सडक बन्दैछ

0

सडक बनाउनु आज सबै पालिका र तिनका प्रतिनिधिहरूले प्रतिष्ठाको विषय बनाएका छन्। सडक बनाउनु यशको ठूलो कारण थियो, तर पुरानो युगमा। हिजोसम्म हिलो–धूलोले भरिएको पद्मरोडको जति चर्चा हुन्थ्यो, आज कालोपत्रे गरेर चिल्लो कारपेटिङ भएका सडकको त्यति चर्चा हुँदैन। हिजो सडकको आवश्यकता थियो। आज सडक प्रतिस्पर्धा र फुर्ती देखाउने साधन बनेको छ। यसो भनिरहँदा आज सडकको आवश्यकता छैन भन्ने होइन, अपितु अनावश्यकरूपमा सडक बनाउनु गलत हो। सडक त्यति मात्र बन्नुपर्छ, जति हामीलाई काम गर्न, कहीं आउनजान सरल होस्। सडकको हजार फाइदा होस् तर अनावश्यक सडकले मानिसलाई हानि नै पु–याउँछ। यो हानि हजार फाइदाभन्दा ठूलो हुन्छ। यो हानिको भरपाई गर्न सकिन्न। देशमा सङ्घीयता आएर, पालिकाहरूसँग आफूखुशी खर्च गर्न पाउने रकम भएपछि आफूले गरेको काम देखियोस् र तत्काल मानिसमा असर परोस् भनेर सडक र नाला निर्माण बन्ने गरेको छ। जबकि गाउँघरमा सडकभन्दा महत्वपूर्ण कृषि, स्वास्थ्य, शिक्षा, महिला र बाल अधिकार रहेका छन्।
हाम्रो देशको भूगोल सानो छ। यसै पनि देशको ठूलो भूभाग पहाड, खोलानाला, जङ्गलले भरिएको छ। जनसङ्ख्या दिन प्रतिदिन बढ्दो छ। बढ्दो जनसङ्ख्यालाई खाद्य सामग्री, आवास, स्वास्थ्य र पर्यावरणको आवश्यकता छ। खाद्यान्न, आवासका लागि जमीन नभई हुँदैन। जमीन मासियो भने भोलि उब्जनी केमा गर्ने ? पहाड फोडौं भने श्रमसाध्य छ, फोडिहाले पनि त्यो जग्गा उब्जाउ हुँदैन, बढीमा आवास बनाउन सकिएला, जङ्गल फाँडौं पर्यावरणमा प्रतिकूलता आउँछ। वातावरणीय असन्तुलन बढ्यो भने हाम्रो जीवन दुष्कर हुन्छ। कसैगरी पहाड फोड्यौं, जङ्गल मास्यौं, खोलानालालाई साँघुरो पा–यौं भने यसले आवासको पूर्ति त गर्ला, तर कृषि कर्म कहाँ गर्ने ? कृषि कर्मविना खाद्यान्न पाइँदैन, अनि खाद्यान्नविनाको आवास कसले रोज्छ ? पहाड फोर्नुको अर्को हानि भूसंरचनामा खलल पुगेर भूकम्प, पहिरो जाने समस्या उत्पन्न हुन्छ। आज सडक बनाउने नाउँमा समथर भूमिको उर्वर जग्गा र पहाड मास्ने काम भइरहेको छ। यसबाट सडकले दिने लाभ र हुने हानिको आकलन कसले गर्ने ? पालिकाहरू वातावरणीय मूल्याङ्कन गर्न दक्ष छैनन्। यसको निगरानी सरकारले नै गर्नुपर्छ।
सडक विस्तारले भूमण्डलको दोहोरो तापक्रम बढाउने काम गर्छ। सडक आफैं तातो भएर वातावरणमा गर्मी निष्काशित गर्छ भने जति बढी सडक त्यति बढी सवारीसाधन गुडेर त्यसबाट निस्केका धूवाँले प्रदूषणका साथै तापक्रम बढाउने काम गर्छ। यस प्राणीजगत्मा मानिस मात्र यस्तो प्राणी हो, जसले आफ्नो र अरू प्राणीबारे सोच्न सक्छ। प्रकृतिको नियम पनि सन्तुलनमा आधारित छ। जड र चेतनबीच सामञ्जस्य भएन भने असन्तुलन उत्पन्न हुन्छ। चेतन पनि दुई प्रकार छ, चर र अचर। चर हिंड्डुल गर्न सक्ने प्राणी हो भने अचर भनेको वनस्पति हो। यिनमा असन्तुलन आउनु नै वैश्विक तापक्रम बढ्नु, मौसममा गडबडी उत्पन्न हुनु हो। यसर्थ प्राकृतिक सन्तुलन पनि कायम रहोस् र मानिसको आवश्यकता पनि पूरा होस् भन्ने विचारले योजना निर्धारण गर्नु आवश्यक छ। सडक यत्ति मात्र बनोस् कि टाढा आउनजान सजिलो होस्, श्रमसाध्य कामका लागि सडक अनावश्यक नै हो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here