वीरगंज र पार्किङ समस्या

0

वीरगंजमा पार्किड्ढो समस्या यहाँका सडक–गल्लीहरू साँघुरा भएकोले मात्र भएको होइन। मानिसको मनोवृत्ति, ट्राफिक व्यवस्थापनमा जनशक्तिको कमी, लामो समयदेखि विभिन्न संरचनामा विकसित हुँदै आएको महानगरको दूरदृष्टि अभाव सबैको सङ्कलित दुष्प्रभाव हो, वीरगंजको पार्किङ समस्या। हुनत आजको युगमा जतिसुकै विकसित र फराकिलो किन नहोस्, विश्वको जुनसुकै शहर–बजार पार्किङ समस्याबाट ग्रस्त छ। फरक के मात्र भने अन्यत्र पार्किड्ढा लागि भएजति सबै उपाय गरेर सवारीसाधनहरू र मानिसको भीडमा नियन्त्रण गर्न नसकिएको अवस्था छ भने हामीकहाँ गर्न नचाहेर निम्तिएको अवस्था हो। शहरमा सार्वजनिक यातायातको वैज्ञानिक उपाय अवलम्बन गरिएको छैन। सार्वजनिक सवारीसाधनको प्रचुरता भयो भने मानिसलाई आफ्नै वाहन कुदाउन कर लाग्दैन। सार्वजनिक सवारीसाधन भनेर जे उपलब्ध छ, त्यसले थोरै मात्र सेवा पु–याएको र आफैंले पार्किङ अभाव पारेको छ। सानासाना यस्ता सवारीसाधनले मानिस थोरै बोक्ने तर जहाँतहीं भीड बढाउने काम गरेको छ। त्यसमाथि शहरभित्र टाँगा, ठेलाजस्ता साधन पनि प्रशस्त छन्, जसले गतिमान अवस्थामा पनि पार्किङ गरिएजस्तै समस्या बढाउँछ।
ठूला शहरहरू जसले लाख कोशिश गर्दा पनि सवारीसाधनलाई नियन्त्रण गर्न सक्दैनन्, पार्किड्ढा लागि सबै स्थान र उपाय भरिसकेका छन्, तिनले सार्वजनिक साधनहरू–नगरबस, मेट्रो, ट्राम, लोकल ट्रेन, फ्लाइओभर आदिआदि उपाय गरेका छन्। वीरगंजका लागि यी साधन उपलब्ध गराउनु अहिले आर्थिक अवस्थाले नै दिंदैन, र यस्तो व्यवस्था अँगाल्नुपर्छ भन्ने सोच पनि विकसित भएको छैन। देशको पहिलो राजमार्गको वरिपरि विकसित भएको यो शहरले सडक फराकिलो नपारी धर छैन भन्ने कुरा बुझेर पनि बुझ पचाएको छ। खासगरी जनसम्पर्कका कार्यालयहरू बैंक, सरकारी कार्यालय, ठूला व्यापारी प्रतिष्ठान, चल्तीका पसलहरू भएका भवनमा निजी पार्किङ व्यवस्था हुनैपर्ने सोच पनि विकसित हुन सकेको छैन। महानगरका तीन चौथाइ भवन नक्शापास नगरी निर्माण हुन्छन् भने भवन कुन उद्देश्यले बनाउन लागिएको हो, त्यसको आवश्यकता के के हुनुपर्छ भन्नेजस्ता मिहिन कुरा त कल्पनामा पनि आउन सकेको छैन। फेरि एउटा कुनै ठाउँ बढी चल्तीको भयो भने सबै कारोबार त्यसै स्थानमा हुनुपर्छ भन्ने सरकारी र निजी सोच पनि त्यत्तिकै व्याप्त छ। जसले गर्दा शहरका खासखास ठाउँमा विघ्न भीड र अन्यत्र सुनसान रहने गरेको छ।
अब पनि यी समस्याहरूबारे सोचिएन भने वीरगंज महानगर त के, शहर पनि होइन, एउटा असुविधाले भरिएको बस्तीबाहेक केही बन्न सक्नेछैन। यसमा खासगरी वीरगंजवासीले चासो लिनुपर्छ। वीरगंजमा सधैं बस्ने भनेकै यहींका नागरिक हुन्। शासक, प्रशासक, प्रहरी भनेका आउँछन्, जान्छन्। उनीहरूले आफू बस्दासम्म हेर्ने–गर्ने हो। तर देखिएको ठीक उल्टो छ। बाहिरबाट आउनेलाई वीरगंजको अव्यवस्था देख्दा खसखस लाग्छ, वीरगंजवासीलाई भने तातो न छारो। सबैभन्दा पहिले नागरिक तयार हुनुप–यो, उसले विभिन्न सम्बद्ध निकायमाथि दबाब सिर्जना गरेपछि शासक–प्रशासक गतिमान हुन्छन् र त्यसपछि बनेको विधान फलदायी हुन्छ। अन्यथा पार्किङ व्यवस्थापनका लागि पहिले धेरै प्रशासकले काम गरेकै हुन्, नागरिककै उदासीनताले लक्ष्य प्राप्त हुन सकेको छैन।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here