माउन्टको ३७औं विद्यालय दिवसः सचेत भई अरूलाई जोगाउन आग्रह

0

प्रस, वीरगंज, २० पुस/
ॐ आश्रम श्रीपुरस्थित माउन्ट एडमन्ड माध्यमिक विद्यालयले ३७औं विद्यालय दिवस सम्पन्न गरेको छ।
विद्यालयका संस्थापक/निर्देशक अर्जुन शम्शेर जबराको सभापतित्वमा सम्पन्न सो कार्यक्रम विश्व स्वास्थ्य सङ्गठनको मापदण्डको आधारमा सामाजिक दूरी कायम राख्दै विद्यालयले मनाएको प्रधानाध्यापक अनन्तकुमारलाल दासले बताए।
कार्यक्रमका सभापति विद्यालयका निर्देशक राणाले कोरोना महामारीले विद्यार्थी, शिक्षक, अभिभावक सबैलाई नराम्ररी प्रभावित गरेको बताए। उनले विद्यार्थीहरूमा प्रतिरोधक क्षमता प्रबल भएकोले उनीहरू कोरोनाले त्यति प्रभावित नभए पनि उनीहरूबाट शिक्षक, अभिभावक प्रभावित हुन सक्ने भएकोले कोरोनाको जोखिमबाट बच्न विश्व स्वास्थ्य सङ्गठनले दिएको सम्पूर्ण निर्देशनको पालना गर्न आग्रह गर्र्दै यहाँबाट उत्तीर्ण भएका विद्यार्थीहरू अनुशासन र प्रतिस्पर्धा अब्बल ठहरिएको दाबी गरेका थिए।
कार्यक्रममा प्रअ दासले चैतदेखि कोरोना महामारीको कारण बन्द रहेको विद्यालय पुसदेखि पूर्णरूपमा सञ्चालनमा आए पनि शिक्षा मन्त्रालयले समायोजन गरेको पाठ्यक्रमलाई पूरा गर्न शिक्षकहरू प्रतिबद्ध रहेको बताए। उनले कक्षा शुरू भएको महीनादेखि विद्यालयले अभिभावकसँग शुल्क लिने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको जानकारीसमेत दिए।
कक्षा ९ द्वारा सञ्चालित कार्यक्रमको सहजीकरण मुस्कान सर्राफ र अमन मिश्रले गरेका थिए भने स्वागत मन्तव्य सिया गौरो र स्वागत नृत्य गुनगुन छतकुलीले प्रस्तुत गरेकी थिइन्। यसैगरी, स्नेहा चौधरीले खोज र अनुसन्धानमा आधारित विद्यालयको चिनारी प्रस्तुत गर्दै बालबालिकाहरू प्रेम हुन्, आशा हुन्, तथा देशका भविष्य हुन् बताउँदै सिक्नेले सिकेको छैन भने सिकाउनेले सिकाएको छैन भन्ने सिद्धान्तमाथि विद्यालय अडिग रहेको बताइन्।
कार्यक्रममा छात्रछात्राहरूले देशको संस्कृति झल्किने नृत्य, विद्यालयसम्बन्धी कविता र कोरोनाबाट सचेत हुन लघु नाटक प्रस्तुत गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here