हिउँमा सुमो चिप्लिएर एकजनाको मृत्यु, नौजना घाइते

0

प्रस, मकवानपुर, २५ माघ/
शनिवार राति मकवानपुरको भीमफेदी गाउँपालिका गोलमोडमा हिउँमा चिप्लिएर टाटासुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
काठमाडौंबाट पालुङ हुँदै वीरगंजतर्फ आइरहेको ना.१ज ४१३८ नम्बरको टाटासुमो हिउँमा चिप्लिएर खसेको थियो। दुर्घटनामा घाइते सप्तरी जिल्ला, बनौली गाउँँपालिका वडा नं २ का ३३ वर्षीय प्रमाण्डु चौधरीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घनामा गम्भीर घाइते हुनेमा वीरगंज महानगरपालिका वडा नं १३ का ३० वर्षीय मनोज साह, उनकी पत्नी २६ वर्षीया पूनमकुमारी गुप्ता, बारा गढीमाई–१० निवासी ३२ वर्षीय प्रदीपकुमार साह र सर्लाही अभिलाषी–७ का ३२ वर्षीय मधुकर यादव छन्। उनीहरूको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको र अरू सामान्य घाइते भएकाहरू उपचारपछि घर गइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
हेटौंडा–काठमाडौं चल्ने छोटो मार्ग भीमफेदी–कुलेखानी सडकखण्ड स्तरोन्नति भइरहेकोले माघ १० गतेदेखि बन्द रहेको कारण सवारीसाधन त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here