विकास बजेट खर्च नगरिएकोमा समानीको आपत्ति

0

प्रस, वीरगंज, १५ माघ/
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य निजामुद्दीन समानीले प्रदेश २ सरकारले पोखरिया अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि उपलब्ध गराएको रु ४ करोड ४ लाख अहिलेसम्म तोकिएको विकासमा खर्च नगरेकोमा आपत्ति जनाएका छन्।
उनले आज पोखरिया नपालाई ज्ञापन बुझाउँदै प्रदेश सरकारले उपलब्ध गराएको सो रकम सम्बन्धित काममा खर्च गर्नेतर्फ कारबाई अगाडि नबढाए १५ दिनपछि विरोध कार्यक्रम अन्तर्गत धर्ना दिने चेतावनी दिएका छन्।
नेता समानीले प्रदेश सरकारले रु ४ करोड ४ लाख पोखरिया नपालाई जिल्ला अस्पतालको सञ्चालन, व्यवस्थापनमा खर्च गर्न उपलब्ध गराएकोमा आफूले पटक–पटक सो कार्य अगाडि बढाउन आग्रह गर्दै आएकोमा बेवास्ता गर्दै आएको बताए। उनले स्वास्थ्य बीमा गराएका बिरामीहरू औषधिबाट वञ्चित भएका, एनआइसियू, आइसियू, प्रसूति सेवा सञ्चालनको लागि भौतिक निर्माण तथा उपकरण खरीद कार्य अगाडि नबढाएको भन्दै १५ दिनभित्र सो कार्य नगरिए धर्ना दिने चेतावनी दिएका हुन्।
पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले भवन निर्माणका लागि प्रक्रिया अघि बढिसकेको बताए। उनले आक्सिजन पाइपलाइन जडान र अस्पतालको मेडिकल फोहर जलाउने यन्त्रको लागि सम्बन्धित प्राविधिकसँग राय परामर्श लिएको र सोहीअनुरूप कार्य अगाडि बढिरहेको बताए। प्रमुख प्रशासकीय अधिकृत गिरीले सो रकम सशर्त खर्च गर्नुपर्ने बजेट भएकोले सोहीअनुरूप काम भइरहेको र प्रक्रियागत कारबाईमा रहेको जानकारी गराएका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here