्रव्यमानको तीनचौथाई भाग सतहभन्दा ११ किलोमिटरभित्र सीमित छ। सबैभन्दा तल्लो सतहलाई ट्रोफोस्फियर हो। सूर्यको ऊर्जाबाट यो तात्तै जान्छ जसको कारण हावाको विस्तार हुन्छ। अनि कम घनत्व भएको वायु माथितिर जान्छ तथा चिसो र उच्च घनत्व वायुमा प्रतिस्थापित हुन्छ। यसको परिणामस्वरूप वायुमण्डलीय परिसञ्चरण बन्दछ जुन तापीय ऊर्जा पुनर्वितरणको माध्यमबाट मौसम र जलवायु चलायमान हुन्छ। हामी व्यवहारमा यो पाउँछौं कि तातो हावा माथितिर गइरहेको छ र जहाँ धेरै गर्मी हुन्छ, त्यहाँ चिसो हावा आउँछ।

सतहमा हुने वाष्पीकरणबाट उत्पन्न जल वाष्प परिसञ्चरण पद्धतिद्वारा वातावरणमा पुग्दछ। जब वायुमण्डलीय स्थितिको कारण तातो, आद्र्र हावा माथितिर जान्छ तब त्यो वाष्प सघन हुन गई वर्षाको रूपमा पुनः सतहमा आउँछ। अधिकांश पानी नदी प्रणालीद्वारा तलतिर जान्छ तथा सामान्यतया महासागर तथा तालहरूमा जम्मा हुन्छ। यो जलचक्र पृथ्वीमा जीवनको लागि निकै महत्वपूर्ण प्रक्रिया हो। यस जलचक्रलाई कतिपयले कालान्तरमा भूमिको सतहको क्षयीकरणको प्राथमिक कारणको रूपमा पनि लिएका छन्। यद्यपि वर्षा सबैतिर एकै किसिमले हुँदैन। वायुमण्डलीय परिसञ्चरण, स्थलाकृतिक विशेषता तथा तापमानमा आउने भिन्नता आदि अनेक कारकले प्रत्येक क्षेत्रमा हुने औसत वर्षालाई निर्धारण गर्दछ।

पृथ्वी दिवसको सन्दर्भमा तीन कुरा बुझ्नु अत्यधिक आवश्यक छ– जल, वायु र जीवन। सबै ग्रहमध्ये अति तीन विशिष्टता भएको पृथ्वीको जल र वायु दुवैमा अतिक्रमण बढेको छ। यसले गर्दा जीवनमाथि खतरा आउने सम्भावना बढ्दै गएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्