ठोरीमा राममूर्ति स्थापनाको लागि शिलान्यास

76

प्रस, ठोरी, ८ वैशाख/
पर्साको ठोरी गाउँपालिका–२ मा ऐतिहासिक सीता गुफा परिसरमा मर्यादा पुरुषोत्तम रामको मूर्ति स्थापना हुने भएको छ।
चैते रामनवमीको अवसरमा आज बुधवार गुफा परिसरमा ठोरी गापाका अध्यक्ष पदमलाल श्रेष्ठले राममूर्तिको शिलान्यास गरे। सोही अवसरमा उनले गुफा परिसरमा हनुमानको प्रतीकस्वरूप झन्डा पनि स्थापना गरे।

शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले समाजमा विविध सोच भएका मानिसहरू रहने भएकाले सबैलाई नकारात्मक विचार छोडेर सकारात्मक सोच राख्न आग्रह गरे। उनले ठोरी गापालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन स्थानीय सरकारले काम गरिरहेको दाबी गरे।

यसै क्रममा टाउन बजारदेखि सीतागुफा जोड्ने झोलुङ्गे पुल निर्माणको प्रक्रिया शुरू भइसकेको उनले जानकारी गराए। ठोरीमा सबै धार्मिक मन्दिर, गुम्बा, चर्चको निर्माण र संरक्षणमा गापा समानरूपमा सहभागी हुँदै आएको र सीतागुफा परिसर संरक्षण र आकर्षक मन्दिर निर्माणका लागि पनि गापाले आगामी वर्ष बजेट विनियोजन उद्घोष गरे। उनले गापाले सीतागुफा परिसरमा राम मूर्ति स्थापना र तटबन्ध निर्माणको लागि चालू आर्थिक वर्ष २०७७/७८ मा रु १० लाख बजेट विनियोजन गरेको बताए।

प्रधानमन्त्री केपीशर्मा ओलीले भगवान् रामको जन्मभूमि ठोरी क्षेत्र भएकोे उद्घोष गरेलगत्तै ठोरीमा रहेको सीतागुफा चर्चामा आएको हो। बुधवार गुफा परिसरमा रामनवमीको अवसर पारेर पूजाअर्चना र भजन कीर्तनसहित रामनवमी पर्व मनाइएको आचार्य पण्डित चिरञ्जीवी सापकोटाले बताए। सयौंको सङ्ख्यामा उपस्थित श्रद्धालु भक्तजनहरूले पूजापाठ गरेको उनले जानकारी गराए। ठोरी गापाले सीता गुफा परिसरमा विभिन्न धार्मिक अवसर पारेर कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्