नेपाली महिलाका पीडा

215

श्रीमन्नारायण

नेपाली राजकुमारी भृकुटीको विवाह तिब्बतका राजा स्रङचङ गम्पोसित भएपश्चात् तिब्बत र नेपालबीचको सांस्कृतिक सम्बन्धले घनिष्ठता प्राप्त गरेको थियो। उत्तरी भेगका नेपालीहरू तथा तिब्बतीहरू बौद्ध धर्म संस्कृतिमाथि विश्वास राख्दै आएका कारण पनि तिब्बत र नेपालमा सांस्कृतिक समानता पाइन्थ्यो। तिब्बतको चीनमा विलय र माओको सांस्कृतिक क्रान्तिपश्चात् नेपाल र चीनमा पहिलेको जस्तो सांस्कृतिक घनिष्ठता र समानता कायम रहन सकेन। कतिपय नेपालीले भारत र नेपालबीच कायम वैवाहिक सम्बन्ध जस्तै नेपाल र चीनबीच पनि वैवाहिक सम्बन्ध कायम हुनुपर्ने माग गर्दै आएका छन्। वैवाहिक सम्बन्ध कायम हुनु नराम्रो होइन तर सनातन धर्मलाई मान्नेहरूले वैवाहिक सम्बन्धको उचाइ, गहिराइ र महत्वलाई जुन रूपमा बुझेका छन्, त्यस रूपमा भरसक चिनियाँहरू बुझ्न सक्दैनन्। रोजगारको प्रलोभन दिंदै म्यारिज भिसामा चीन पु–याइएकी केही नेपाली महिलाको नारकीय अवस्थालाई दृष्टिगत गर्दा चीनमा बिहे गरेर गएकी नेपाली महिलाहरूलाई त्यहाँ बच्चा जन्माउने मेशिनको रूपमा मात्रै प्रयोग गरिंदै आएको मान्नुपर्छ। राष्ट्रिय राजधानीबाट प्रकाशित एक दैनिकमा दुई महीनाअघि यस विषयमा विश्लेषणात्मक समाचार पनि प्रकाशित भएको थियो तर त्यस दिशामा हाम्रो ध्यान आकृष्ट भएन। पाकिस्तान, म्यानमा, बङ्गलादेश र भुटानबाट नक्कली बिहे गरी चीन पु–याइएकी युवतीहरूलाई बच्चा जन्माउने मेशिनसरह व्यवहार हुँदै आएको समाचार त पढिन्थ्यो तर अब आएर हाम्रो देशका चेलीबेटी पनि म्यारिज भिसामा चीन पुगेपछि त्यस्तै खाले नारकीय अवस्थाको सामना गर्नुपरिरहेको अवस्थालाई दुर्भाग्यपूर्ण नै मान्नुपर्दछ। नक्कली विवाह गरी युवतीहरूलाई चीन पु–याउने र बन्धक बनाएर श्रम र यौन शोषण गर्ने सक्रिय गिरोहमाथि नेपाल र चीन दुवै सरकारले कठोर कारबाई गर्नु आवश्यक छ।
नेपालले चाहेर पनि आफ्ना दुवै छिमेकी राष्ट्रसित समानतामा आधारित सम्बन्ध कायम राख्न सक्दैन। उत्तरी छिमेकी चीनसित हाम्रो भौगोलिक सिमाना अवश्य पनि जोडिएको छ तर त्यस क्षेत्रमा व्यापक भौगोलिक विकटता रहेको, नागरिक बसोबास पनि सा–है कम रहेको तथा विकास एवं रोजगारको सम्भावना पनि सा–है न्यून रहेको छ। तिब्बतको चीनमा विलय हुनुभन्दा अघिसम्म नेपाल र तिब्बतको बीचमा जुन गहिरो सांस्कृतिक सम्बन्ध थियो, त्यो अब छैन। चीनमा तिब्बतको विलय भएको पनि साढे ६ दशक भइसकेको छ। उत्तरी छिमेकी चीनसित हाम्रो कूटनीतिक सम्बन्ध राम्रो हुन सक्छ। नेपालमा कम्युनिस्ट पार्टीको प्रभाव महत्वपूर्ण देखिएका कारण नेपालका राजनीतिक दल र चीनका कम्युनिस्ट पार्टीबीच पनि राम्रो सम्बन्ध कायम हुन सक्छ, आर्थिक सम्बन्ध पनि हुन सक्छ तर दक्षिणी छिमेकी भारतको जस्तो गहिरो एवं बाक्लो सांस्कृतिक एवं सामाजिक सम्बन्ध हुन सक्दैन। एकैनासको खानपान, रहनसहन, जलवायु, साझा सभ्यता र संस्कृति, एउटै धार्मिक मान्यता, उपासना पद्धति एवं धर्मशास्त्रहरूसमेत एक रहेका कारण भारतसितको बहुआयामिक सम्बन्धसित विश्वका अरू कुनै पनि देशको तुलना नै हुन सक्दैन। सनातन धर्ममा विश्वास राख्नेहरूले वेद, पुराण, उपनिषद् एवं विभिन्न ऋषि–महर्षिहरूको अमृतवाणीलाई आत्मसात् गर्दै त्यसलाई आफ्नो जीवनको अभिन्न अङ्ग बनाएका छन्। सनातन धर्ममा विवाह भनेको दुई शरीरको मिलन मात्रै होइन, आत्माको मिलन हो, जुन एक जुनीसम्म मात्र होइन, सात जुनीसम्म कायम रहन्छ। सूर्य, चन्द्रमा, अग्नि, देवता, पृथ्वी, ग्रह–नक्षत्र आदिलाई साक्षी राखेर हिन्दूहरू वैवाहिक बन्धनमा बाँधिन्छन्। नेपाल र भारत दुवै देशका हामी सनातनीहरू यसै मान्यतालाई आत्मसात् गर्दै आएका छौं। तसर्थ भारतको जस्तो वैवाहिक सम्बन्ध चिनियाँहरूसित हुन सक्दैन। त्रेतायुगमा माता सीताको अपहरण भएपछि भगवान् रामले सकुशल उनलाई अयोध्या फिर्ता नल्याएसम्म शान्त बसेनन् तर आधुनिक युगमा केही नेपाली युवाले पैसाको लोभमा नेपाली चेलीबेटीहरूलाई विवाहको महत्व नबुझ्ने चिनियाँहरूसित बिहे गराइरहेका छन्। चीनमा नेपाली महिलाको तस्करी भइरहँदा अदालतमा समेत सहजै विवाह दर्ता हुने गरेको पाइन्छ। अदालतले सहजै विवाह दर्ता गरिदिएका कारण गिरोहलाई युवतीको तस्करी गर्न सहज भएको अनुसन्धानमा पनि बताइएको छ। अदालतमा विवाह दर्ताका लागि नेपाली युवकहरूलाई सम्बन्धित स्थानीय तहबाट अविवाहित रहेको सिफारिश अनिवार्य गरिएको छ तर विदेशीहरूको हकमा भने यस्तो सिफारिशसमेत अदालतले माग्ने गरेको छैन। यदि स्थानीय तहको सिफारिश यसमा पनि अनिवार्य गरियो भने धेरै हदसम्म यस्तो धन्दा रोकिन्छ। चीनमा नेपालबाहेक अन्य छिमेकी मुलुकहरू पाकिस्तान, म्यानमा, बङ्गलादेश र भुटानका युवतीलाई पनि बिहे गरेर ल्याइन्छ र कतिपयलाई प्रलोभनमा पारेर विवाह गर्ने प्रवृत्ति विकसित भएको छ। म्यारिज भिसामा चीन आउनेमाथि रोक लगाइनु आवश्यक देखिन्छ। कोभिड–१९ का कारण एक वर्षदेखि यस्ता गतिविधि भएका छैनन् तर यसको सम्भावना भने समाप्त भएको छैन।
नेपाललगायत मुलुकबाट युवती तस्करीको मुख्य कारण चीनमा पुरुषको तुलनामा महिलाको जनसङ्ख्या ज्यादै न्यून हुनु हो। अन्य मुलुकबाट महिला चीन पु–याउन मानव तस्करीको ठूलो गिरोह नै सक्रिय छ। चीनले लामो समय एक बच्चा मात्र जन्माउन पाउने नीति लियो, जसका कारण त्यहाँ महिलाको सङ्ख्या कम हुन गएको हो। सन् २०१५ देखि यस नीतिलाई हटाइएको छ। बिहेका नाममा महिला तस्करी गर्ने दुई दर्जन चिनियाँविरुद्ध गत वर्र्ष चीनमा पनि मुद्दा दायर गरिएको थियो। ह्युमन राइट वाचले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदन अनुसार कम्बोडिया, इन्डोनेसिया, भियतनाम, उत्तर कोरिया, लाओसलगायत देशबाट पनि चीनमा महिलाको तस्करी हुने गरेको छ। नेपालबाट पनि चीनमा बिहेको नाममा युवतीको तस्करी ७ वर्षअघि सार्वजनिक भएको थियो। नेपाल म्यारिज ब्युरोका सञ्चालकलाई पक्राउ पनि गरिएको थियो तर यिनीहरूको सञ्जाल ठूलो हुने गर्दछ। सम्भव भए म्यारिज भिसामा चीन जाने नीतिकै अन्त्य हुनुपर्दछ।
विगत केही वर्षयतादेखि पाकिस्तानीहरू पनि चिनियाँहरूको यस व्यवहारबाट हैरान छन् तथा त्यहाँ पनि मिडियाकर्मी एवं स्वतन्त्र विश्लेषकहरूले पाकिस्तानी चेलीबेटीको चिनियाँसित बिहे गरिने नीतिलाई बन्द गरिनुपर्ने माग उठाउँदै आएका छन्। तर यसका निम्ति चिनियाँहरूभन्दा बढी कठोर सजाय ती नेपाली दलालहरूलाई हुनुपर्दछ, जो चिनियाँ युवालाई आर्थिक प्रलोभनमा पारी नेपाल ल्याउने र बिहे गराइ चीन पु–याइ नेपाली चेलीबेटीहरूलाई नारकीय जीवन बिताउन बाध्य गरिरहेका छन्। अधिकांश घटनामा भाडाका बेहुला नै प्रयोग हुने गरेको पाइन्छ। विगतमा बिहे गरेर चीन पु–याइएकी युवतीलाई युवककै घरमा राखी यौन र श्रम शोषण हुन्थ्यो। पछिल्लो समय बच्चा जन्माउनका लागि मात्र लैजान थालिएको नयाँ तथ्य सामुन्ने आएको छ। एक अनुसन्धान अनुसार दुई सयभन्दा बढी नेपाली युवती जो चिनियाँ युवकसित बिहे गरेर गएका थिए, त्यहाँ पुगेपछि यौन शोषणदेखि बच्चा जन्माउनका लागि मात्रै तिनको प्रयोग भएको पाइन्छ। अन्य पुरुषसँग जबरजस्ती शारीरिक सम्पर्क राख्न लगाइ गर्भवती बनाइएकी एक महिलाले विच्याटमार्फत आफ्नो साथीलाई सूचित गरेपछि मात्रै नेपालमा सम्बन्धित निकायमा उजूरी गर्न सकिएको थियो। नेपाली चेलीबेटीलाई चिनियाँ केटासित बिहे हुने मान्यतालाई नै समाप्त गरिनुपर्छ। किनभने चीनसित हाम्रो सांस्कृतिक सम्बन्ध कहिल्यै सुमधुर र समानतामा आधारित हुन सक्दैन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्