नारायणी अस्पतालमा सङ्क्रमितलाई आक्सिजनको अभाव, स्वाब सङ्कलन र खोप दिने कार्य एकै थलोबाट

66

प्रस, परवानीपुर, ८ वैशाख/
प्रदेश २ को एकमात्र महानगर वीरगंजमा कोरोना सङ्क्रमितको उपचारमा लापरवाही हुन थालेको छ।
देशको प्रमुख प्रवेशद्वार वीरगंजमा पछिल्लो समय दिन प्रतिदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढन थालेपछि उपचारमा पनि समस्या हुन थालेकोे चिकित्सकहरूले बताए। नारायणी अस्पतालमा कोरोना सङ्क्रमितलाई भर्ना गरी उपचार गर्ने प्रशासनले तयारी गरिरहेको छ। तर नारायणी अस्पतालले लक्षण भएका गम्भीर सङ्क्रमितको उपचारमा लापरवाही गरिरहेको पाइएको छ।

बुधवार बिहान नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारार्थ भर्ना रहेका सङ्क्रमितहरूलाई आक्सिजनको अभाव रहेको छ। नाम नबताउने एकजना चिकित्सकले सङ्क्रमितहरूलाई आक्सिजनको समस्या भएको बताए। उनले अस्पताल प्रशासन कोरोना सङ्क्रमितको उपचारमा जिम्मेवार नदेखिएको गुनासो गरे। अस्पताल प्रशासनलाई आक्सिजन जस्तो संवेदनशील कुराबारे जानकारी गराउँदा पनि आजभोलि भनेर टार्दै आएको उनले आरोप लगाए। उनले अस्पताल प्रशासन पहिलेको जस्तो जिम्मेवार नदेखिएको कारण उपचारमा चरम लापरवाही भइरहेको आरोप लगाए।

नारायणी अस्पतालको आकस्मिक र अब्जरभेसन कक्षका शøयाहरू अहिले भरिभराउ छन्। सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको र शøयाको अभावमा धेरै सङ्क्रमित भुइँमैं उपचार गराउन बाध्य छन्। घरमा बसेर उपचार गराउन सम्भव नभएको र कोरोनाले ग्रसित भएर अस्पतालमा भर्ना हुन बाध्य सङ्क्रमितहरू भुइँमैं ओछ्यान लगाएर उपचार गराउन बाध्य देखिएका हुन्। अब्जरभेसन कक्ष भरिराउ भएपछि कतिपय सङ्क्रमित पिसिआर पोजिटिभ रिपोर्टसहित आकस्मिक कक्षमा आउने गरेको चिकित्सकहरूले बताए। अस्पतालमा चरम लापरवाही बढेको छ।

सङ्क्रमितसँगै आकस्मिक कक्षमा शङ्कास्पद र अन्य रोगका बिरामीहरूलाई साथै राखेर उपचार गर्नुपर्ने बाध्यता सृजना भएको छ। नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले सङ्क्रमितको सङ्ख्या बढेकाले व्यवस्थापनमा समस्या भइरहेको स्वीकारे। उनले व्यवस्थापनका लागि पहल भइरहेको आश्वासन दिए। नारायणीमा अहिले ३० जना सङ्क्रमितको उपचार भइरहेको छ। उनीहरूमध्ये अधिकांश श्वासप्रश्वासको समस्याले ग्रसित छन्। अस्पतालका एकजना चिकित्सकले सङ्क्रमितमध्ये ८० प्रतिशतको स्वास्थ्य अवस्था खराब रहेको बताए।

कोेभिड सङ्कट व्यवस्थापन केन्द्रले कोरोना सङ्क्रमितहरूको लागि नेशनल मेडिकल कलेज कोरोना अस्पताल सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग पत्राचार गरेको भएपनि अहिलेसम्म स्वीकृति दिइएको छैन। त्यसैगरी, निजी अस्पतालहरूलाई शøयाको दश प्रतिशत कोरोना सङ्क्रमितको लागि व्यवस्थापन गर्न निर्देशन दिए पनि अहिलेसम्म निजी अस्पतालमध्ये नारायणी वयोधा अस्पतालमा मात्र सङ्क्रमितहरूको उपचार भइरहेको छ।

स्वाब र खोप एकै स्थानबाट
नारायणी अस्पतालमा पिसिआर परीक्षणका लागि स्वाब दिने र कोरोनाको दोस्रो चरणको खोप लिनेहरू एकै थलोमा लामबद्ध भएर स्वाब दिने र खोप लिने कार्य गरिरहेको पाइएको छ। अस्पतालको साझा औषधालयनजीकको प्रतीक्षालयमा स्वाब लिने र खोप दिने दुवै कार्य बुधवार गरिएको थियो।

मेसुको मोबाइल बन्द
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जय ठाकुरको मोबाइल बन्द छ। अस्पतालबाट एक्कासि काठमाडौं गएर पुनः लामो बसाइपछि फर्केका मेसु डा ठाकुर आएको चार/पाँच दिन भएको तर यो अवधिभर उनको मोबाइलको स्वीच अफ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्