मजदूर तथा सुरक्षाकर्मीलाई आगलागीबारे सुरक्षा तालीम

0

प्रस, परवानीपुर, २४ पुस/
एलपी ग्यास प्लान्ट वा अन्य अति प्रज्वलनशील पदार्थबाट भएको आगलागी नियन्त्रणको विषयमा एक दिने सुरक्षा प्रशिक्षण कार्यक्रम आयोजना भएको छ।
पर्सा र बाराका एलपी ग्यास उद्योगीहरूको संयुक्त आयोजनामा वीरगंज–२१ परवानीपुरस्थित मनोज ग्यास प्रालि परिसरमा उक्त तालीम आयोजना भएको थियो।
कार्यक्रममा पर्साका मनोज, सुपर, बाराका लियो–बारा, जगदम्बा, अम्बर ग्यासका प्राविधिक, कामदार, वीरगंज महानगरका वारुणयन्त्रकर्मी, नेपाल प्रहरी प्रदेश २  विपद् व्यवस्थापन गुल्म वीरगंजका सुरक्षाकर्मी, सशस्त्र प्रहरीलगायत ७५ जनाको सहभागिता थियो।
विगत तीन वर्षदेखि सुरक्षा सतर्कतासम्बन्धी तालीमको आयोजना हुँदै आएको छ। शुक्रवारको तालीममा  भारतको कोलकाताको पोद्दार फायर प्रोटेक्शनका प्राविधिक तथा पेट्रोलियम क्षेत्रमा ३० वर्ष लामो अनुभव बटुलेका समीर दास र सोमी चटर्जीले अग्नि तथा अन्य सुरक्षासम्बन्धी तालीम प्रदान गरेका थिए।
कार्यक्रममा विपद् व्यवस्थापन गुल्मका प्रहरी सहायक निरीक्षक विकल न्यौपाने, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका निरीक्षक ईश्वर अधिकारी, नेपाल आयल निगम, वीरगंजका प्रबन्धक मनोज ढकाललगायतको सहभागिता रहेको मनोज ग्यास उद्योग प्रालिका सञ्चालक मनोजकुमार दासले बताए।
ग्यास उद्योगका मजदूरहरू सुरक्षित तरीकाले ग्यास उद्योगमा काम गरून् र सरकारी संयन्त्रका कर्मचारीहरूलाई ग्यासजन्य आगलागी नियन्त्रण र पीडितलाई सुरक्षा प्रदान गर्ने उपायबारेमा जानकारी गराउने उद्देश्यले तालीममा सहभागिता गराइएको थियो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here