प्रस, वीरगंज, २२ चैत/
अवैध वित्तीय कारोबार गर्नेहरू पक्राउ परे तापनि सजिलै रिहा हुने गरेका छन्। पर्सामा चालू आवमा गत साउनदेखि फागुन मसान्तसम्म हुन्डी कारोबारमा पक्राउ परेका १४ जनामध्ये १२ जना रिहा भइसकेका छन्।
पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले प्रहरीले पक्राउ गरेर अदालतमा मुद्दा दायर गर्दा पनि आर्थिक कसूरमा नेपालको कानून उदार (नरम) भएकोले प्रायःजसो अभियुक्तहरू धरौटीमा रिहा हुने गरेको बताए। उनले चालू आवको पछिल्लो ८ महीनामा ११ वटा मुद्दामा १४ जना पक्राउ पर्दा रु ५४ लाख ६९ हजार ६२० र भारु १२ हजार ६ सय बरामद भएको थियो। जसमध्ये दुईजना मात्र थुनामा छन् भने १२ जना रिहा भए।त्यसैगरी, गत आव २०७६/०७७ को १२ महीनामा २४ वटा हुन्डीसम्बन्धी मुद्दा दर्ता भएको थियो। जसमा २० जना नेपाली नागरिक र १८ जना विदेशी नागरिक पक्राउ परेका थिए भने रु १ करोड ८१ लाख ६२ हजार ९५ बरामद भएको थियो। त्यस्तै, एउटा घटनामा भारु १२ लाखसहित एकजना भारतीय पक्राउ परेका थिए।
यस विषयमा जिल्ला न्यायाधिवक्ता कार्यालय पर्साका सहायक जिल्ला न्यायाधिवक्ता दिपेशप्रसाद साहका अनुसार अवैध वित्तीय कारोबारको कसूरमा ५ वर्ष कैद वा बिगोको तीन गुना धरौटीको व्यवस्था रहेकोले कतिपय अभियुक्त धरौटी बुझाएर रिहा हुने गरेको बताए। उनले अवैध वित्तीय कारोबार अर्थात् हुन्डीको मुद्दा अदालतमा प्रमाणित गर्न चुनौतीपूर्ण हुने गरेकाले पक्राउ परे तापनि केही अभियुक्त मात्र थुनामा जाने गरेको बताए।