दे दे राम दिला दे राम

0

कुमार रुपाखेती

जसरी राजा वीरेन्द्रको हत्यापछि सहज र सुलभ तरीकाले भारतीयहरूलाई नेपाली नागरिकता वितरण गरियो, ठीक त्यसैगरी अब नेपाल–भारतबीचका कतिपय गहमागहमी विषय सेलाउनेवाला छन्।
अदालतको फैसला आएको छ, संसद् पुनर्बहाली भएको छ। झन्डै दुई तिहाइ बहुमतको सरकार बेवारिसे र असफल भएको मुलुकमा छ्यासमिसे मिलीजुली सरकारले करामत देखाउनेवाला छ। छिट्टै मुलुकमा जनताले नपत्याएकाहरूको बाहुल्यता भएको सरकार बन्नेवाला छ। चुच्चे नक्शा, कालापानी, लिम्पियाधुरा सबै भारतले दाइजोमा पाउनेवाला छ। सौताको रिसले पोइको काख भिजाउने र चिट चोरेर कक्षामा उत्तीर्ण हुने विद्यार्थीझैं प्रचण्ड–माधवले अदालतको फैसलापछि मोतीचुरको लड्डु खाएको देख्दा मलाई मेरो स्कूले जीवनको सम्झना गरायो। सुन्दा नै अचम्म लाग्यो, अदालतको फैसलापछि नेपाल र भारतमा समेत लड्डु साटासाट भएछ। नेपालमा राजा महेन्द्रले भारतसँग दोस्तीको हात बढाउने तर नेपालमा भारतीय दबाब र प्रभाव घटाउने कार्य नबुझिंदो पाराले गर्दै आएका थिए। भनिन्छ, वर्तमान अवस्थामा अध्यक्ष ओलीले समेत राजाहरूकै बाटो पछ्याउँदै आएका थिए र चारोखाना चित्त पार्न खोजिए। माधव नेपाल प्रधानमन्त्री हुँदा विदेशी प्रभुको इसारामा प्रम भएको आरोप लगाउने प्रचण्ड र माधवको लगनगाँठो कति कसिलो होला, त्यो त भोलिपर्सि देखिहालिन्छ। दिल्लीमा भएको माओवादीको १२ बुँदे सम्झौता, मधेसकेन्द्रित मधेस आन्दोलन, ऐतिहासिक भनिने २०४६ /४७ को जनआन्दोलनको नाममा नेपालमा दबाबमूलक भूमिका खेल्ने क्षेत्र फराकिलो पार्दै आएको भारतले अब ओली सरकारलाई अपदस्थ गर्ने कार्यमा खुलेआम नाङ्गो नाच नाच्ने सम्भावनालाई नकार्न सकिंदैन। देखिहाल्नुभयो कथित रोगको बहानामा नेपालका पूर्वप्रधानमन्त्रीको अविराम भारत दौडाहा। कुनै पनि सरकारलाई आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्न नदिन यहाँ विदेशी शक्तिहरू दौडधूप गरिरहन्छन् र हाम्रा रावणका भाइ विभीषणहरूले मलजल गरिरहन्छन्। ओलीलाई बिचरा बनाउन (अपदस्थ गर्न) प्रचण्ड–माधव क्याम्पले मरिहत्ते गरेको सबैलाई थाहै छ। यो झुक्दै नझुक्ने नेपालको छोरो भनिने ओली आखिर राइछिया बनाइए। देर आए दुरुस्त आए भनेझैं ओली क्रमशः विदेशी चङ्गुलबाट मुक्त हुन खोज्दै थिए तर स्वदेशी–विदेशी षड्यन्त्रको अगाडि लाचार र विवश हुँदै बेइज्जतीपूर्ण तरीकाबाट पदबाट खुस्क्याइँदै छ।
अदालतको फैसला सबैले मान्नैपर्ने हुन्छ। तर एउटा गाँठीको कुरो के छ भने संसद् पुनस्र्थापना भएपछि पदको अंशबन्डा लगाउने नाममा सुविधा कुम्ल्याउने, खुशी पार्ने नाममा देशमा झनै ठूलो भद्रगोल र अविश्वासको वातावरण सृजना हुने देखिन्छ। रावणका सय टाउका झैं अहिलेदेखि नै घनटाउकेहरू सलबलाउन थालिसकेका छन्। पञ्चायतकालमा प्रम बन्न सूर्यबहादुर र लोकेन्द्रबहादुरको हानाथाप सबैलाई थाहै छ। तर जसले राजाको साथ पाउँथ्यो, ऊ पहिलो हुन्थ्यो। अहिलेको हानाथापमा त नाइके विदेशी हुन्छन्। पानीमें मछरी, नौ–नौ कुटिया भनेझैं कोही राष्ट्रपति, त कोही मन्त्री, प्रधानमन्त्रीको घोषणा भइसके। तर विदेशी नाइकेको ग्रीन सिग्नल नपाउन्जेल ‘न नौ मन तोरी होई ना राधा नाची’को अन्योल बकरार छ। भन्नेहरू त भन्छन्, भीरबाट ओली मात्र होइन मुलुक नै खस्ने खतरा बढेको छ। जनताको छोराले पाउने ठूलो पद भनिने राष्ट्रपति, प्रधानमन्त्रीका कुर्सी अब बोलकबोल र लीलाम बढाबढ अनि पिंजराको सुगाझैं देशीभन्दा विदेशी हँमा हँ मिलाउनेवालाले पड्काउँछ। ओलीलाई म दूधले धोएको मान्दिनँ, उनको उखान टुक्का र व्यङ्ग्यबाणले आगोमा घ्यू थपेकै हो, देश बनाउनभन्दा विरोधी तह लगाउन उनले समय र शक्ति खर्चे। अन्त्यमा आएर कुर्सीका लागि अलिअलि भारतलाई समेत चिल्लो घस्न थाले र अन्ततः थान्को लाग्ने अवस्थामा पुगे। अदालतको फैसलाले उत्साहित प्रचण्ड–माधवहरू अहिले आफ्नो र पराइ खुट्याउन थालेका छन्। गठजोडका लागि विभिन्न भेषभूषाधारीहरूसमक्ष लम्पसार हुन थालेका छन्। चाडपर्वमा मठ, मन्दिरअगाडि भीख माग्नेहरूको भीड ह्वात्तै बढेको हुन्छ। सरकार परिवर्तनपछि पद र कुर्सी माग्ने भिखारीहरूको सङ्ख्या ह्वात्तै बढने गरेको नेपाली इतिहास नै छ। ‘दे दे राम दिला दे राम’हरू सक्रिय भइसकेका छन्। पार्टी एकता गराउँछु, कुनै खेमामा खुल्दिनँ भन्ने वामदेव गौतमसमेतले ओलीलाई अर्ती, बुद्धि दिंदै प्रचण्ड–माधव खेमातिर नजीकिंदै दे दे राम दिला दे रामको लाइनमा छन्। महाभारतमा धनुषबाण चलाउन नपुग्ने गरी गुरु दक्षिणामा एक्लव्यको बूढी औंला लिएझैं पुनस्र्थापनापछि प्रधानमन्त्री पदमा दाबी नगर्ने भन्दै माधव नेपालले प्रचण्डसमक्ष्F औंठा छाप गरिसकेका छन्। आमसभाहरूमा मलाई प्रधानमन्त्री पदको लोभ छैन भन्ने प्रचण्डले माधव नेपाललाई पुच्छर लगाएर अस्ति देउवाको शरणमा पुगेर आफ्नो लोभीपापी चरित्र उदाङ्गो पारे। तर ओली खेमाबाट सहयोग पाउने आशामा देउवा पनि प्रधानमन्त्रीको रोलक्रममैं छन् अनि त उनले प्रचण्ड–माधवलाई टालमटोल कुरा गरेर फितर्F पठाइदिए। हाम्रा दुई प्रमुख छिमेकी मुलुकमध्ये ओली हट्दा भारत दङ्ग छ भने चीन चिन्तित देखिन्छ। नेपालको सन्दर्भमा सबैभन्दा डरलाग्दो कुरा यही हो। हाम्रो परिवर्तनमा किन विदेशीहरू दङ्ग र उदास पर्दछन्। प्रत्येक ससाना कुरामा हामी परजीवीसरह अरूको मुख ताक्ने, सहयोग माग्ने बानीले गर्दा विदेशीहरूले हामीलाई त्वम् शरणम् गराउन खोजिरहन्छन्।
सङ्क्षेपमा भन्ने हो भने वर्तमान परिवर्तन नियमित प्रक्रिया हो, अब रामेको ठाउँमा श्यामे मात्र आउने हो। रामे–श्यामेहरूले सदाझैं आफ्नै हित हेर्छन्। हामी निमुखा जनता त हिजो पनि बेसहारा आज पनि बेसहारा। दे दे राम दिला दे रामको लाइनमा बस्नेहरूलाई शुभकामना छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here