जहाँ गाउँ अझै गाउँकै रूपमा रहेको छ

58

सञ्जय मित्र

गाउँ भनेर कसैले भन्दछ भने कस्तो चित्र मस्तिष्कमा उभिन्छ होला ?
अहिले गाउँ पहिलेकोजस्तो छैन। गाउँमा धेरै परिवर्तन भएका छन्। गाउँ बदलिएको छ। यस्ता अभिव्यक्तिहरू आइरहन्छन्।
गाउँ अब पहिलेजस्तो गाउँ रहेन भन्नुको छाया अर्थ यदि यो हो कि गाउँमा परिवर्तन आउनुहुँदैन भने यो नकारात्मक विचार हो। गाउँलाई गाउँकै रूपमा राखेर पनि परिवर्तन गर्न सकिन्छ। यो आधुनिक विचार हो।
गाउँमा पनि सकारात्मक परिवर्तन चाहिन्छ नै। गाउँ भन्नासाथ बाटोघाटो नभएको, झुप्रामा मयल लुगा लगाएकाहरू बस्ने गरेका, अनपढ र अशिक्षित मानिसहरू, खेतीबाहेक अरू केही पनि नबुझेको आदि जस्तो चित्र अबको युगमा आउनुहुँदैन। गाउँमा पनि राम्रा, सफा र फराकिला बाटाहरू पुग्नुपर्दछ। बिजुली र खानेपानीको सुविधा पुग्नुपर्दछ। हरेकले सफा लुगा लगाएर मुस्कुराउँदो अनुहारसहित सुख र सन्तोषको सास लिन पाउनुपर्दछ। आधुनिकताबाट टाढा राखेर गाउँको कल्पना गर्नुहुँदैन किनभने जबसम्म गाउँहरू विकसित हुँदैनन्, तबसम्म देश विकसित हुन पाउँदैन।
यद्यपि कतिपय पुराना कुराहरूलाई गाउँले अझै पनि आफूसँगै राखेको छ।
गाउँतिरको घरमा अझै पनि कसै कसैले धानको झोंटी बनाएर झुन्ड्याएको देखिन्छ। धेरैले यो बिर्सिसकेका छन् तर अझै पनि झोंटीको अवशेष देख्न पाइन्छ।गाउँको घरमा मकै सुकाउने र लामो समयसम्म राख्ने आफ्नै किसिमको चलन रहेको छ। मकैलाई सधैं ताजा बनाइराख्ने तथा घाम र पानीबाट पनि जोगाएर राख्ने तरीका चाहिं घरकै बार्दलीलाई छेक्ने साधन रहेको छ। राम्ररी मिलाएर राख्ने हो भने सुहाउँछ पनि। बजारमा यस प्रकारले मकै राख्ने ठाउँ नै हुँदैन। यदि कथङ्कदाचित कोही राख्न खोज्दछ भने उही गाउँले, पाखेको विशेषण पाइहाल्ने रहेछ।
भकारी त बजारमा देख्नै पाइँदैन। गाउँमा अझै पनि भकारी विभिन्न किसिमका हुन्छन्। भकारीमा मुख्यतः धान नै राखिन्छ। गहुँ वा मकै जस्ता अन्नलाई भकारीमा राखिएको निकै कम सुनिन्छ। धेरै अन्न फलाउने किसानले भकारीमा भण्डारण गरेको अन्न लगभग एक वर्ष किन राख्दछन् भने अर्को वर्ष बाली कस्तो हुन्छ ? बाली राम्रो हुने देखेपछि बल्ल किसानले पुरानो धानलाई बेच्दै भकारी खाली पार्दछन्। अनिकालमा आफ्नो घरपरिवार नपरोस् र किनेर खान नपरोस् भन्ने चाहना किसानहरूको हुन्छ। जबकि शहरले सम्भव भएसम्म हरेक दिन किनेर खान खोज्दछ वा एक/दुई बोरा चामल किनेर ल्यायो अनि दैनिकी चलायो। एक/दुई बोरा चामल र अन्य सामल थन्क्याउन पनि सजिलो मान्दैन शहर बजारले।गाउँमा पनि डिस एन्टेनाहरू आकाशतिर हेरिरहेका छन्। समाचारपत्रको पहुँच गाउँमा नभए पनि एफएमहरूले भने गाउँको खबरलाई पु–याउने काम गरिरहेका छन्। कहिलेकाहीं गाउँको प्रगतिलाई टेलिभिजनहरूले पनि देखाउँदा गाउँ अझ खुशी हुने गरेको हुन्छ।
गाउँमा आत्मीयता अझै पनि मरेको छैन। राजनीतिक दलप्रतिको आग्रह, दुराग्रह शहरको भन्दा निकै बढी पाइन्छ। यसले गर्दा गाउँका को मानिस कुन नेता वा कुन दलका छन् भनेर सजिलै छुट्याउन सकिन्छ। यसलाई अझै कम गर्नु जरुरी छ। सम्भवतः यसै कारणले हुनुपर्छ कुनै पनि दलको कतै शहरमा कार्यक्रम हुँदा सजिलै गाउँबाट मानिस लैजान सकेका।
गाउँको सबैभन्दा ठूलो धर्म कृषि हो। कृषिमा गाउँ साँच्चै रमाएको देखिन्छ। कृषि र यससित सम्बन्धित कामले गाउँको मर्यादा बढाएको र बनाइराखेको छ अहिलेसम्म। एक अर्थमा भन्ने हो भने कृषि नै गाउँको सौन्दर्य हो।
वर्षा नभएको धेरै महीना बितिसकेकाले गाउँमा पनि धूलो निकै उडेको देखिन्छ। खेतहरूमा त्यत्ति हरियाली देखिंदैन तर मकै उब्जाउने क्षेत्रमा भने अहिले मकैको सौन्दर्यले खेत मुस्कुराइरहेको देखिन्छ। वर्षा नहुँदा गाउँको जनजीवनमा कसरी प्रभाव पर्दछ भन्ने कुरा अहिले अध्ययन गर्न पाइन्छ। जसले चैते धान रोपेका छन्, उनलाई रोग कीराले सताउने डर अहिलेदेखि सताउन थालेको छ। यदि अहिलेको जस्तै मौसम रहने हो भने धान तथा मकै दुवैको उब्जनी रोग र कीराले गर्दा प्रभावित हुने चिन्ता गाउँमा रहेको देखिन्छ। लामो समयसम्म पानी नपर्दा हरियो चरनको अभाव भएको र त्यसको कारणले गाईभैंसीले तुलनात्मकरूपमा दूध कम दिने गरेको गुनासो पनि किसानहरूको रहेको छ।
धेरै वर्षदेखि शहरमा बस्नेको लागि गाउँ अझै निकै रमाइलो छ। तर गाउँबाट शहर पलायन हुनेको लागि गाउँ नीरस बन्दो छ। शहरतर्फ आकर्षण बढ्दो छ। हरेक शिक्षितको आँखा शहरतिर नै पुगेको देखिन्छ।
के गाउँलाई नै सुविधासम्पन्न बनाउन सकिन्न ? अहिले प्रदूषणले शहरको जनजीवनलाई अत्यन्त नराम्ररी प्रभावित पारिरहेको सन्दर्भलाई विचार गर्ने हो भने गाउँप्रतिको प्रेम बढ्नुपर्ने हो। गाउँमा अझै खुल्ला वातावरण रहेको छ। सास लिन हावाको कमी गाउँमा महसूस हुँदैन। गाउँमा अझै पनि पुराना सम्झनाहरू बाँचेका छन्। शहरको तुलनामा गाउँमा अभाव त देखिएला तर सन्तोष र सुखको धन गाउँमा जति शहरमा कहाँ पाइएला ? शहरको अभाव र गाउँको अभावमा धेरै फरक छ। शहरमा एकछिन बिजुली जाँदा हाहाकार मच्दछ तर गाउँ अझै पनि ठूलो रूखको मुनि, बाँसको झ्याङमा र बगैंचामा शीतलताको अनुभूति गर्दछ।
हुनत शहर पनि हरेक दिन बदलिंदो छ तर गाउँ भने बदलिंदै गरेको गाउँ नै छ। जहाँ सुख छ, आनन्द छ र छ प्रकृतिको सुन्दर रूप।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्