सिमरा गोल्डकप प्रतियोगिताको तयारी पूरा

0

प्रस, निजगढ, २४ चैत/
देशकै चर्चित फूटबल प्रतियोगितामध्ये एक सिमरा गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जनाइएको छ। सो प्रतियोगिताको ११औं संस्करण चैत ३१ गतेदेखि शुरू हुने आयोजक नवजनजागृति युवा क्लब सिमराले मङ्गलवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।
१०औं सस्करणसम्म सिमरा गोल्डकपको नामले सञ्चालन गरिएको सो प्रतियोगितालाई यस वर्ष भने जीतपुरसिमरा गोल्डकप नामकरण गरिएको आयोजक संस्थाका अध्यक्ष रामचन्द्र लामाले पत्रकार सम्मेलनमा जानकारी दिए।
अखिल नेपाल फूटबल सङ्घ (एन्फा)को वार्षिक क्यालेन्डर अनुसार यो प्रतियोगिता चैत २० गतेदेखि शुरू हुनु पर्नेमा व्यवस्थापकीय तयारी हुन नसक्दा ढिला हुन गएको जनाउँदै प्रतियोगितामा सुरक्षाका सम्पूर्ण प्रबन्धसमेत मिलाइएको आयोजक संस्थाका महासचिव शम्भुसिंह ठकुरीले जानकारी गराए। रात्रिकालीन फूटबल खेल बारामा पहिलोपटकसमेत भएकोले फूटबलप्रेमी दर्शकहरूको सहभागिता उत्साहजनक हुनेमा आफूहरू आशावादी रहेको उनले बताए।यस वर्ष ‘ए’ डिभिजनका ६, आयोजक र अन्य गरी जम्मा १२ टीमवटा सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। यस वर्ष प्रतियोगिता साँझ हुने भएकोले खेल मैदानमा फ्लड लाइटसमेत जडान भइसकेको जानकारी गराइएको थियो। जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा हुने सो प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार नगद पुरस्कार, शिल्ड, कप, प्रमाणपत्र, मोटरसाइकललगायतका पुरस्कार पाउनेछन्। अन्य पोजिसनमा खेल्ने खेलाडीहरूलाई समेत न्यायोचित कप, प्रशंसापत्र, मेडल, नगद पुरस्कारको व्यवस्था रहेको प्रतियोगिता आयोजक संस्थाले जानकारी दिएको छ।
करीब रु ७० लाख ५५ हजार लागत अनुमान रहेको सो प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयाँ सहयोग गरी जीतपुरसिमरा उपमहानगरपालिका विशेष सहयोगी बनेको छ। त्यसैगरी, अन्य सहयोगीहरूमा क्याल ग्रुप अफ इन्डस्ट्रिज, सूर्य नेपाल प्रालि, जगदम्बा स्टील्स प्रालि, हुलास स्टील्स, क्लासिक इन्डस्ट्रिज, विश्वकर्मा सिमेन्ट प्रालि, होटल तथा पर्यटन व्यवसायी सङ्घ बारालगायत रहेका छन्।
पत्रकार सम्मेलनको सहजीकरण क्लबका महासचिव ठकुरीले गरेका थिए। कार्यक्रममा बाराका चार दर्जनभन्दा बढीको सङ्ख्यामा सञ्चारकर्मीहरूको सहभागिता थियो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here