विश्लेषण सही गरौं

0

कोरोनाले फेरि उपद्रो मचाउन थालेको छ। चीनबाट फैलिएको भनिएको कोरोना भाइरस (कोभिड–१९)ले हाम्रो मुलुकमा खासै क्षति पु–याउन सकेको थिएन। अन्य मुलुकमा जनधनको कहालीलाग्दो क्षति गरेको भएपनि यहाँ अनुमान गरिएभन्दा न्यून क्षति हुनुमा विभिन्न किसिमका तर्क गर्नेहरू छन्। कोरोनाविरुद्ध पर्याप्त तयारी गरेको कारण क्ष्Fति कम भएको भन्ने सरकार पक्षको तर्क छ भने मुलुकको वातावरण र यहाँका बासिन्दाको रोग प्रतिरोधात्मक क्षमताका कारण कोरोनाले खासै क्षति गर्न नसकेको भन्ने तर्क पनि छ। यस सम्बन्धमा तर्क–वितर्कहरू अनेक छन्। सही विश्लेषण, खोज, अनुसन्धानभन्दा पनि यहाँ एकले अर्काको तर्कलाई कसरी काट्न सकिन्छ भन्ने होड छ। अब फेरि नयाँ भेरिएन्टको कोरोना आएको छ। बेलायतबाट फैलिएको नयाँ कोरोना नेपालमा पनि भित्रिएको कुरा पुष्टि भइसकेको छ। बितेको सेप्टेम्बरमा बेलायतमा फेला परेको नयाँ कोरोनाको सङ्क्रमण गति पुरानो कोरोनाभन्दा ७० गुना बढी छ। यो पहिलेको भन्दा निकै घातक रहेको चिकित्सकहरूले बताएका छन्। कोरोनाले आप्mनो स्वरूप परिवर्तन गर्दै शक्तिशाली बन्दै जाने कुरा कोभिड–१९ को सुरुआतमा विज्ञहरूले पत्ता लगाएका थिए। छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको नयाँ स्वरूप यसअघि नै फेला परेको थियो। अन्यत्रको भन्दा फरक भाइरस भारतको तमिलनाडु र तेलङ्गानामा फैलिएपछि त्यसलाई ‘क्लेड ए ३ आई’ नाम दिइएको छ। तर यो बेलायतबाट फैलिएको जस्तो अति खतरनाक क्षमताको होइन।
संसारमा जति पनि रोगव्याधि तथा महामारीहरू आएका छन्, त्यो सधैंको लागि निर्मूल हुन सकेको छैन। न्यूनीकरण हुने हो। न्यूनीकरण गरिएको महामारी कुनै निहुँ पाएर वा अनुकूल वातावरण पाउने बित्तिकै पुनः प्रकोपको रूप लिने गरेको छ। दादुरा, मलेरिया, हैजा, सार्स, इबोलालगायतका महामारीहरू यही अवस्थामा छन्। कोरोना भाइरस रूप बदल्न सिपालु भएकोले मानवजातिलाई अरू महामारीले भन्दा यसले हायलकायल पारिरहेको छ। तथापि यसको विनाशको अवस्था सबैतर्फ एकनासको भने छैन।
उद्गमस्थल चीनको वुहानबाहेक अन्यत्र कोरोनाको सङ्क्रमण खासै देखिएन। उत्तरी छिमेकी मुलुक चीनबाट तेस्रो मुलुक हुँदै दक्षिणी छिमेकी मुलुक भारतबाट कोरोना नेपालमा प्रवेश गरेको मानिन्छ। हुनत अन्य मुलुकबाट हवाई मार्ग भएर आउनेहरूमा पनि सङ्क्रमण देखियो, तर त्यसलाई नियन्त्रण गर्न सम्भव थियो। खुला सीमाका कारण भारततर्फ जनस्तरमा आवतजावत अनियन्त्रित भएकोले त्यताबाट भित्रिने कोरोना सङ्क्रमणको अवस्था पनि अनियन्त्रित नै थियो। फेरि पनि कोभिड–१९ ले भारतमा जति क्षति नेपालमा गरेन। सङ्क्रमण नभएको होइन। सङ्क्रमणपछि आइसोलेशनमा बस्ने दर र मृत्युदर यहाँ न्यून रह्यो। हामीकहाँ जति जनको क्षति भयो, त्यसमा भाइरसको कारणले भन्दा पनि उपचारमा लापरवाही, आइसोलेशनको अव्यवस्था, समयमा औषधिको उपलब्धता हुन नसक्नुलगायत मुख्य कारक रहे। हिजोको हाम्रो सबल र दुर्बल पक्षबारे निष्पक्ष विश्लेषण जरुरी छ। अन्यत्रभन्दा यहाँ कोरोना कमजोर हुनुको कारणबारे अनुसन्धान जरुरी छ। सही निष्कर्षमा पुग्न सक्यौं भने सफलताको सूत्र पत्ता लाग्नेछ। जसबाट हामीले पुनः सोही उपाय अवलम्बन गरेर नयाँ किसिमको कोरानाबाट हुने क्षतिसमेत न्यूनीकरण गर्न सक्नेछौं।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here