पर्सामा १० वटा निर्वाचन केन्द्र थपियो १४ वटा स्थानीय तहमा ३ सय ६१ केन्द्र

0

प्रस, वीरगंज, ९ माघ/
वैशाख १७ र २७ गते हुन लागेको संसदीय निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय पर्साले पर्सामा ३ सय ६१वटा मतदान केन्द्र निर्धारण गरेको छ।
शुक्रवार जिल्ला प्रशासन कार्यालय, पर्सामा बसेको सर्वपक्षीय, सर्वदलीय बैठकले पर्सा जिल्लामा आगामी निर्वाचनको लागि १० वटा मतदान केन्द्र थप्ने निर्णय गरेको छ। २०७४ सालको तथ्याङ्क अनुसार पर्सामा १४ वटा स्थानीय तह, ११२ वटा वडा, १६७ वटा मतदान स्थल र ३५४ वटा मतदान केन्द्र रहेकामा १० वटा थपेर ३६१ वटा मतदान केन्द्र निर्धारण गरिएको कार्यालय प्रमुख रञ्जीता झाले जानकारी गराइन्।
बैठकले छिपहरमाई गाउँपालिकामा २, सखुवाप्रसौनी गापामा १, कालिकामाई गापामा १, पोखरिया नगरपालिकामा २ र बहुदरमाई नगरपालिकामा १ र वीरगंज महानगरमा ३ गरी १० वटा मतदान केन्द्र थप गरेको छ।
बैठकले वीरगंज महानगर वडा नं २३ बगैंचामा रहेको मतदान केन्द्र यातायात कार्यालयको ट्रायल सेन्टरमा सार्ने निर्णय गरेको छ।
२०७४ सालको निर्वाचनमा कालिकामाई गापामा ६, छिपहरमाई गापामा ८, जगरनाथपुर गापामा ११, जीराभवानी गापामा ९, ठोरी गापामा ७, धोबिनी गापामा ७, पकाहामैनपुर गापामा ६, पटेर्वासुगौली गापामा ८, पर्सागढी नपामा १२, पोखरिया नपामा ११, बहुदरमाई नपामा ११, विन्ध्यवासिनी गापामा ९, वीरगंज महानगरपालिकामा ५५ र सखुवाप्रसौनी गापामा ७ वटा गरी १६७ वटा मतदान स्थल थियो।
आजको बैठकले छिपहरमाई गापाको नेराप्रावि बुडगाई, नेराप्रावि तुलसीबर्वा, सखुवाप्रसौनीको नेराप्रावि कौवावन, कालिकामाईको नेराप्रावि तीनडोबिया मुडली, पोखरिया नपाको नेराप्रावि वसन्तपुर, श्रीराधाकृष्ण प्रावि सतवरिया, बहुदरमाई नपाको नेराप्रावि डोकैला बहुअरी, वीरगंज महानगरको थारू छात्रावास, जगरनाथपुर–मनियारी निमावि, नेराप्रावि बसडिलवा गरी १० वटा केन्द्र थप गरिएको कार्यालय प्रमुख झाले बताइन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, सहायक प्रजिअद्वय धु्रव गिरी र भीमकान्त पौडेल, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, नेकपाका प्रभु हजरा, नेपाली काङ्ग्रेसका अजय द्विवेदी, अरविन्द गुप्ता, किशोरी साह, जसपा नेपालका रामनरेश यादव, तबरेज अहमद, राप्रपाका सुमेश्वर उपाध्याय, नेपाली जनता दलका मनोज रौनियार, जनता पार्टीका रामपुकार रौनियारलगायतको सहभागिता थियो।
आफैं धामी आफैं झाँक्री
प्रधानमन्त्री केपीशर्मा ओलीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, संविधानविपरीत भएको भन्दै सडकमा उत्रेका राजनीतिक दलहरू चुनावी प्रक्रियामा सहभागी भइरहेको पाइएको छ। वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि निर्वाचन आयोगले राखेको बैठकमा सडक तताइरहेका दलका प्रतिनिधिहरूसमेत सहभागी हुनु आश्चर्यलाग्दो भएको सरोकारवालाले बताए।
प्रधानमन्त्रीको कदमविरुद्ध सडकमा उत्रेका विभिन्न दलका अगुवा नेताहरूले नै प्रतिगामी कदमलाई सहयोग गरिरहेको देखेर बुद्धिजीवीहरू दङ्ग परेका छन्। संसद् पुनस्र्थापनाको माग गर्दै निर्वाचनविरुद्ध उत्रिएका दलहरू अहिले निर्वाचन प्रक्रियामा सहभागी हुनु दलहरूको लागि लज्जास्पद भएको टिप्पणी वीरगंजमा हुन थालेको छ। निर्वाचन प्रक्रियाको विरोध गर्नुको साटो सहयोग गर्नु ओली सरकारलाई सघाउने कार्य भएको आरोप लगाइएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here