हुलाकी सडकको निर्माण गर्न निर्देशन, प्रधानमन्त्रीलाई भोलि भेट्दै ठोरीवासी

0

प्रस, ठोरी, २६ चैत/
ठोरी नागरिक समाजको समन्वयमा काठमाडौं गएको अधूरो हुलाकी सडक निर्माण सङ्घर्ष समिति र सर्वदलीय डेलिगेशनले बिहीवार वन तथा वातावरण मन्त्री प्रेम आलेसँग भेटघाट गरी ठोरीमा बाँकी रहेको हुलाकी सडक निर्माण कार्य तत्काल सुचारु गर्न अनुरोध गरेको छ ।
पर्सा–४ बाट प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्ण नेतृत्वमा ठोरीका आम नागरिकको टोलीले वनमन्त्री आलेसँग भेटघाट गरी हुलाकी सडक निर्माण अवरोधको समस्या राखेपछि छलफलकै क्रममा मन्त्री आलेले चितवन राष्ट्रिय निकुञ्जका वार्डेन अणनाथ बराललाई फोन गरी हुलाकी सडकको निर्माण प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिए ।
मन्त्री आलेको प्रश्नको जवाफ दिंदै वार्डेन बरालले अब तुरुन्त हुलाकी सडकको निर्माण प्रक्रिया अघि बढाउने बताए । हुलाकी सडक निर्माणमा अवरोधका रूपमा देखिएको चितवन राष्ट्रिय निकुञ्जको विषयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा समेत डेलिगेशनसहित छलफल भएको थियो ।छलफलको क्रममा विभागका निर्देशकले ठोरीमा अवरुद्ध हुलाकी सडकको निरीक्षण गरी निजी जग्गा रहेको ठाउँ भए तत्काल निर्माण कार्य अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे । ठोरीको डेलिगेशन टोलीले भोलि भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको जनाएको छ ।
डेलिगेशन टोलीमा सङ्घर्ष समितिका अध्यक्ष जगेन्द्र पौडेल, लालबहादुर श्रेष्ठ, सन्तोष श्रेष्ठ, तिलकबहादुर श्रेष्ठ, अमृत सापकोटा, गणेश श्रेष्ठ, प्रकाश खनाल, गणेश बोहोरा, मानबहादुर श्रेष्ठ, खगेन्द्र श्रेष्ठ, जरी लामा, हेम चापागाईं, रामकृष्ण पन्त, पदम श्रेष्ठ, मुन्ना श्रेष्ठ, चीनबहादुर श्रेष्ठ, हेमराज बमजनलगायतका टीम रहेको सङ्घर्ष समितिले जनाएको छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here