बारामा १२ जनामा हात्तीपाइले रोग भेटियो

0

प्रस, निजगढ, १० चैत/
राष्ट्रिय हात्तीपाइले रोग निवारणसम्बन्धी एक दिने पत्रकारहरूसँगको अन्तत्र्रिmया कार्यक्रम मङ्गलवार सम्पन्न भएको छ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाराका निमित्त प्रमुख रामनरेश यादवले हात्तीपाइले रोग लागिसकेपछि रोग दीर्घकालसम्म निर्मूल नहुने बताउँदै बरु रोग रोकथाम गर्न सकिने जानकारी दिए।
क्युलेक्स नामक लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भन्दै पानी जम्ने स्थान, फोहोरमैलामा यो लामखुट्टे रहने हुनाले त्यस्ता स्थानमा सो रोग बढ्न सक्ने अधिक सम्भावना रहने उनले बताए।बाराको महागढीमाई नगरपालिकाको वडा नं २ का ८ जना र वडा नं ५ का ४ जना गरी १२ जनामा डेढ महीनाअघि मात्रै हात्तीपाइले रोग फेला परेको जानकारी दिंदै बारामा यो रोग निर्मूल नभएको यसै घटनाले देखाएको उनको भनाइ थियो। करीब ३ सयजनाको रगत परीक्षण गर्दा १२ जनामा यो परजीवी रहेको बिरामी फेला परेपछि यसको सूक्ष्मरूपमा स्वास्थ्य सर्भे गर्ने तयारी गरिएको उनले जानकारी दिए। पहिले पहिले वृद्धवृद्धामा यो परजीवी भेटिए पनि अहिले १८–२० वर्षदेखि ३५–४० वर्ष उमेर समूहका व्यक्तिमा पनि पाइएको बताए। स्वास्थ्य सर्वेक्षण गर्दा कहींकतै छुटपुट हुन सक्छ। यस्तो बेलामा समयमैं सम्बन्धित स्वास्थ्यकर्मी तथा स्वास्थ्य कार्यालयमा जानकारी गराउनसमेत निमित्त प्रमुख यादवले आग्रह गरे।
यसको औषधि सेवन गर्दा शरीरमा परजीवी हुने व्यक्तिहरूलाई रिङ्गटा लाग्ने, बेहोश हुनेलगायतका लक्षणहरू देखा पर्न सक्छन् भने शरीरमा हात्तीपाइले रोगको परजीवी नहुने व्यक्तिहरूलाई कुनै असर देखा नपर्ने समेत उनले जानकारी दिए।
अन्तत्र्रिmयामा स्वास्थ्य कार्यालयका शङ्कर गुप्ताले प्रदेश २ को बारा जिल्लामा मात्र हात्तीपाइले रोग निवारणसम्बन्धी अभियान सञ्चालन हुन बाँकी रहेको बताए। उनले पर्साबाट शुरू भएको यो अभियान प्रदेश २ का सातवटै जिल्ला र देशभरिका ६३ वटा जिल्लामा सम्पन्न भएको जानकारी गराए।
गुप्ताले हात्तीपाइले रोगको औषधि दुई वर्षमुनि, सुत्केरी र सिकिस्त बिमारीबाहेक सबैलाई खुवाउने बताए। यो वर्ष हात्तीपाइलेको औषधि सम्बन्धित व्यक्तिलाई नै खुवाउने अभियान चलाइने उनले जानकारी गराए।
स्वास्थ्य कार्यालयका अमजद मिकरानीले हात्तीपाइले रोग सरुवा रोग भएको बताए। उनले यो रोगबाट अशक्त, असमर्थ र अपाङ्गसम्म हुन सक्ने जानकारी गराए। बारा जिल्लामा चैत २० गतेदेखि हात्तीपाइले रोगको औषधि खुवाउने हुनाले सबैलाई सो अभियानमा सक्रियतापूर्वक सहभागी हुन आग्रह गरे। उनले हात्तीपाइले रोगको औषधि खाली पेटमा नखान आग्रह गरे।
अन्तत्र्रिmया स्वास्थ्य कार्यालय बाराका निमित्त प्रमुख यादवको अध्यक्षता तथा बाराका पत्रकार सत्यप्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा ५० जनाभन्दा बढी पत्रकारको सहभागिता थियो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here