रक्सौलमा पेट्रोलियम पदार्थको चोरी बढ्यो

0

प्रस, रक्सौल, १९ फागुन/
रक्सौल बाइपास सडक र आइसिपी वरपरको क्षेत्रमा पेट्रोलियम पदार्थको चोरी बढेको छ। भारतका विभिन्न स्थानबाट लामो दूरी तय गरी नेपाल आउने मालवाहक भारतीय ट्रकहरूबाट अहिले डिजेल चोरी बढेको छ।
बाइपास र आइसिपी क्षेत्रमा हुने डिजेलको चोरीविरुद्ध चालकहरूले रक्सौलमा प्रदर्शन गरेका छन्। उनीहरूले भारतका विभिन्न क्षेत्रबाट लामो दूरी तय गरेर आउँदा कहींकतै ट्रकबाट डिजेलको चोरी नहुने तर रक्सौलमा आएपछि डिजेलको चोरी बढेको भन्दै प्रशासनविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरूले चोरीमा संलग्नहरूलाई पक्राउ गरी कारबाईको माग पनि गरे। एकजना ट्रकचालकले सडकखण्डमा लामबद्ध ट्रकहरूबाट दैनिक हजारौं लिटर डिजेल चोरी भइरहेको बताए। उनीहरूले आफ्नो गाडीबाट पनि अढाइसय लिटर डिजल चोरी भएको बताए। प्रदर्शनकारी चालकमध्ये जयकान्तले एकाबिहानैदेखि चोरी हुने गरेको बताए। चालकहरू सडकखण्डमा ट्रक राखेर बिहान नित्यक्रम गर्न गएको बेला चोरहरूले मौका छोपेर सो कार्य गरेको बताए। उनले ट्रक लामबद्ध रहने स्थानमा सुरक्षा व्यवस्था फितलो भएकोले चोरहरूले चोरी गर्न सकेको भन्दै सो स्थानमा सुरक्षा व्यवस्था कडा गर्न माग पनि गरे। चालक जयकान्तले डिजेल चोरीविरूद्ध आवाज उठाउँदा चोरहरूबाट कतिपय चालकहरू कुटपीटको शिकार भएको र त्यसमा प्रशासन मौन देखिएको भन्दै प्रदर्शनमा उत्रिनुपरेको बताए।
ट्रकचालक मनोहर पासवानले ट्रक सञ्चालकहरूले किलोमिटरको हिसाबले डिजेल उपलब्ध गराउने र चोरी हुँदा आफ्नो तलबभत्ताबाट कट्टा गर्ने हुँदा चालकहरू मर्कामा परेको बताए। उनले आफ्नो ट्रकबाट २ सय लिटर डिजेल चोरी भएको र थप डिजेल खरीद गर्ने पैसा नहुँदा समस्यामा परेको बताए। यस्तो समस्यामा पर्नेहरू थुप्रै चालकहरू भएको उनको बुझाइ छ। ट्रकचालकहरूले बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा सडक अवरूद्ध गरेका थिए। प्रदर्शनको क्रममा पनि प्रहरीहरू परिचालित भएनन्। अनुमण्डल प्रहरी अधिकारी आइपिएस सागर कुमारले डिजेल चोरीबारेमा आफूलाई भर्खरै थाहा भएको बताए। उनले अबका दिनमा चोरीका घटना हुन नदिन सम्बन्धित थाना अधिकारीहरूलाई निर्देशन गरेको र यसविरूद्ध प्रहरीले कडा कदम चाल्ने आश्वासन दिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here