हिन्दू नववर्षमा हिन्दू स्वयंसेवक सम्मेलन, हिन्दू राष्ट्र पुनस्र्थापनाको लागि एकताको खाँचो –वक्ताहरू

61

प्रस, वीरगंज, २८ चैत/
हिन्दू स्वयंसेवक सङ्घ पर्साले हिन्दू नववर्ष ५१२३ तथा राष्ट्रिय स्वयंसेवक सङ्घका संस्थापक अध्यक्ष सङ्घचालक डा केशवराव बलिराम हेडगेवारको जन्मजयन्ती मनाएको छ।
शनिवार वीरगंज श्रीपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय श्रीपुरमा सङ्घले हिन्दू स्वयंसेवक सम्मेलन तथा मार्चपास गरेर हिन्दू नववर्ष मनाएको छ। सम्मेलनमा हिन्दू स्वयंसेवक सङ्घका राष्ट्रिय सङ्घचालक हेम शर्माले विश्वमा हिन्दू संस्कृति जीवित रहेन भने विश्वलाई नै ठूलो क्षति पुग्ने बताए। “हिन्दू संस्कृति जीवित रहेन भने गैरहिन्दू समुदायले काफिर र शैतान भनेर हिन्दूलाई सिध्याउने काम गर्छ।”
“हिन्दू संस्कृतिले नै सबैको सम्मान गर्छ। हिन्दू संस्कृति विश्वमा मिनेट गनेर अगाडि बढिरहेको छ तर जुन देशमा हामी बसिरहेका छौं, त्यो देशमा हिन्दू राष्ट्र सम्मान कसैले गर्न सकेको छैन,” शर्माको भनाइ थियो। उनले हिन्दुत्वको लागि सबै पक्ष एक भएर लाग्नुपर्ने बताए। हिन्दू संस्कृति, संस्कार जोगाउन र नेपाललाई हिन्दू राष्ट्र कायम गराउनको लागि तन–मन–धनले समर्पित भई सङ्घले देखाएको बाटोमा हिंड्न उनले आग्रह गरे।
कार्यक्रममा वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले हिन्दू संस्कृति र राष्ट्र जोगाउन सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए। नगरप्रमुख सरावगीले भने, “हिन्दू शब्द कुनै वर्गविशेषको होइन, यसले एउटा संस्कृतिको प्रतिनिधित्व गर्छ, सर्वधर्मलाई स्वीकार्य गरी सबैलाई सम्मान गर्छ।”
सङ्घका विभाग सङ्घचालक अशोक बैदले शास्त्र हराए संस्कृति हराउने भन्दै संस्कार हराए राष्ट्र नै हराउने बताए। आफ्नो धर्म र संस्कृति जोगाउनको लागि हिन्दू नववर्ष मनाउन लागेको बैदको भनाइ थियो।
सभापश्चात् सङ्घका स्वयंसेवकहरूले वीरगंजमा मार्चपास गरेका थिए। पूर्ण गणवेष, हातमा दण्ड, बाजागाजाका साथ श्रीपुर स्कूलबाट शुरू भएको मार्चपास मुर्ली चोक, गोश्वारा रोड, रानीघाट, श्रीपुर हँुदै पुनः श्रीपुर स्कूलमा फर्किएर समापन गरिएको थियो। सङ्घका जिल्ला सङ्घचालक ललन द्विवेद्वीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सांसद प्रह्लाद गिरी, सङ्घका राष्ट्रिय प्रचारक वेदप्रकाशजी, सङ्घका जनकपुर संवाहक कार्यवाहक रञ्जीत साह, सङ्घका जिल्ला कार्यवाहक कृष्ण चौरसिया, विश्व हिन्दू परिषद्का महासचिव जीतेन्द्र सिंहलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्