चिनीमिलहरूले बिचौलियालाई होइन वास्तविक किसानलाई बैंकबाट भुक्तानी दिनुपर्छ– अध्यक्ष मैनाली

0

प्रस, परवानीपुर, ३ पुस/
उखु किसान अगुवाहरूले उखुको भुक्तानी बैंकबाट वास्तविक किसानहरूलाई दिनुपर्ने माग गरेका छन्।
उखु किसान महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले पछिल्लो समय केही सञ्चारमाध्यममा केही चिनीमिलले उखु किसानका बिचौलियाहरूलाई करोडौं भुक्तानी दिएको खबर आएपछि उनले यस्तो चेतावनी दिएका हुन्। उनले भने– “सर्लाहीको गोडैतामा रहेको राकेश अग्रवालको अन्नपूर्ण सुगर मिलले गोडैताको सिसौटियाका एकजना किसान प्रतिनिधिलाई रु ३ करोड बाँकी रकम भुक्तानी गरेको सञ्चारमाध्यममा आएपछि आफूहरू सशङ्कित भएका छौं।”
उनले कुन किसानले कुन समयमा चिनीमिललाई कति परिमाणमा उखु बेचेको छ, सोको विस्तृत विवरणको आधारमा बैंकमा खाता खोलेर भुक्तानी दिनुपर्ने सरकारले पहल गर्नुपर्ने माग गरे। पछिल्लो दुई/तीन वर्षदेखि सर्लाहीको अन्नपूर्ण सुगर मिलले रु १७ करोड र रौतहटको श्रीराम सुगर मिल्सले ४१ करोड भुक्तानी दिन बाँकी राखेको छ भने लुम्बिनी प्रदेशको नवलपरासीमा रहेको इन्दिरा सुगर मिलले ६ करोड, सरकारको स्वामित्वमा रहेको तर मनीष अग्रवालले सात वर्ष पहिले लिजमा लिएर चलाउँदा रु १० करोड बक्यौता दिन बाँकी राखेकोमा किसानहरू एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन्। दुई दिनअघि सरकारले यी चार उद्योगका सञ्चालकको नाममा पक्राउ पुर्जी जारी गरी स्थानीय प्रशासनलाई नियन्त्रणमा लिन निर्देशन दिएपछि अहिले चिनी उद्योगीहरू किसानको भुक्तानी दिन धमाधम किसानको खातामा रकम जम्मा गर्न थालेका छन्।
सोही क्रममा केही उद्योगीहरूले किसान प्रतिनिधिलाई करोडौं रुपैयाँ भुक्तानी दिएको बताएपछि किसानले आफूहरूलाई झुक्याउन उद्योगीहरूले यस्तो प्रोपोगन्डा गरेको आशङ्का गरेका छन्। तराईका २२ जिल्लामध्ये झापा र बाँकेलाई छाडेर २० वटा जिल्लामा उखुखेती गरिन्छ। १५ वर्षअघि पर्साको वीरगंज चिनी कारखाना बन्द भएको थियो भने कैलालीको वासुलिङ्क सुगर मिल पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोराले चलाउँदै आएकोमा किसानको पैसा झ्वाम पारेपछि ५ वर्षदेखि सो उद्योग पनि बन्द छ। अहिले नेपालमा १३ वटा चिनी उद्योग सञ्चालनमा छन्। जसमध्ये प्रदेश १ को सुनसरीमा गोल्छा समूहको इस्टर्न सुगर मिल, प्रदेश २ मा ७ वटा चिनीमिल सञ्चालनमा छन्।
प्रदेश २ को बारामा पूर्वसांसद राजकुमार अग्रवालको रिलायन्स सुगर मिल्स, रौतहटमा हितेश गोल्छा र विशाल अग्रवालको श्रीराम सुगर मिल्स, बैजु जैसवालको बैजु वैद्यनाथ सुगर मिल्स सञ्चालनमा छन्। त्यसैगरी, सर्लाहीमा राजेश केडियाको इन्दुशङ्कर चिनी उद्योग,  नेपाली काङ्ग्रेसका सांसद वीरेन्द्र कनौडियाको महालक्ष्मी सुगर मिल्स र राकेश अग्रवालको अन्नपूर्ण सुगर मिल्स, महोत्तरीमा व्यवसायी एवं चिनी उत्पादक महासङ्घका अध्यक्ष शशिकान्त अग्रवालको एभरेस्ट सुगर मिल्स, सिराहामा निजकै हिमाल चिनी उद्योग  सञ्चालनमा छन्।
त्यसैगरी, नवलपरासीमा वाग्मती, इन्दिरा लुम्बिनी सञ्चालनमा छन् भने कञ्चनपुरमा भागेश्वरी चिनी उद्योग र महाकाली चिनी उद्योग सञ्चालनमा छन्। चिनी उद्योगीहरूले किसानको बक्यौता रकम समयमा नदिंदा पछिल्लो समयमा उखु लगाउने किसानमा निराशा छाएको छ भने उखुखेती गर्ने क्षेत्रफल पनि घटेको छ। अहिले चालू आवको लागि उखु किसानहरूले पोहोर अनुदानसहित मुनाफा जोडेर सरकारले प्रतिक्विन्टल रु ५३६ मूल्य तोके तापनि यस वर्ष सरकारले मूल्य तोक्न सकेको छैन। किसानहरूले न्यूनतम प्रतिक्विन्टल रु ६१७ दिनुपर्ने ७ दिने अल्टिमेटमसहित कृषि मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here