ओलीले पार्टी सिध्याउन थाले –नेता नेपाल

77

प्रस, वीरगंज, २८ चैत/
नेकपा एमालेले कारबाई गरेर निष्कासन गरेको नेता माधवकुमार नेपालले आफू पक्षीय अगुवा कार्यकर्ता भेला शनिवार वीरगंजमा सम्पन्न गरेका छन्।
नेकपा एमालेको ब्यानरमा आयोजित कार्यक्रममा नेता नेपालले आफू पदका लागि नभई कम्युनिस्ट पार्टी बचाउन अघि सरेको जिकिर गरेका छन्। अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सिद्धान्त, सत्य र न्यायका लागि कार्यकर्तामाझमा आएको बताए। “कतिलाई लाग्दो हो, केपी ओलीको प्रधानमन्त्री पद खोस्न लागिपरेको छ,” उनले भने, “त्यसो होइन, उनी नै प्रधानमन्त्री बनून्, २० मतले हारेको अध्यक्ष पनि चाहिंदैन।” नेता नेपालले अघि थपे, “केपी ओलीसँगको लडाइँ सिद्वान्त, सत्य र न्यायका लागि हो। कम्युनिस्ट पार्टीलाई ओली र ओली प्रवृत्तिबाट बचाउनका लागि हो।”नवौं महाधिवेशनबाट ओली अध्यक्ष बनेपछि पार्टीमा समस्या आउन थालेको नेता नेपालको टिप्पणी थियो। पार्टी पदाधिकारी, केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटीमा अल्पमतमा परेका कारण ओली बैठक फेस गर्न नसकेर भाग्ने गरेको नेता नेपालको आरोप थियो। “राम्रो मान्छेले राम्रो मान्छे खोज्छ, साधुले साधुलाई नै रोज्छ। खराबले खराब मान्छे खोज्छ,” उनले भने, “केपी ओलीसँग कस्ता कस्ता मान्छे छन्, मैले भनिरहनुपर्दैन। पार्टीको विकासमा ओली नै बाधक छन्।”
आफ्नो समूहका जिल्लास्थित नेता, कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा नेता नेपालले सही विचार, सही पार्टी र सही नेतृत्व बनाउन र सिद्वान्तप्रति प्रतिबद्ध कार्यकर्ता बन्न उनले सुझाए।
कार्यक्रममा नेता घनश्याम भुसालले नेपालका कम्युनिस्टहरूले ७० वर्षसम्म गरेको त्याग, तपस्या, बलिदानलाई तहसनहस पार्ने काम ओलीले गरेको आरोप लगाए। “कम्युनिस्ट पार्टीको कुनै दिन बहुमतको सरकार हुन्छ, त्यो सरकारले मजदूर, किसान, मध्यम वर्ग, पेशाकर्मी, उद्योगी–व्यवसायीका समस्यालाई समाधान गर्दै देशको विकास गर्छ भन्ने आशा र विश्वास थियो,” उनले भने, “जनताले बहुमत दिए पनि केपी ओलीले तानातानीलाई निरन्तरता दिए।”
एमाले (माधव समूह) पर्साका संयोजक बालगोपाल थापाको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी गठन भएको छ।
कमिटीमा सुदीप लामा, विचारी यादव, प्रद्युम्न सेढाईं, शम्भु गुप्तालगायत १७५ जना सदस्य छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्