सिंहद्वारा नागरिकता परित्याग

0

प्रस, वीरगंज, १४ माघ/
दोहोरो नागरिकता सम्बन्धमा वीरगंज–७ निवासी सोमेन्द्र सिंहमाथि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो र गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय, पर्साले कारबाई प्रक्रिया अगाडि बढाएपछि सिंहले नेपाली नागरिकता परित्यागका लागि जिप्रका पर्सामा निवेदन दिएका छन्।
प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सिंह स्वयम् उपस्थित नभएर अन्यमार्फत नागरिकता परित्यागको निवेदन पठाएको पुष्टि गरे। उनले सिंह र निजकी पत्नीले कानून व्यवसायीमार्फत नागरिकता परित्यागको निवेदन पठाएको बताए। सो निवेदनमाथि छानबिनको लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको जानकारी उनले गराए। सिंहले दोहोरो नागरिकता लिएको प्रमाणित भएर कारबाई प्रक्रिया अगाडि बढाएपछि नागरिकता परित्यागको लागि निवेदन पठाए पनि सो सम्बन्धमा उनीमाथि कारबाई प्रक्रिया नरोकिने प्रजिअ तामाङले बताए। प्रजिअ तामाङले सिंहको बैंक खाता र मालपोतमा जग्गा रोक्का गरिएको बताएका छन्।
भारतको अहमदाबादस्थित क्याडिला फर्मास्युटिकल्सको नेपालको आधिकारिक विक्रेता रहेका सिंहले २०६३ चैत १२ गते नागरिकता टोलीबाट नेपाली नागरिकता लिएका थिए। उनले भारतीय नागरिक रहेको अवस्थामा दोहोरो नागरिकता लिएका थिए।
विवरण ढाँटेर सिंहले नेपाली नागरिकता लिएको सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरोले कारबाई प्रक्रिया सम्पन्न गरी जिल्ला प्रशासन कार्यालय, पर्सामा निजमाथि कारबाईको लागि सिफारिश गरेको थियो।
केन्द्रीय अनुसन्धान ब्युरोको सिफारिश र गृह मन्त्रालयको पत्र अनुसार जिल्ला प्रशासन कार्यालय, पर्साले निजमाथि पक्राउ पुर्जी जारी गरेको थियो। प्रशासनले पक्राउ पुर्जी जारी गरेपछि सिंह नेपाल छाडी भारत भागेका छन्। भारत फरार भएको एक सातापछि उनले कानून व्यवसायीमार्फत नागरिकता परित्यागको निवेदन जिप्रका, पर्सामा बुझाएका हुन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here