गोतामे पत्रकारिता स्वर्ण पदक पत्रकार चित्राङ्ग थापालाई प्रदान

0

प्रस, वीरगंज, २ फागुन/
स्व गोपालचन्द्र गौतमको स्मृतिमा स्थापित पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले प्रदान गर्दै आएको गोतामे पत्रकारिता स्वर्ण पदक–२०७७ सुदूरपश्चिमका पत्रकार चित्राङ्ग थापालाई आइतवार कार्यक्रमको आयोजना गरी प्रदान गरिएको छ।
वरिष्ठ समाजसेवी एवं रूँगटा वेलफेयर सोसाइटीका संयोजक मुरलीधर रूँगटाले पत्रकार थापालाई गोतामे पत्रकारिता स्वर्ण पदक प्रदान गरेका थिए।
कार्यक्रममा संविधानसभा सदस्य अजयकुमार द्विवेदीले स्व पत्रकार गोतामेले देखाएको पथमा पत्रकारहरूलाई हिंड्न सुझाव दिए। उनले चटपटे किसिमबाट समाचार सम्प्रेषण गर्ने जमातले शान्त, शालीन र समाजप्रति उत्तरदायी भएर पत्रकारिता गर्नको लागि स्व गोतामेको सिको गर्नुपर्ने सुझाव दिए। प्रतिकूल समयमा स्व गोतामेले वीरगंजको पत्रकारितालाई देशभरिमा चिनाएको उनले बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश २ का अध्यक्ष गणेश लाठले गोतामे पत्रकारिता पुरस्कारलाई निरन्तरता दिंदै आएकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरे। उनले यो अभियानमा आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।
नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चFैहानले स्व गोतामेले मूल्यनिष्ठ पत्रकारिता गरेर समाजमा पत्रकारितालाई मर्यादित बनाएको बताए।
नेपाल प्रेस युनियनका महासचिव अजयबाबू शिवाकोटीले स्व गोतामे पत्रकारिता स्वर्ण पदक पुरस्कार सुदूरपश्चिमका नामधारी पत्रकारलाई प्रदान गरिएकोमा खुशी व्यक्त गरे। उनले जसको नाममा पदक प्रदान गरिएको छ र अहिले पदक लिने व्यक्ति पनि सुदूरपश्चिमको चिरपरिचित पत्रकार भएको बताए। मोफसलबाट वीरगंजले स्वर्ण पदक पुरस्कार प्रदान गर्दै आएको र उपत्यकाबाहेक देशभरिका चुनिन्दा पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएकोमा सराहना गरे।
नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य महेश दासले उपत्यकाबाहिर प्रदान गरिने यो पुरस्कार आफैंमा सर्वोत्कृष्ट रहेको बताए। पत्रकारिताको माध्यमबाट समाजमा आफ्नो पृथक पहिचान बनाउन सफल पत्रकारलाई प्रतिष्ठानले पुरस्कृत गर्दै आएको उनले जानकारी गराए।
स्व गोतामेकी पत्नी शोभा गौतमले कठिन समयमा पतिले गरेको पत्रकारिताको स्मरण गराइन्। विभिन्न चरणमा राज्यले पत्रिका प्रतिबन्ध गर्दा पनि भारतबाट समेत पत्रिका प्रकाशन गरेर यो क्षेत्रमा पतिले योगदान पु–याएको चर्चा गरिन्।
प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्ष्Fतामा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य शिव पटेल, निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, समाजसेवी पशुपति विक्रम शाहलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोरले स्वागत र सदस्य श्याम बन्जाराले सहजीकरण गरेका थिए।
यो पुरस्कार शुभारम्भमा रु १० हजार राशिबाट शुरू भएको र वृद्धि हुँदै दशौंपटकमा एक तोला सुनमा परिणत भएको प्रतिष्ठानका सचिव केसी लामिछानेले बताए। पछिल्लो चरणमा एक तोला सुनको पदक तीनजनालाई प्रदान गरिसकिएको छ।
यसअघि यो पुरस्कारबाट मकवानपुरका पत्रकार प्रताप विष्ट, विराटनगरका पत्रकार मोहन भण्डारी, बुटवलका पत्रकार डिआर घिमिरे, राजविराजका पत्रकार शिवहरि भट्टराई, झापाका पत्रकार स्व मदन ढकाल, पाल्पाका पत्रकार मेघराज शर्मा, सप्तरी (कञ्चनरूप)का पत्रकार भोला पासवान, भैरहवाका पत्रकार अर्जुन ज्ञवाली, झापाका पत्रकार केशव आचार्यले प्राप्त गरिसकेका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here