प्रस, परवानीपुर, २४ फागुन/
मकवानपुर–हेटौंडा भएर बगेको राप्ती खोलाबाट बाराको दुधौरा खोलासम्म पानी ल्याउन राप्ती–दुधौरा डाइभर्सन परियोजना विषयमा प्रदेश २ सरकारले अध्ययन शुरू गर्ने भएको छ।
प्रदेश २ मातहतको भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२२ अमलेखगंजको १ नं. पुलनजीकै रहेको पश्चिमपट्टीको डाँडा भएर राप्ती खोलाबाट डाइभर्सन बनाई दूधौरासम्म पानी ल्याउने योजना अगाडि बढाउन सकिन्छ भन्ने विषयमा अध्ययन अगाडि बढाउने जनाएको छ। यसै क्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री सोनल, प्रदेशसभा सदस्यहरू तथा बारा जिल्लाका जनप्रतिनिधिहरू र अमलेखगंजका अगुवाहरूले सो क्ष्Fेत्रको स्थलगत अनुगमन, निरीक्षण र छलफल पनि गरिसकेका छन्। मन्त्री सोनलले यो परियोजना प्रदेश २ को सपना भएको चर्चा गर्दै आगामी दिनमा डाइभर्सन बन्यो र राप्तीको पानी दुधौरा खोलासम्म आयो भने अमलेखगंजमा पर्यटकीय गन्तव्यको रूपमा वाटरपार्क निर्माण गर्न सकिने, अमलेखगंजमा वर्षौदेखि सिंचाइ र खानेपानीको अभाव टार्न सकिने र बिजुली उत्पादन गर्न सकिने तथा दुधौरा खोलाको पानीले बाराको कृषि क्षेत्रको सिंचाइमा योगदान दिन सकिने भएकोले यस विषयमा प्रदेश सरकारले गम्भीरतापूर्वक लागेको जानकारी गराए।
उनले भने, “प्रदेश सरकारले अब केही वर्षमै अध्ययन पूरा गरेर कति बजेट लाग्छ त्यस विषयमा दाता अथवा तीनवटै तहको सरकार मिलेर बजेट विनियोजन गरेर अघि बढ्ने छौं।” अनुगमन निरीक्ष्Fण टोलीमा सङ्घीय सांसद एकबाल मियाँ, पूर्व सभासद् मधु शाही, प्रदेशसभा सदस्य तथा बाराका नेताहरू पारस साह, ज्वाला साह, सुन्दर विश्वकर्मालगायत बाराका होटल व्यवसायीलगायतको सहभागिता रहेको मन्त्री सोनलका स्वकीय सचिव रमेश सर्राफले जानकारी गराए।