प्रजातन्त्र सेनानी रामकृष्ण कार्कीलाई जय नेपालको श्रद्धा–सुमन

99

बालगोपाल थापा

आज सिमरा विमानस्थलमा अचानक एक दुःखद समाचारको अप्रत्याशित सामना गर्नुप–यो। समाचार भनेको २०७७ फागुन १७ गते वीरगंजको नारायणी अस्पतालमा बिहान करीब ५ बजे नेपाली काङ्ग्रेसका प्रजातन्त्र सेनानी रामकृष्ण कार्कीले यस भौतिकजगत्बाट बिदा लिनुभयो। मन चीसो भयो, उहाँ मेरा सहपाठी मित्र स्व भास्कर कार्की र दिवाकर कार्कीका पिता र मेरा आदरणीय काका हुनुहुन्थ्यो। उहाँप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु। पर्सा जिल्लाको राजनीतिक घटनाक्रमलाई खोतल्ने सन्दर्भमा केही वर्ष पहिले मैले उहाँलाई भेट्ने अवसर पाएको थिएँ। भेट्नलाई वीरगंज वडा नं ४ स्थित बिर्तामाई मन्दिरको नजीक उहाँको घरमा पुगें। आफूलाई छोराको मित्र भनी परिचय दिएँ। वास्तविकता पनि त्यही थियो। केही समय भलाकुसारी भयो। उहाँले आफ्नै हस्तलिखित पर्सा जिल्लाको राजनीतिक घटनापत्र, करीब ६ पानाको थियो, मलाई दिनुभयो, अध्ययन गर्न भन्नुभयो, त्यसलाई मैले फोटोकपी गरी एक प्रति मैले राखें र उहाँको सक्कल मूल लिखित उहाँलाई नै सुम्पें।
रामकृष्ण कार्कीको जन्म विसं १९८३ असार महीनामा वीरगंजको छपकैयामा भएको थियो। पिता कर्णबहादुर कार्की र माता बालकुमारी कार्कीको कोखबाट जन्मेका रामकृष्ण कार्की, साधारण लेखपढ गर्न जान्ने मात्र थिए। विसं २००३ देखि नै स्वस्फूर्त नै राजनीतिमा लागेको बताउने रामकृष्ण कार्कीकी जेठी पत्नी कृष्णकुमारी कार्कीको मृत्युपश्चात् दोस्री पत्नीको रूपमा राधा कार्की मृत्युपर्यन्तसम्म उहाँकी जीवनसङ्गिनी बन्नुभयो। विसं २००८ सम्म थोरै समयको लागि मात्र नेपाली काङ्ग्रेसप्रति सक्रिय राजनीतिमा होमिएका समर्पित तथा प्रतिबद्ध रामकृष्ण कार्की राजनीतिका सबै खाले विकृति तथा विसङ्गतिहरूबाट टाढा रहनुभएको थियो। रामकृष्ण कार्की तत्कालीन निरङ्कुश राणाशासनविरुद्धको सङ्घर्ष र क्रान्तिमा सक्रियताको साथ लागेबापत जेल तथा यातना भोगेका कठिन दिनहरूलाई सम्झिनुहुन्छ। २००७ सालको क्रान्ति तथा त्योभन्दा पनि पूर्वबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पु–याएबापत नेपाली काङ्ग्रेस पार्टीबाट “प्रजातन्त्र सेनानी” पदद्वारा विभूषित रामकृष्ण कार्की नेपाली काङ्ग्रेसकै ज्येष्ठ नागरिकसभाको केन्द्रीय सदस्यसमेत रहनुभएको थियो।
विसं २००३ मा वीरगंजमा सञ्चालित दि जुद्ध मैच फैक्ट्री (सलाई कारखाना)मा एक मजदूर मिस्त्रीको रूपमा जागीरे रामकृष्ण कार्कीले सोही सलाई कारखानामा त्यहाँ कार्यरत कारखाना मजदूरहरूलाई राजनीतिकरूपले सङ्गठित गरेको र सोको नेतृत्वसमेत गरेको सम्झिनुहुन्छ। कारखाना मजदूरहरूको तलबवृद्धिको माग राखी नौ दिनसम्म कारखाना बन्द–हडताल गरेको घटनालाई पनि सम्झिंदै भन्नुहुन्थ्यो– “वीरगंजको सलाई कारखानाको त्यो हडतालमा त्यति बेला विराटनगरको जुटमिलमा भएको हडतालको प्रभाव थियो। हडतालमा सबै मजदूर सङ्गठित र उनीहरूको पूर्ण सहयोग र साथ थियो। उक्त मिलका मालिक नारायणबहादुर चिपालु थिए। उनी दयालु स्वभावको भएकाले उनले हडताललाई दबाउने प्रयास भने गरेनन्। हडताल नौ दिनसम्म चल्यो, नौ दिनपछि कारखाना मालिकसँग वार्ता भयो, हाम्रो तलबवृद्धिको माग पूरा भई हडताल सफल भयो।”
राजनीतिक यात्राको आरम्भकालका दिनहरू सम्झँदै भन्नुहुन्थ्यो, “विसं २००३ मा वीरगंजनजीक छिमेकी मुलुक भारतीय सीमा शहर रक्सौलस्थित हजारीमल विद्यालयनजीक एउटा खपडावाला टहरो घर थियो। त्यस टहरोलाई नेपाली काङ्ग्रेसका निर्वासित नेताहरू आई आश्रय लिने, सङ्घर्ष र क्रान्तिको योजना बनाउने, राणाशासनविरुद्ध पम्प्लेट, पत्रपत्रिकाहरू नेपाल भिœयाउने केन्द्रको रूपमा प्रयोग गर्ने गर्दथे।” रामकृष्ण कार्की पनि त्यहाँ जाने र विभिन्न नेतासँग भेट्ने र राणाशासनविरुद्धका समाचार, पत्रपत्रिका, पम्प्लेटहरू गोप्यरूपमा सुरक्षित वीरगंज ल्याइ वितरण गर्ने कार्यसमेत गर्नुहुन्थ्यो। त्यति बेला उहाँसँग खेमप्रसाद पराजुली पनि रक्सौल जानुभएको र त्यहाँ प्रजातन्त्रवादी नेता प्रेम काँसाकारसँग भेट भएको सम्झिनुहुन्छ।राजनीतिक यात्राको क्रममा दुईपटक जेल परेको सम्झिनुहुन्छ। पहिलो २००५ सालमा, त्यति बेला वीरगंजको जेलमा ३ महीना र दोस्रोपटक काठमाडौंको जेलमा २००६ सालमा ३–४ महीना बिताउनुभएको थियो। जेलजीवनलाई सम्झँदै भन्नुहुन्थ्यो, “काठमाडौंको जेलमा बन्दीहरूसँग गाईवस्तुहरू र मगज बिग्रेका मानिसहरूलाई पनि सँगै राख्ने गरिन्थ्यो। काठमाडौंको जेलमा बस्दा गाईवस्तुहरू र बौलाहाहरूसँग बन्दी जीवन बिताउनु भनेको ठूलो शारीरिक यातना थियो। त्यति बेला मसँगै जेलजीवन बिताउने मित्रमा गोश्वारा रोड वीरगंजका शम्भुबहादुर श्रेष्ठ पनि थिए।”
विसं २००४, वीरगंजमा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को नेतृत्वमा राणाशासन विरोधी सत्याग्रह आन्दोलन भएको थियो। त्यस आन्दोलनमा मलगायत सहभागी हुने मित्रहरूमा फणिन्द्रराज शर्मा, ठाकुरकुमार श्रेष्ठ, खेमप्रसाद पराजुली, निरजी आदिहरू थिए। त्यो आन्दोलन वैशाख महीनामा भएको थियो र करीब २० देखि २५ दिनसम्म चलिरह्यो। ३–४ दिनपछि आन्दोलनको विरुद्धमा प्रहरीहरूद्वारा लाठी चार्ज भयो। धरपकड पनि भयो तापनि आन्दोलन रोकिएन, अन्त्यमा सबै आन्दोलनकारीलाई लहरी (ट्रक)मा लोड गरी रक्सौलनजीकको सीमास्थित श्रीसिया नदीको काठको पुलबाट तल फालेको घटनालाई पनि सम्झिनुहुन्छ। नेपाली काङ्ग्रेसको झन्डा बोकी पर्सा र बारा जिल्लाका विभिन्न गाउँ–गाउँमा पार्टीको प्रचारप्रसार गर्दै सङ्गठन निर्माण गर्नुभएको दिनलाई सम्झँदै भन्नुहुन्थ्यो– “त्यो राजनीतिक कार्यमा मित्र सुखीराम साह कानूले साथ दिएको र हामी फत्तेपुर सिक्री भन्ने गाउँसम्म पुगेका थियौं।”
विसं २००४ मा नेपालमैं पहिलोपटक नेपाली काङ्ग्रेसको कार्यालय किसुनजीको नेतृत्वमा रामकृष्ण कार्कीले वीरगंज बिर्ताको आफ्नै घरमा खोल्ने प्रयास गरेको तर त्यति बेला राणाशासनको दमनको कारण खोल्न नसकेको तथापि त्यति बेलाका सबै युवा मिली वीरगंजको घडीअर्वा पोखरीनजीक दक्षिणपट्टिको महावीर मन्दिरमा भेला भई गोप्यरूपमा नेपाली काङ्ग्रेसको सम्पर्क कार्यालय खोली पार्टी सञ्चालन गरेको घटना र दिनलाई महत्वपूर्ण दिनको रूपमा सम्झिनुहुन्छ।
विसं २००७ सालमा वीरगंज कारागारबाट जेल तोडी कैदीहरू भागेको र भाग्ने बन्दीहरूमध्ये भारतका प्रजातन्त्रवादी नेता सूर्यनारायण सिंह पनि पक्राउ परी वीरगंजको कारागारमा थिए। उनले पनि मुक्ति पाएको घटना सम्झिनुहुन्छ।
राणाशासनको समाप्तिपछि विसं २००८ मा सुवर्ण शमशेरको पालामा विधिवत्रूपमा नेपाली काङ्ग्रेसको कार्यालय खोलियो। सभापति तेजबहादुर अमात्य हुनुहुन्थ्यो भने त्यस कार्यालयको सचिवको रूपमा रामकृष्ण कार्कीले पार्टी र पर्सावासीको सेवा गर्नुभयो। विसं २००९ बाट उहाँले सक्रिय राजनीतिबाट बिदा लिनुभयो तर नेपाली काङ्ग्रेसको प्रतिबद्ध र समर्पित कार्यकर्ताको रूपमा बाँचुन्जेल स्थापित रहनुभयो। अन्त्यमा विसं २००९ देखि २०५८ सम्म वीरगंजमा सञ्चालित विभिन्न सिनेमाहल जस्तै कीर्ति सिनेमा हल, विद्या चलचित्र मन्दिर आदिको मेनेजर भई जिम्मेवारी सम्हाल्नुभयो। लामो समय मेनेजर भई काम गर्नुभएको आदरणीय रामकृष्ण कार्कीलाई उपनाम “मेनेजर साहेब”को नामले पनि जानिन्थ्यो वीरगंजमा।
रामकृष्ण कार्की आफ्नो लिखतम् राजनीतिक जीवनबारे भन्नुहुन्थ्यो– “म २००३ सालताका दि जुद्ध मैच फैक्ट्रीमा आउटर मेशिन (सलाईको काँटी भर्ने डिब्बा) चलाउने काम गर्दथें र रक्सौल हजारीमल हाइस्कूलअगाडि रोडदेखि पश्चिम लामो खपडाको टहरा थियो। त्यसै टहरामा राजनीतिक नेताहरूको डेरा थियो। त्यसबखत म आफ्ना साथीहरू बलरामप्रसाद उपाध्याय, रङ्गनाथ उपाध्याय, द्वारिकाप्रसाद, शम्भु श्रेष्ठ, जनकबहादुर राजभण्डारी, माधवलाल श्रेष्ठ आदिलाई भुटनदेवीको चौरमा जम्मा गरी रक्सौलबाट राजनीतिक नेतालाई बोलाइ एकतन्त्रीय जहानियाँ राणाशासनको विरोधमा सङ्गठित गर्ने गर्दथ्यौं। रक्सौलबाट पम्प्लेट (पर्चा) ल्याइ वीरगंज बजारमा छर्ने पनि गर्दथें। २००३ सालमा तलबवृद्धिको माग गरियो। तलबवृद्धिको माग पूरा नभएपछि ८–९ दिनसम्म फैक्ट्री हडताल पनि गराएको थिएँ।
हडतालपछि त्यस फैक्ट्रीको काम छाडी भवानीशङ्कर देउबाजेको पत्रिकाको एजेन्सी थियो। उहाँकै पत्रिका पनि वितरण गर्ने काम गर्न थालें। बनारसबाट प्रकाशित दैनिक पत्रिका “आज” र “संसार”, इलाहाबादबाट प्रकाशित अङ्ग्रेजी पत्रिका “नेशनल हेराल्ड” र पटनाबाट प्रकाशित “नवराष्ट्र” बिक्री वितरण गर्ने काम गर्न थालें। महीनावारी ग्राहकहरूको पत्रिकाभित्र एकतन्त्रीय राणाशासनविरुद्धको पम्पलेट राखी वितरण गर्ने गर्दथें।
यो २००३ सालैतिरैको कुरा हो, कहाँबाट श्री तेजबहादुर अमात्यज्यूले थाहा पाउनुभएको रहेछ र पत्रिका वितरण गर्ने सिलसिलामा म माईस्थान चोकमा पुगेको बेला, अमात्यज्यू, प्रिन्सिपल मोहनप्रसाद लाखे र भूपेन्द्रलाल नेपाली तीनजना हुनुहुन्थ्यो, मलाई बोलाउनुभयो र पत्रिकाको बारेमा सोधपूछ गर्नुभयो र उहाँहरूले हामी पनि तपाईंको साथमा छौं, तपाईं आफ्नो काम गर्दै गर्नुहोस् भनी मेरो हौसला बढाउनुभयो।
२००४ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेसको झन्डामुनि किसुनजीको नेतृत्वमा सत्याग्रह आन्दोलन भयो र त्यस आन्दोलनमा सक्रियरूपमा भाग लिएर आन्दोलन गरियो।
वीरगंजमा पार्टीको कार्यालय राख्ने भनी किसुनजीले भन्नुभयो। मेरो पूरै घर खाली थियो। मैले म आफ्नो घर पार्टी कार्यालयको लागि दिन्छु भनें र कार्यालय उद्घाटन गर्नका लागि किसुनजीसमेत पूरा जत्था उद्घाटन गर्न भनी आउँदा राणाशासनका कर्मचारीहरूले ढोकामा ताल्चा मारी आँगनमा कुुर्सी लगाइ सुब्बा इत्यादि कर्मचारीहरू बसिरहेका थिए र कार्यालय उद्घाटन गर्ने कार्यक्रम स्थगित भयो। किसुनजीसमेत सबै रक्सौल फर्केर गयौं।
सत्याग्रह आन्दोलन स्थगित भइसकेपछि राणाशासनविरुद्ध काङ्ग्रेसको प्रचारप्रसार गर्नका लागि किसुनजीले मेरो नेतृत्वमा तीनजना साथीसहित मलाई गाउँ–गाउँमा जानका लागि खटाइ पठाउनुभयो। हामी चारजना साथी नेपाली राष्ट्रिय काङ्ग्रेसको झन्डा बोकी धोरे गाउँदेखि झौवा, अलौं, केहुनिया, मधुवनी, झखरा मसिहानी, लहावर थकरी, नीतनपुर, भेडिहारी, हरपतगंज, प्रसौनी, सुगौली, पोखरिया, महुवन, सोलखपुर, फत्तेपुर, सेमरी फत्तेपुर, बकुलियाबाट जीतपुर हुँदै रक्सौल आइपुग्यो।
रक्सौल क्याम्पमा आइपुगेपछि किसुनजी अर्कै क्याम्पमा गइसक्नुभएको रहेछ। किसुनजीको बदलामा मुन्सी दयाशङ्कर आउनुभएको रहेछ।
त्यसपछि रेग्मीज्यूको नेपाली राष्ट्रिय काङ्ग्रेसको बनारस अधिवेशनमा सामेल हुन बनारस सँगै गई वीरगंज फर्किआएँ। वीरगंज आएपछि पक्राउ परियो र ६ महीना जति वीरगंज जेलको कष्टकर यातना सहनुप–यो। ६ महीनापछि कागज गराइ छोडेपछि जीवनयापनको लागि चियापानको दुकान गरी बसिरहेको समयमा २००५ सालतिर फेरि पक्राउ परें। पक्राउ पर्नेमा म र साथी शम्भु श्रेष्ठ दुवैजनालाई काठमाडौं चलान गरी पठायो र रातभरि सिंहदरबारको गारदमा राख्यो र भोलिपल्ट पुलिस गोश्वारा खोरमा (हनुमान ढोकाअगाडि) जाकिदियो। त्यो खोर कस्तो रहेछ भने गाई, भैंसी, बाख्रा, सुङ्गुर, बौलाहा मानिस र सद्दे मानिससमेतको खोर रहेछ। त्यस खोरमा कति कष्टकर जीवन भोग्नुप–यो होला बखान गरी न सक्नु थियो। ३–४ महीनापछि फेरि कागज गराइ छाड्यो र वीरगंज आई सलाई कारखानाको हेड मिस्त्रीको सहयोगले भारतको दरभङ्गामा सलाई कराखानामा एक/डेढ वर्ष जति काम गरी निर्वासित जीवन बिताउनुप–यो।
२००७ सालको क्रान्तिमा सामेल हुन फेरि वीरगंज आइपुगें र क्रान्तिको दोस्रो दिन रक्सौल जाने क्रममा सिगरेट फैक्ट्रीको भ्यानमा ड्राइभरको साइडपट्टि बाहिर गेटमा उभिई जान लाग्दा गाडी आफ्नै साइडपट्टि पल्टिन लागेको चाल पाई हाम फालेर ढुङ्गै–ढुङ्गैमा लड्न पुगेर अघिल्तिरको एउटा दाँत भाँचियो। छाती र घुँडामा चोट लागी घाइते मात्र भएर अकाल मृत्युबाट बाँच्न सफल भएँ। गेटभित्रको साथी द्वारिकाप्रसादको चाहिं चेपिएर त्यहीं मृत्यु भयो।
बन्दुकधारी सुरक्षागार्डसहित मेरो औषधोपचार गरियो। ६–७ दिनमा ठीक भएँ र परवानीपुर मोर्चातर्फ जान लाग्दा मोर्चा तोडेर राणाका फौजहरूले फाइरिङ गर्दै लखेट्दै आउन लागेको चाल पाई भागदौड हुँदा म पनि भागेर आफ्नो घर छाडी अरूको घरमा गई लुकीछिपी बसें। अब मेरो खोजतलाश हुन लागेको थाहा पाई लुकीछिपी बसिरहें। मेरो खोजतलाश गर्ने को थिए भने डोलेन्द्रबहादुर अमात्यका ससुरा सुब्बा बखतमान थिए। ४–५ दिनपछि घाँस काट्नेको भेष धारण गरी डेली र खुर्पी बोकी खेतैखेत घाँस काट्दै इनर्वा गाउँ हुँदै रक्सौल पुगें।
राणा र काङ्ग्रेसको संयुक्त सरकारको घोषणापछि रक्सौलबाट पार्टीका सम्पूर्ण कार्यकर्ता वीरगंज प्रवेश गरेका थियौं। तत्कालको लागि घडीअर्वा पोखरीदेखि दक्षिणपट्टिको मन्दिरमा सबै कार्यकर्ता बस्ने गरेका थियौं।
केही दिनपछि सुवर्णज्यूको बङ्गला अगाडि (पहिले गोश्वारा कार्यालय थियो) त्यसैमा काङ्ग्रेसको कार्यालय खोलियो। मन्त्री पशुपतिनाथ घोष र श्री तेजबहादुरज्यूको सभापतित्वमा म सचिवको रूपमा २००८ सालसम्म पार्टी सञ्चालन गर्ने कार्य गरेको थिएँ। २०१० सालताका श्री तेजबहादुरज्यूले बृजलाल केडियाको घरमा दुर्गा प्रेस खोली मेरो जिम्मामा प्रेस सञ्चालन गर्न दिनुभयो। वीरगंजमा एउटा मात्र प्रेस भएकोले प्रेस राम्रैसँग चलिरहेको थियो। २०१२ सालको कुरा हो, महावीर मन्दिरअगाडि विश्वेश्वर शर्माको घर थियो। आमा, बुबा र छोरासहित तीनैजनाको निर्मम हत्याकाण्डको विषयमा प्रेसले पम्प्लेट छापेको थियो। सोहीबारेमा नेपाली काङ्ग्रेसकै बडाहाकिम दिगम्बर झाले प्रेस बन्द गराइदिनुभयो।
त्यसपछि आफ्नो जीवनयापनको लागि सिनेमा हलको नोकरी गरेर जीवन निर्वाह गरियो। कति साथीहरू कोही अर्को पार्टीतिर लागे, कोही पञ्चायती व्यवस्थातर्फ लागे। म कतै नलागी आफ्नै पार्टीमा कटिबद्ध रहिरहेको छु। २०६२/०६३ सालको आन्दोलनमा एक दिन पनि नबिराएर आन्दोलनमा सामेल रही आन्दोलन गरियो। म आजसम्म पनि नेपाली काङ्ग्रेसप्रति प्रतिबद्ध रही सक्रिय कार्यकर्ता नै छु।”
जय नेपाल
रामकृष्ण कार्की, कर्मठ कार्यकर्ता
नेपाली काङ्ग्रेस, वीरगंज

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्