द्रोण पर्व–३०

0

उमाशङ्कर द्विवेदी

एकचोटि राजाको छेउमा वनस्पति, पर्वत, देउता, असुर, मानिस, सर्प, सप्तर्षि, यक्ष, गन्धर्व, अप्सरा तथा पितरहरूले गएर भने– महाराज, तपाईं नै हाम्रो सम्राट हो, तपाईंले नै हामीलाई कष्टबाट बचाउनुहुन्छ तथा तपाईं नै हाम्रो राजा, रक्षक र पिता हो। तपाईंले हामीलाई अभीष्ट वरदान दिनुहोस्, जसबाट अनन्तकालसम्म हामीहरूले तृप्ति र सुखको अनुभव गरौं। उनीहरूको यस्तो कुरा सुनेर राजाले भने– यस्तै हुनेछ।
तदन्तर, राजा पृथुले नाना प्रकारका यज्ञ गरे र मनोवाञ्छित भोग सामग्रीद्वारा समस्त प्राणीका कामनाहरू पूर्ण गरेर उनीहरूलाई तृप्त पारे। पृथ्वीमाथि जुन पदार्थहरू छन्, त्यसकै आकारको सुवर्णको पदार्थ बनाएर राजाले अश्वमेध यज्ञ गरेर ब्राह्मणहरूलाई दानमा दिए। उनले छयासट्ठी हजार सुनका हात्ती बनाएर ब्राह्मणहरूलाई दानमा दिए। सुनको पृथ्वी पनि बनाएर त्यसलाई मणिबाट विभूषित गरेर दान गरिदिए। सृञ्जय, उनी पनि तिमी र तिम्रा छोराभन्दा श्रेष्ठ थिए। उनीहरू मरेपछि पनि तिमीले आफ्नो पुत्रको शोक गर्नु असल होइन, गर्नुहँुदैन।
योगी, निष्काम भावले यज्ञ गर्ने र तपस्वी पुरुषले जुन गति पाउँछन्, तिम्रो पुत्रले पनि त्यही गति प्राप्त गरेको छ। अभिमन्यु चन्द्रमाको स्वरूप प्राप्त गरेको छ, त्यस वीरले आफ्नो अमृतमयी किरणबाट प्रकाशमान् भइरहेको छ, उसको लागि शोक गर्नु उचित छैन। यस प्रकार तिमीले सोचविचार गरेर धैर्य धारण गर। शोक गर्नाले दुःख झन् बढ्दछ, त्यसैले बुद्धिमान् पुरुषले शोकको त्याग गरेर आफ्नो कल्याणको लागि प्रयत्न गर्नुपर्दछ। तिमीले मृत्युको उत्पत्तिको कारण र त्यसको अनुपम तपस्याको कुरा सुनेकै छौ। मृत्युको लागि सबै प्राणी एक समान छन्। ऐश्वर्य चञ्चला हो। त्यसैले राजा युधिष्ठिर, अब तिमीले शोक न गर। यति भनेर भगवान् व्यास त्यहाँबाट अन्तर्धान भए। तदन्तर, राजा युधिष्ठिरले प्राचीन राजाहरूको यज्ञसम्पत्तिको बारेमा सुनेर मनैमन उनको प्रशंसा गरे र शोकको त्याग गरे, फेरि यो सोचेर कि ‘अर्जुनसित मैले के भन्ने ?’ चिन्तामा परे।
सञ्जयले भने– महाराज, त्यस दिन सूर्य नारायण अस्त भएपछि प्राणीहरूको घोर संहार थामियो तथा सबै सैनिक आआफ्नो छाउनीतिर जान थाले, त्यसै बेला अर्जुन पनि आफ्नो दिव्य अस्त्रहरूबाट संशप्तकहरूको वध गरेर रथमाथि सवार भई शिविरतिर लागे। हिंड्दा–हिंड्दै उनले श्रीकृष्णसित भने– हे केशव, किन हो कुन्नि आज मेरो मुटुमा ढ्याङ्ग्रो ठोकिरहेको छ, सम्पूर्ण शरीर शिथिल हुँदै गइरहेको छ, कुनै न कुनै अनिष्ट अवश्य भएको छ जस्तो लागिरहेको छ, यो कुरा मेरो ह्दयबाट मेटिरहेको छैन। पृथ्वी तथा सम्पूर्ण दिशामा भइरहेको भयङ्कर उत्पातले मलाई भयभीत पारिरहेको छ।
भन्नुहोस्, मेरा पूज्य भ्राता राजा युधिष्ठिर आफ्ना मन्त्रीहरूसहित सकुशल त हुनुहुन्छ नि ?
श्रीकृष्णले भने– शोक न गर, मन्त्रीहरूसहित तिम्रा भ्राताको त कल्याण नै होला नि। यस अपशकुनको अनुसार अन्य कुनै अर्को नै अनिष्ट भएको छ कि ? तदन्तर, दुवै वीर सन्ध्योपासना गरेर रथमा बसी युद्धसम्बन्धी कुराहरू गर्दै अगि बढे। आफ्नो छाउनीमा पुग्दा छाउनी आनन्दरहित र श्रीहीन देखियो। अनि उनले आत्तिदै श्रीकृष्णसित सोधे–जनार्दन, आज यस शिविरमा माङ्गलिक बाजाहरू बजिरहेको छैन। न दुन्दुभिको निनाद छ, न शङ्खको ध्वनि नै छ। आज वीणा पनि बजिरहेको छैन, मङ्गल गीत पनि कसैले गाइरहेको छैन। बन्दीजन स्तुति पनि गरिरहेका छैनन्, न पाठ नै गरिरहेका छन्। मेरा सैनिकहरू मलाई हेरेर उधो मुण्टो लगाइ हिंडिरहेका छन्। यी स्वजनहरूलाई हेरेर मेरो मुटुलाई सुइरोझैं छेडिरहेको छ। आज सुभद्राकुमार अभिमन्यु आफ्ना भाइहरूका साथ मेरो अगुवाइ गर्न आइरहेको छैन।
यस प्रकारका कुराहरू गर्दै दुवैजना शिविरमा पुगेर हेरे कि पाण्डवहरू अत्यन्त व्याकुल र हतोत्साहित भइरहेका छन्। भाइ तथा पुत्रहरूलाई यस अवस्थामा हेरेर तथा सुभद्रानन्दन अभिमन्युलाई त्यहाँ नपाएर अर्जुन निकै दुःखित भएर भने–आज तपाईंहरूको मुखमाथि अप्रसन्नता देखिंदै छ, यता म अभिमन्युलाई कतै देखिरहेको छैन र तपाईंहरू मसित प्रसन्नतापूर्वक कुरा पनि गरिरहनुभएको छैन, यसको कारण के हो ? मैले सुनेको छु कि आचार्य द्रोणले चक्रव्यूहको रचना गरेका थिए, तपाईंहरूमध्ये बालक अभिमन्युबाहेक अन्य कसैले पनि चक्रव्यूहको भेदन गर्न सक्नुहँुदैन्थ्यो। अभिमन्युलाई पनि चक्रव्यूहबाट निस्कन सक्ने विद्या बताएको थिइनँ। कतै तपाईंहरूले त्यस बालकलाई नै शत्रुहरूको व्यूहमा पठाइदिनुभएको त थिएन ? सुभद्रानन्दन त्यस व्यूहलाई अनेकौंपटक भेदन गरेर त्यसभित्र मारिएको त होइन ? क्रमशः…

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here