निजगढ खानेपानी संस्थाको साधारणसभा सम्पन्न

0

प्रस, निजगढ, ०७ चैत्र/
निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको शनिवार ७ औं साधारणसभा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि एवं निजगढ नगर प्रमुख सुरेशकुमार खनाल रहेका थिए।
प्रमुख अतिथि खनालले निजगढमा बस्ती विस्तार तीव्र गतिमा बढ्दै गएको बताउँदै खानेपानीको आपूर्तिलाई विशेष ध्यानमा राखी अघि बढ्नुपर्ने बताए। बर्सेनि तीन/चार सय पक्की घर थपिंदै छन्। त्यसै अनुपातमा जनसङ्ख्या पनि बढिरहेको छ। व्यवस्थितरूपमा खानेपानी घर–घरमा पु–याउन अहिलेदेखि नै योजना बनाएर अघि बढ्नुपर्छ। यसका लागि नगरपालिकाले खेल्नुपर्ने भूमिकामा आफू पछि नपर्ने उनले बताए।
कार्यक्रमकी विशिष्ट अतिथि एवं निजगढ नगर उपप्रमुख लीलादेवी लामिछानेले अबको आउँदो खानेपानी चुनौतीको सामना गर्नेगरी योजना बनाउनु आवश्यक भइसकेको उनले बताइन्। अहिले भएका संरचनाले आउँदो केही वर्ष थेग्न सक्छ। त्यसपछि यहाँ खानेपानीकै समस्या आउन सक्छ। वैकल्पिक उपायको खोजी गर्दै दीर्घकालीन योजना बनाउनसमेत उनले आग्रह गरिन्।स्वागत संस्थाका उपाध्यक्ष बेनीबहादुर मोक्तानले गरेका थिए। विभिन्न राजनीतिक दल, सङ्घसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूले मन्तव्य व्यक्त गरेका थिए। सो संस्थामा हालसम्म ४ हजार ७७९ उपभोक्ता, ४ हजार ७५९ निजी र २० सामुदायिक धारा छन्। जसमा तीनवटा पानीट्यांकी, ८ वटा बोरिङ र सातवटा पम्प हाउस छन्। हालसम्म १३० किलोमिटर पाइप लाइन विस्तार भइसकेको जनाएको छ।
अव्यवस्थित खानेपानी पाइप व्यवस्थित गर्ने, साना शहरीकरण खानेपानी योजना सञ्चालन गर्ने योजना रहेको जनाइएको छ। त्यसैगरी विद्युत् प्राधिकरणलाई ५५ लाख २६ हजार तिर्न बाँकी रहेको र ४३ लाख बक्यौता उठाउन बाँकी रहेको जनाइएको छ।
निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शन कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव महेश्वर अधिकारीले गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here