डढेलोका कारण एकजनाको मृत्यु

0

प्रस, मकवानपुर, २७ चैत/
मकवानपुर जिल्लाको क्षेत्रमा डढेलोका कारण चालू आर्थिक वर्षमा एकजनाको मृत्यु हुनुका साथै झन्डै चार करोड रूपैयाँबराबरको क्षति भएको छ । चालू आर्थिक वर्षको हालसम्ममा डढेलोबाट तीन करोड ७० लाख मूल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
साउनदेखि चैतसम्ममा जिल्लाका विभिन्न स्थानमा डढेलोबाट आगो सल्किंदा ३८ वटा घर जलेर नष्ट भएको छ। बितेको हप्ता डढेलोको कारण एकजना वृद्धाको मृत्यु भयो। छुट्टाछुट्टै स्थानमा पाँचजना घाइते भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
यस क्रममा डढेलोले तीनवटा पक्की घर ३५ वटा कच्ची घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार जङ्गलनजीकका विभिन्न बस्तीमा २३ वटा गोठसाथै ५० वटा बाख्रा चौपाया जलेर मरेका छन्। डढेलोको कारण मकवानपुरगढी खानेपानी तथा सिंचाइका पाइपमा क्षति पुगेको छ। पाइप जलेपछि उक्त क्षेत्रमा खानेपानीको समस्या भएको छ। बितेको मङ्गलवार मकवानपुरगढी गाउँपालिका वडा नं २ सानोगढीबाट शुरू भएको डढेलोले मकवानपुरगढी बृहत् खानेपानीको पाइप नष्ट भएको हो।
त्यसैगरी, प्रथम धवाडी सिंचाइ, माथिल्लो धवाडी सिंचाइ, धवाडी दोस्रो खानेपानी र धरमपानी खानेपानी आयोजनाका करीब चार सय मिटर पाइप जलेर नष्ट भएको खानेपानी उपभोक्ता समूहका सचिव इमनाथ तिमल्सिनाले जानकारी गराए। अप्ठ्यारो ठाउँ भएकाले आगो निभाउनसमेत समस्या रहेको उनको भनाइ छ।
मकवानपुरगढी बृहत् खानेपानी योजना अन्तर्गतका १५० मिटर पाइप पनि डढेलोले जलेर नष्ट भएको छ। पाइप नष्ट भएकाले गाउँपालिकाको वडा नं २, ३ र ४ का करीब दुर्ई हजार घरपरिवार खानेपानीबाट वञ्चित भएका छन्। पाइप नष्ट भएको स्थानमा नयाँ पाइप जडानका लागि प्रक्रिया अगाडि बढिसकेको उपभोक्ता समूहले जनाएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here