बाँदरको हातमा नरिवल

0

नरिवल बहुगुणी र बहुउपयोगी फल हो। आयुर्वेदले नरिवललाई बलवद्र्धक, पित्तनाशक बताएको छ। नरिवलको पानीको गुणको बेग्लै बखान छ। यसले मानव शरीरका लागि सोडियम, पोटासियम, क्याल्सियम, म्याग्निसियम, फलाम, फस्फोरस, गन्धक र क्लोरिन प्रशस्त दिने भएकोले नरिवललाई स्वास्थ्य विज्ञानले उत्तम फलको रूपमा स्वीकारेको हो। नरिवल सनातन धर्मावलम्बीहरूको धार्मिक पूजापाठ एवं शुभकार्यमा महत्वपूर्ण मानिन्छ। तर यही फल बाँदरको हातमा प–यो भने ? पहिलो कुरा त जसरी–तसरी आफ्नो पेट भर्नेबाहेक बाँदरलाई नरिवलको उपयोगिताबारे थाहा छैन। दोस्रो कुरा नरिवल फुटाउने अनि पानी तथा त्यसको गुदी खाने ढङ्ग ऊसँग छैन। उचाल्दा, थेचार्दा वा पछार्दा नरिवल आफैं फुट्यो भने उसले भित्रको गुदी खाने हो। नत्र त बाँदरको निम्ति नरिवल उपयोगहीन वस्तु नै हो। अरूलाई दिने, संरक्षण गर्ने वा बचाएर राख्ने बाँदरको स्वभाव हुँदैन। लुछ्ने, खोस्ने, चिथोर्ने, फ्याँक्ने उसको वास्तविक स्वभाव भएकोले सिङ्गो नरिवल भेटे पनि उसले त्यही गर्छ। चीजको महत्व तथा उपयोगिता थाहा नहुने, हरेक चीजलाई आफ्नै स्वभाव अनुकूल प्रयोग गर्न खोज्ने, बनाउनेभन्दा बिगार्ने प्रवृत्तिलाई विम्बित हुनेगरी हाम्रा पुर्खाहरूले उखान टुक्का बनाएको हुनुपर्छ, “बाँदरको हातमा नरिवल।”
नेपालमा तीन तहको सरकार छ। सोमध्ये स्थानीय नागरिकसँग प्रत्यक्ष जोडिने भएकोले जनसहभागितामूलक शुरू तहको सरकारलाई ‘स्थानीय तहको सरकार’ नामकरण गरिएको हो। नागरिकलाई ‘गाउँटोलमा सिंहदरबार’को अनुभूति स्थानीय सरकारले गराउनुपर्ने हो। प्रदेश तथा केन्द्र सरकारले जेसुकै व्यवस्था गरे पनि त्यसको कार्यान्वयन तह स्थानीय सरकार अर्थात् पालिका हो। संविधानले स्थानीय सरकारको लागि छुट्टै अधिकारको समेत व्यवस्था गरेको छ। तथापि प्राप्त अधिकार प्रयोग गरेर आफ्नो पालिकाका बासिन्दालाई सेवा दिन नसक्ने अनि ‘अधिकार पाएन’ भन्दै लाज पचाउनेहरूको कमी भने छैन। स्थानीय सरकारको अवधारणा तथा यसको महत्व, काम, कर्तव्य, अधिकारलाई नबुझेर बजेट तथा योजना भागबन्डामैं अल्झिने र पालिकालाई आफूअनुकूल प्रयोग गर्न खोज्ने जनप्रतिनिधिहरूको कारण स्थानीय तहको अधिकार ‘बाँदरको हातमा नरिवल’ सरह भएको छ। पालिकाहरूमा अध्यक्ष र उपाध्यक्ष्Fबीच झगडा, वडाध्यक्षहरूबीच झडप, जनप्रतिनिधिद्वारा नै पालिकामा तालाबन्दी, धर्ना प्रायः भइरहेका छन्। यसले सेवाग्राहीको सामान्य काम पनि महीनौंसम्म नबन्ने, विकास निर्माणका बजेट फ्रीज हुने साथै भ्रष्टाचार, अनियमितता, राजनीतिक तथा सामाजिक अराजकताले प्रश्रय पाइरहेको छ।    
बाँदरको हातमा नरिवल भए उसले सकेसम्म नरिवल खाइदेला। खान नसके कसैलाई खान्छौ कि भनेर उसले सोध्दैन। लुटेर लिने, झम्टेर लिने, बिगार्ने उसको विशेषता हो। आफ्नो हातमा जे छ, त्यसलाई उसले आफ्नो इच्छा अनुसार चलाउँछ, खेलाउँछ, तब पनि शेष बाँकी रहे कतै फ्याँकिदिन्छ। उसो त बाँदरको हातमा नरिवलसम्म ठीकै छ तर उसको हातमा आँप, केरा, स्याउ अथवा रड, ढुङ्गा, बम, बन्दुक, ग्रिनेड प–यो भने के होला ? सहजै अनुमान गर्न सक्छौं। यसर्थ पालिकालाई थप अधिकारभन्दा पनि उपलब्ध अधिकार नै दुरुपयोग भइरहेकोतर्फ सिंहावलोकन गर्नुपर्ने अवस्था आइसकेको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here