निकासको पर्खाईमा हाम्रो समाज

0

अनन्तकुमार लाल दास

आज नेपाली समाज विकृतिको घर बनेको छ। यी विकृतिहरूले गर्दा नै समाजबाट मानवीय संवेदना लुप्त भइरहेको छ। समय परिवर्तन भयो, देशको स्थितिमा बदलाव आयो, हामीले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना ग–यौं तर पनि हाम्रो सामाजिक विसङ्गति जस्ताको त्यस्तै छ। यी विकृतिहरूमध्ये केही पाश्चात्य संस्कृति र मोबाइलको देन हो भने केही हाम्रै समाजका स्वार्थी मानिसहरूको देन हो। एउटा कालखण्डमा हाम्रो देश शान्तिको प्रतीक थियो भने आज सर्वत्र अशान्तिको कुहिरो लागेको छ। एकातिर कोरोनाको कहर अझै विद्यमान छ भने अर्कोतिर समाजको आर्थिक अवस्था दिनानुदिन जटिल बन्दै गएको छ।
समाजको सबैभन्दा ठूलो समस्या महिलाहरूको रहेको छ। हुनत नेपालको संविधानले महिला शक्तीकरण वा विकासको लागि मौलिक हक तथा अन्य संवैधानिक प्रावधानको व्यवस्था गरेको छ तर यो केवल नाम मात्रको छ। आज पनि लोग्नेको चाहना नै स्वास्नीको लागि सबै थोक हो। लोग्नेको दुराचार, अन्याय र अत्याचारलाई मूक पशुझैं सहन गर्नु उसको बाध्यता हो। महिलाको संसार पर्खालभित्र मात्र सीमित छ। पति देउताको सेवा गर्नु र सन्तान हुर्काउनुमात्र उसको काम हो। घरमा बसेर कहिले कसको बिहे भयो, कहिले कसले बच्चा पायो, यिनै कुरासम्म उनीहरूको सामाजिक भावना सीमित रहेको छ। संसार कस्तो छ, मानव जाति कस्तो परिस्थितिसँग लडिरहेको छ, यस्ता बेकारका कुरासँग उनीहरूको कुनै सम्बन्ध छैन। ऊ घरकी रानी हैन, नोकरानी हो। आफ्नो उन्नति र आत्म स्वाभिमानसँग उनीहरूको कुनै सरोकार छैन। बाल विवाह, वृद्ध विवाह, विवाह विच्छेद, विवाह निषेध आदिबाट ऊ झन् पीडित छ। ऊ न स्वतन्त्र वातावरणमा सास फेर्न सक्छे, न धक फुकाएर आफ्नो कुरा कसैसँग भन्न सक्छे। कुन ईश्वरले उसको भाग्यमा जन्मदेखि मरणसम्म आजीवन कारावास लेखिदिएको छ भन्न सकिन्न।
बाल्यावस्थामा बुवाले रक्षा गर्छ भने युवावस्थामा लोग्नेले र वृद्धावस्थामा पुत्रले उसको रक्षा गर्दछ। नेपाली महिलाको अवनतिको एउटा अर्को कारण आर्थिक पराधीनता पनि हो। एउटी महिलालाई एक–एक पैसाको लागि अरूको अगाडि हात पसार्नुपर्छ। यस आर्थिक स्वतन्त्रताको अपहरणले उसलाई नारकीय जीवन बाँच्न बाध्य तुल्याएको छ। नारीको यो अवस्था नेपाली समाजको लागि कलङ्क हो। सामाजिक उत्थानका लागि नारी उत्थान वर्तमानको खाँचो हो। आज नारी शक्तीकरणको अति खाँचो छ। आज नारीलाई सम्मान र समान अधिकारका लागि पुरुषहरूलाई पनि जागरुक बनाउनु आवश्यक छ। नारी त्याग, बलिदान, तपस्या र साधनाकी मूर्ति हो। भारतीय कवि प्रसादको शब्दमा “नारी तुम केवल श्रद्धा हो, विश्वास रजत नग पल तल में, पीयूष स्रोत सी बहा करो, जीवन के सुन्दर समतल में।”
समाजको अर्को दोस्रो समस्या दलित र पिछडिएका वर्गप्रति दुव्र्यवहार हो। जसलाई हामीले दलित भन्ने गरेका छौं ती समाजको सबैभन्दा ठूलो सेवक र तपस्वी हुन्। के उनी मानव हैनन् ? के उनलाई ईश्वरको आराधना गर्ने अधिकार छैन ? के उनी मन्दिरभित्र प्रवेश गर्न सक्दैनन् ? के उनलाई कुवाँबाट आफ्नो तिर्खा मेटाउने अधिकार छैन ? के उनीहरूको जीउबाट आगो निस्किरहेको छ ? के उनीहरूको शरीरमा आत्मा वा प्राण छैन ? यदि यी कुनै कारण छैन भने समाजले उसलाई किन अगाडि आउन दिइराखेको छैन ? किन समाजले उसलाई हेला गर्छ ? हो, यो सत्य हो ऊ शिक्षित छैन वा उसको आर्थिक स्थिति कमजोर छ।
ईश्वरमाथि सबैको समान अधिकार छ। ईश्वरले त्यसलाई माया गर्छन् जसले उसको आराधना वा उपासना मनले गर्दछ। यो सत्य हो भने उनीहरूलाई मन्दिर प्रवेशमा रोक किन लगाइन्छ ? भगवान् रामले शबरी, जो भील जातिकी थिइन्, उसको जूठो बयर खाएको प्रसङ्ग रामायणमा उल्लेख छ। हुनत यसमा सुधार भएको छ र खासगरी शिक्षाको प्रचारप्रसारले शहरमा यस्तो दुव्र्यवहार भएको विरलै सुन्न पाइन्छ तर गाउँमा अहिले पनि सुधार हुन सकेको छैन र पहाडी भेगमा त यस्तो भेदभावले सीमा पार गरिसकेको छ। ती पनि मानिस हुन्, तिनको आदर गर्नुपर्छ र उन्नतिका लागि सतत् प्रयासरत रहनुपर्छ।
हाम्रो समाजको विवाह प्रथा पनि विषम समस्याको रूपमा देखा परेको छ। मूक पशुलाई जसरी एउटा किलाबाट अर्को किलामा बाँधिन्छ त्यस्तै चेलीहरूको बिहे हुन्छ। लोग्ने मूर्ख, कुरूप वा लँगडो किन नहोस् केटी ऊसँग जान बाध्य हुन्छे। दुवैको रुचि, विचार, स्वभाव भिन्न भए पनि छोरीलाई आमाबुवाको आज्ञापालन गर्नैपर्छ। परिणाम के हुन्छ भने छोरीले आत्महत्या गर्छे वा उसको हत्याको समाचार सुन्नुपर्छ। हुनु त के पर्छ भने समर्थ केटाकेटीलाई आफ्नो जीवनसाथी छान्ने अधिकार दिनुपर्छ। यसले गर्दा अनमेल बिहेको समस्या स्वतः समाप्त भएर जान्छ। विवाहसम्बन्धी अर्को समस्या दाइजो हो। दाइजोले गर्दा आमाबुवाले छोरीलाई भारी ठान्छन्। हाम्रो देशमा त यस्तो प्रथा छैन, तर भारतको राजस्थानको एउटा गाउँमा छोरीलाई विष दिएर मार्ने चलन रहेको छापामा आइसकेको छ। वास्तवमा यो एउटा भयानक सामाजिक समस्या हो। यस कारण यसको त्याग सबैका लागि श्रेयस्कर हो।
वर्तमानमा देखा परेको अर्को समस्या जातिगत भेदभाव पनि हो। समाज यस कारण आज विशृङ्खल छ। जातिप्रथाले गर्दा आज समाजमा प्रेमले घृणाको रूप लिइरहेको छ। मानवीय संवेदना लुप्त भइरहेको छ। यो न राष्ट्रका लागि शुभ सङ्केत हो, न मानव जातिको लागि नै। हिटलरले आफ्नो जातिलाई सर्वश्रेष्ठ ठानी सम्पूर्ण विश्वमाथि कब्जा गर्न खोजेको थियो, तर परिणाम के निस्कियो भने आफ्नो हातले बनाएको जर्मनी आफैंले नष्ट गर्नुप–यो। यसबाट सामाजिक हितको कल्पना नै गर्न सकिन्न। जातिगत रूप सङ््घीयतामा पनि देखा पर्न थालेको छ। यस प्रकारको सङ्कीर्ण विचारधारा दिन प्रतिदिन फैलिंदै गएको छ। राष्ट्रिय एकता ओझेलमा परिसकेको छ। यस कारण साम्प्रदायिकताको भावनाले कुनै पनि काम गर्नु उचित होइन। हाम्रो सामु सधैं राष्ट्रहित र राष्ट्र कल्याणको आदर्श हुनुपर्छ।
वर्तमानमा विद्यार्थीहरूमा देखा परेको अनुशासनहीनता र युवाहरूमा पाश्चात्य संस्कृतिको अन्ध नक्कल गर्ने प्रवृत्ति पनि जटिल समस्या बन्दै गएको छ। विद्यार्थी उद्दण्ड र अनुशासनहीन बन्दै गएका छन्। आजको विद्यार्थी मोबाइल, मोटरसाइकल र पैसाका लागि जे पनि गर्न तयार छ। पाश्चात्य संस्कृति अँगालेका युवामा न आमाबुवाको भय हुन्छ, न शिक्षकको सम्मान गर्ने संस्कार नै। ठूला–ठूला घटनाहरूमा उनीहरूको सहभागिता रहेको पाइएको छ। चरित्रहीनतालाई उनीहरूले आफ्नो सिरपेंच बनाइरहेका छन्। यस अवस्थामा के हुन्छ यस राष्ट्रको ?
सामाजिक जागृतिको अभाव पनि हाम्रो ठूलो समस्या देखिएको छ। हामी जुनसुकै ठाउँमा, जुन काम गर्छौं त्यो मात्र आफ्नो लागि हुन्छ। हामीलाई न आफ्नो राष्ट्रको कुनै ध्यान छ, न आफ्नो शहर वा छिमेकको। हाम्रो सबै काम सङ्कुचित ‘स्व’ माथि आधारित छ। सामाजिक हित हामीभन्दा धेरै टाढा हुँदै गएको छ। यस्ता कलुषित विचार त्याग्नु अति आवश्यक भइसकेको छ किनभने समाजप्रति हाम्रो कर्तव्य र उत्तरदायित्व पनि छ। यस कारण हामी सबैलाई समाज कल्याणका लागि प्रयासरत हुनुपर्छ।
यसैगरी देशमा बेराजगारी समस्या दिन प्रतिदिन सुरसाजस्तै आफ्नो मुख खोलेर उभिएको छ। युवाशक्ति देशबाट दिन प्रतिदिन पलायन भइरहेको छ। हाम्रो शिक्षा प्रणालीमा हालसम्म यथोचित सुधार हुन सकेको छैन। परम्परावादी शिक्षानीति हामीकहाँ हालसम्म लागू छ। यस कारण युवा पलायन रोक्न देश सुहाउँदो शिक्षा नीति बनाउन अब ढिलो गर्नुहुन्न। हामीले बेरोजगारी उत्पादन वा देशमैं काम नलाग्ने, अन्य राष्ट्रको कामदार बनाउने शिक्षानीति अविलम्ब परिमार्जन गर्नुपर्ने खाँचो छ। यसका साथै निरक्षरताको समस्या पनि हाम्रो जस्तो स्रोत र साधनले परिपूर्ण राष्ट्रका लागि भयावह समस्या बनेको छ। अनपढ मानिसलाई आफ्नो अधिकार र कर्तव्यको ज्ञान हुँदैन। नयाँ नेपाल निर्माण गर्नु पूर्व यस समस्याको निकास अति आवश्यक छ।
आजभोलि परीक्षामा नकल गर्ने प्रवृत्ति पनि एउटा भयावह सामाजिक समस्या बनेको छ। निर्भिकता र उद्दण्डता केही विद्यार्थीहरूको मनमस्तिष्कमा रहन्छ। यसलाई कसरी हटाउन सकिन्छ, यो समस्या पनि नेपाली शिक्षकको अगाडि एउटा चुनौतीको रूपमा देखा परेको छ। यसका लागि सबैभन्दा पहिले शिक्षकहरूले विद्यार्थीहरूलाई इमानदारीपूर्वक पढाउनुपर्छ भने अर्कोतर्फ अभिभावकहरूले पनि सन्तानलाई घरमा पढ्ने वातावरण र उनीहरूमाथि उचित निगरानी गर्न आवश्यक छ। यस समस्यामा केही हदसम्म सुधार पनि भएको छ तर त्यो पूर्ण छैन, किनभने नैतिकतामा –हासजस्ता समस्याबाट नेपाली समाज दिन प्रतिदिन ग्रस्त हुँदै गइरहेको छ। स्थिति कस्तो छ भने शिक्षक, विद्यार्थी, व्यापारी, उद्योगपति, नेता, अभिनेता, किसान, मजदूर, साक्षर वा निरक्षर सबैले यसलाई ‘गाजरको हलुवा’ बुझेका छन्। यस परिप्रेक्ष्यमा कसरी सुधार गर्न सकिन्छ अज्ञात छ।
माथि उल्लिखित समस्याबाट ग्रस्त हाम्रो समाजको अगाडि भष्टाचार अर्को विकराल समस्याको रूपमा उभिएको छ जसले समाजको आर्थिक, राजनीतिक, धार्मिक, न्यायिक, प्रशासनिक सबै पक्षलाई आफ्नो चपेटामा लिएको छ। के लाग्दछ भने यो समाजको ‘आचार’ बनेको छ। न्यायप्रणाली पनि यसको सामना गर्न नसकी असहाय बनिरहेको छ। कालो धन र मुद्रास्फीतिको पोषण भ्रष्टाचारद्वारा निर्बाधरूपमा भइरहेको छ। प्रशासनिक निकाय जो स्वयं यस रोगले ग्रस्त छ, कसरी यसलाई रोक्न सक्छ ? सामाजिक चेतनाले नै यसको उपचार सम्भव छ। यस कारण प्रत्येक नागरिकको के कर्तव्य हुन जान्छ भने कुनै पनि हालतमा र कुनै पनि तहमा भ्रष्टाचारको पोषक नबनोस्।
यसबाहेक समाजमा अन्य सानातिना समस्या छन् जसले हाम्रो समाजलाई खोक्रो बनाइरहेको छ। हामी सबैले त्यसलाई हटाउन भगिरथ प्रयत्न गर्नु आवश्यक छ जसबाट समाजको बढी अहित नहोस्। सरकारले पनि यसतर्फ ठोस कदम चाल्नुपर्ने देखिन्छ। यसो भयो भने मात्र देशको वास्तविक विकास हुन सक्छ, अन्यथा हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कुनै अर्थ रहँदैन।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here