अपराधीलाई चाँडै कानूनी दायरामा ल्याइने –कानूनमन्त्री यादव

56

प्रस, सिराहा, २ वैशाख/
प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले लहानमा भएको हत्या र लुटपाटमा दोषीलाई कडा कारबाई गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। हत्या गरिएका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माका परिवारजनलाई बिहीवार भेट गर्दै मन्त्री यादवले सो प्रतिबद्धता जनाएका हुन्।
बितेको शनिवार राति लुटेरा समूहको गोली प्रहारबाट सिराहाको लहान नगरपालिका–२२ निवासी सुनचाँदी व्यवसायी ४५ वर्षीय प्रदीप विश्वकर्माको ज्यान गएको थियो। मृतकका परिवारजनलाई उनीहरूको घरमा गएर भेटेका मन्त्री यादवले मृतकका परिवारलाई उचित क्षतिपूर्तिसमेत उपलब्ध गराउने बताएका छन्। “घटना असाध्यै ह्दयविदारक छ, घटनाका अपराधीलाई छिटोभन्दा छिटो कानूनी दायरामा ल्याइनेछ।” घटनामा संलग्न केही व्यक्ति पक्राउ परिसकेका र अन्य फरार अपराधीहरू छिट्टै पक्राउ पर्ने उनले बताएका छन्।
सो क्रममा मृतक विश्वकर्माका परिवारजनले तत्काल अपराधीलाई पक्राउ गरी कारबाई गर्न र क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन्।
परिवारमा कमाउने एकजना मात्रै रहेकोमा उनको पनि हत्या भएपछि उनका तीनजना छोराछोरीको लालनपालन बारे चिन्ता बढेको स्थानीय बासिन्दाले बताएका छन्। तीन बालबच्चाकी आमा पनि डकैत समूहको आक्रमणबाट घाइते छिन्। उनको उपचार चलिरहेको छ।
लहान नगरपालिका–२२ गढियाचोकमा अमृता ज्वेलर्स सञ्चालन गर्दै आएका विश्वकर्माको घरको ढोका फुटाएर लुटेरा समूहले सुनचाँदीका गरगहना र नगदसहित रु २५ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति लुटपाट गरेर लगेको छ। सो क्रममा गोली प्रहार गरी ज्वेलर्सका सञ्चालक विश्वकर्माको हत्या गरेको थियो भने उनकी पत्नी अमृता विश्वकर्मालाई समेत खुकुरी प्रहार गरी घाइते बनाएको छ।
हत्या र लुटपाटको सो घटना लगत्तै बितेको सोमवार साँझ लहान नगरपालिका–७ निवासी सुनचाँदी व्यवसायी राजेश शारडाको घरमा पनि लुटपाट भयो। पीडित शारडाको घरमा पनि बिहीवार पुगेका मन्त्री यादवले घटनाबारे जानकारी लिएका छन्। लुटेरा समूहले शारडाको परिवारका सदस्यहरूलाई हतियार देखाएर बन्धक बनाइ कारसहित गहना लुटेर लगेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्