ट्राफिक एकाइ विस्तार जरुरी

0

पर्साको पोखरिया नगरक्षेत्रमा ट्राफिक प्रहरी परिचालन भएसँगै सकारात्मक प्रभाव शुरू भएको छ। अव्यवस्थित किसिमले सञ्चालन भइरहेका सवारीसाधनहरू व्यवस्थित हुन थालेका छन्। अहिले एकजना ट्राफिक हवल्दारको नेतृत्वमा एकजना ट्राफिक प्रहरी जवानले पोखरियाको मुख्य बजार क्षेत्रमा ड्युटी शुरू गरेका छन्। नम्बरविना चलिरहेका सवारीसाधनमा धनीहरूले नम्बर लेख्न थालेका छन्। नम्बर नचिनिने भइसकेका सवारीसाधनमा चहकिलो नम्बर अङ्कित भइरहेका छन्। एउटा मोटरसाइकलमा दुईजनाभन्दा बढी चढ्न नदिनेलगायतका ट्राफिक नियम पालना शुरू भएका छन्। जिल्लामा वीरगंज महानगरपछिको मुख्य शहर पोखरिया हो। त्यही पोखरियामा ट्राफिक प्रहरी र ट्राफिक नियमबारे बुझाइ भर्खर प्रारम्भिक चरणमैं छ।
पर्सामा वीरगंज महानगरबाहेक तीनवटा नगरपालिका छन्। नगरपालिका घोषणा मापदण्ड अनुसार पनि हरेक नगरमा कालोपत्रे सडक र सवारीसाधनको पहुँच छ भन्ने स्पष्ट हुन्छ। ट्राफिक प्रहरीको काम सडकको जाम हटाउनु मात्रै होइन। सडक एवंं सवारीसाधन र चालकसम्बन्धी नियम, कानूनहरू पालना गराउने, सोसम्बन्धी समुदायलाई सचेत गराउने र कारबाई गर्ने जिम्मेवारी पनि छ। शहरमा भन्दा गाउँमा ट्राफिक तथा सवारीसम्बन्धी नियम कानून उल्लङ्घन बढी हुन्छन्। सवारी क्षमताभन्दा बढी यात्रु ओसार्ने, तोकिएकोभन्दा बढी भाडा असुल्ने, इजाजतविनाका सवारीसाधनहरू चलाउने, असुरक्षित तरीकाले सवारी चलाउने, मादक पदार्थ वा मादक पदार्थ सेवन गरी अन्धाधुन्द सवारी हुइँक्याउनेलगायतका ट्राफिक तथा सवारी नियमविपरीतका गतिविधिहरू ग्रामीण क्षेत्रमा हुने गरेका छन्। पर्सा जिल्लाको सन्दर्भमा भन्नुपर्दा वीरगंज महानगरदेखि दूरदराजका ठोरी गाउँपालिकासमेतको क्षेत्रमा कालोपत्रे सडक पुगिसकेको छ। ग्रामीण क्षेत्रका अधिकांश घरमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे सवारीसाधन छन्। ती सवारीसाधनहरू त्यहाँका सडकहरूमा गुडिरहेका छन्। तर ट्राफिक तथा सवारी नियमबारे अधिकांश चालकलाई जानकारी छैन। वीरगंज महानगरका सडकहरूमा चल्ने ठूलो सङ्ख्याका मोटरसाइकल, साइकल र पैदल यात्रुहरूसमेत आसपासका ग्रामीण क्षेत्रका हुन्छन्। गाउँमा ट्राफिक सचेतना कम हुँदा शहरको ट्राफिक व्यवस्थापनमा त्यसको असर पर्छ।
अवस्था फेरिएको छ। हिजोका दिनमा वीरगंज महानगरपछि विन्ध्यवासिनीभन्दा पर पक्की सडक थिएन। एक गाउँभरिमा मुश्किलले दुई/चार वटा मोटरसाइकल पाइन्थ्यो। माविस्तरको विद्यालयमा साइकल चढेर आउने विद्यार्थी निकै सामथ्र्यवान् कहलाइन्थे। अन्यत्र सवारी र सडक नभएकाले वीरगंजमा मात्रै ट्राफिक प्रहरीलाई केन्द्रित गराउनु ठीकै थियो। तर आज सवारी, सडक साथै त्यसको प्रयोगकर्ताको क्षेत्र विस्तार भइसकेको छ। अब पनि ट्राफिक प्रहरीको क्षेत्र विस्तार नगरिनु अव्यावहारिक कुरा हो। हुनत मुलुकमैं ट्राफिक प्रहरीको सङ्ख्या न्यून छ। फेरि पनि ट्राफिक नियम एवं सवारीसम्बन्धी कारबाई गर्ने अधिकार ट्राफिक प्रहरीलाई मात्रै छ। अरू सुरक्षा एकाइले त ट्राफिक प्रहरीलाई सहयोग मात्रै गर्ने हो। ट्राफिक नियम पालना हुँदा समाजमा अपराध न्यूनीकरणमा सघाउ पुग्छ। यस कारण पनि जिल्लाका सबै नगरपालिकाका साथै आवश्यकता अनुसार अन्य पालिकाहरूमा पनि ट्राफिक प्रहरीे एकाइ विस्तार जरुरी भइसकेको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here