नारायणी अस्पतालका स्वास्थ्यकर्मीद्वारा जोखिम भत्ता माग

0

नितेश कर्ण, वीरगंज, ५ चैत/
नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले कोरोना सङ्क्रमणकालमा खटेबापत जोखिम भत्ताको माग गर्दै बिहीवार अस्पतालमा प्रदर्शन गरेका छन्। सरकारले कोरोना सङ्क्रमणको बेला खटेका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरूलाई जोखिम भत्ता दिने घोषणा गरे पनि सो अवधिमा खटेका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीले जोखिम भत्ता नपाएको भन्दै आज नारायणी अस्पतालमा प्रदर्शन गरेका हुन्।
गत साउनदेखि कात्तिकसम्मको जोखिम भत्ता दिनुपर्ने उनीहरूको माग थियो। अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले अहिलेसम्म जोखिम भत्ता नपाएकोमा गुनासो व्यक्त गरे। उनले आफूलगायत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरू कोरोनाको जोखिममा खटेको तर अहिलेसम्म सोबापतको जोखिम भत्ता नपाएको गुनासो गरे। उनले जोखिम भत्ता अविलम्ब उपलब्ध गराउनुपर्ने अन्यथा कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिए। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जय ठाकुरले आफूले पनि जोखिम भत्ता नपाएको र सो सम्बन्धमा प्रक्रिया अगाडि बढेको बताए। उनले अस्पताल विकास समितिका सदस्य सन्तोष पासवानको संयोजकत्वमा जोखिम भत्तासम्बन्धी समिति गठन भएको र सो समितिले प्रतिवेदन बुझाएपछि भत्ता उपलब्ध गराउने बताए। उनले कोरोनाकालको जोखिम भत्ता अस्पतालमा कार्यरत सबै चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी र प्रशासनिक कर्मचारीले मागदाबी गरेको तर सरकारले जोखिममा खटेकालाई मात्र भत्ता दिने नीति बनाएकोले अहिलेसम्म ढिलो भएको बताए।
जोखिम भत्ता समितिका संयोजक पासवानले आफूलाई यससम्बन्धी जिम्मेवारी १० दिनअगाडि दिइएको र सो सम्बन्धमा आज सरोकारवालाहरूसँग बैठक गरेकोमा यही मौका छोपी चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरूले प्रदर्शन गरेको बताए। उनले जोखिम भत्ता दिने कुरामा आफूहरू सकारात्मक भएको तर त्यतिखेर को को खटेका थिए भन्नेबारेमा यकीन तथ्याङ्क नभएकोले सो तथ्याङ्क तयार पारेर सोहीअनुरूप भत्ता वितरणको तयारी भइरहेको बताए।
नारायणी अस्पतालमा विकास समितिको समेत गरी करीब साढे तीन सय चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरू कार्यरत छन्। तिनीहरूमध्ये केही मात्र कोरोनाकालमा खटेका थिए तर सो अवधिमा कति कर्मचारी खटे र कतिलाई जोखिम भत्ता दिने भन्ने विषयमा अस्पतालसँग कुनै तथ्याङ्क छैन। अहिले समिति बनाएर सो बेला खटेकाहरूको तथ्याङ्क सङ्कलन गरिनुले पनि अस्पतालमा हुने गरेको लापरवाहीलाई प्रस्ट्याउँछ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here