सार्वजनिक, वनक्षेत्रको जमीन हडप्न ढुङ्गाको पर्खाल

90

जीतलाल श्रेष्ठ, निजगढ, २४ मङ्सिर/
बारा निजगढ नगरपालिका–१० लालको सीमामा जमीन अतिक्रमण गरेको दुई वर्ष बित्दा पनि निजगढ नगरपालिका र वडाले केही चासो नदेखाएको स्थानीयहरूले बताउँदै आएका छन्।
जिल्ला मकवानपुर बकैया गाउँपालिका वडा नं ६ भालुखोलानजीकै चुरेमा वर्षौंदेखि बसोबास गर्दै आएका सुमन सिं लोप्चनले ढुङ्गाको पर्खाल लगाएर दुई बिघाभन्दा बढी सार्वजनिक जमीन अतिक्रमण गरेको स्थानीयहरूको भनाइ छ।
साबिक हटिया गाविस हाल बकैया गाउँपालिका–६ अन्तर्गत लोप्चनको नाउँमा रहेको जग्गाधनी पुर्जा कित्ता नं १५२९ र १५३० मा रहेको क्षेत्रफलभन्दा बढी सार्वजनिक जमीन हडप्दै ढुङ्गाको पर्खाल लगाउँदासम्म पनि स्थानीय तह, वडा कार्यालय, नगरपालिका मौन छन्।
चुरे पहाडको पानी ढलो त्यहाँस्थित कर्माको रूखसम्म मात्रै लोप्चनको निजी जमीन रहेको हुन सक्ने भएपनि ४०/५० मिटर चौडाइ र दुई सय मिटरभन्दा बढी लम्बाइ निनपा लालतर्फको सार्वजनिक जमीन हडपेको छ। मकवानपुर बकैया गाउँपालिका–६ बस्ने लोप्चनले हडपेको जमीनबारे निनपा–१० का अध्यक्ष पद्मबहादुर मोक्तानलाई सबै जानकारी रहे पनि उनले कारबाही प्रक्रिया अघि बढाएका छैनन्।
सो जमीनको विषयमा डिभिजन वन कार्यालय, प्रदेश वन मन्त्रालयमा समेत कुरा पुगिसकेकोले उनीहरूले नै छिनोफानो गर्छन् भन्दै वडाध्यक्ष मौन बस्दै आइरहेका हुन्। लोप्चनले चुरे डाँडाको निजी जमीन सम्याउने नाउँमा डाँडा नै गायब हुने गरी एक्साभेटरले उत्खनन गर्दै ढुङ्गा बिक्री गर्दा चर्को विरोध गर्ने वडाध्यक्ष मोक्तान अहिले सार्वजनिक जग्गा अतिक्रमण गर्दासम्म मौन बस्नुले पनि उनी अहिले शङ्काको घेरामा परेका छन्।
स्थानीय गन्यमान्यसमेत सो अतिक्रमित जमीनको विषयमा केही नबोली उल्टै लोप्चनकै पक्ष लिने गरेका देखिन्छन्। केही गन्यमान्यले समेत वनको जमीन अतिक्रमण गरी बस्दै आएकाले पनि लोप्चनले अतिक्रमण गरेको जमीन खोज्दा आफूहरूले हडपेको जमीन छोड्नुपर्ने हो कि भन्ने त्रास स्थानीयलाई फैल्याउने गरेको बुझिएको छ। माओवादी द्वन्द्वताका र पछिल्लो समय लालको पूर्वतर्फ वनक्षेत्रको २० बिघाभन्दा बढी जमीन अतिक्रमण गरी बस्ती नै बसेको छ। लोप्चनले आफ्नो जमीन यकीन गरी सुरक्षित गर्ने नाउँमा लालबकैया खोला मुहान रहेको सिंचाइ कुलोसम्म कालान्तरमा सहजरूपमा जान आउन समस्या पर्ने भन्दै सोको विरोध गर्दै लालबकैया कृषक सिंचाइ उपभोक्ता संस्था लालले रतनपुरी सबडिभिजन वन कार्यालयमा उजूरी दिएका थिए। सो उजूरीपछि विवाद चर्कर्ने देखेपछि लोप्चनले सिंचाइको मुहानसम्म जानका लागि ६ मिटर चौडाइको बाटो दिने कागजी सहमति गरेपछि उजूरी दिने लालबकैया कृषक सिंचाइ उपभोक्ता संस्था लालले पनि त्यसको विरोध गर्न छोडेको छ।
सो जमीनको विषयमा कार्यालयमा उजूरी आएको, प्रमाण पेश गर्न पत्राचार गरेसँगै केही प्रमाण पेश गरे पनि थप प्रमाण भने जग्गाधनी लोप्चनले अझैसम्म पनि नल्याएको रतनपुरी सबडिभिजन वन कार्यालयका प्रमुख रविकान्त श्रीवास्तवले बताए। माग भएको प्रमाण खुल्ने कागजात ल्याउन नसक्दा वनको निगरानी बढेपछि लोप्चनले वनको जमीन कब्जा गर्न अन्य थप गतिविधि बढाउन नसकेको उनले बताए।
सो अतिक्रमित जमीनबाट पूर्व–दक्षिणतर्फ करीब ३/४ सय मिटर परबाट निजगढ हुँदै काठमाडौं जोड्ने दु्रतमार्ग गएको छ। सो जमीन अतिक्रमण गरी करोडौं रकम आर्जन गर्ने मनसायले ठूलै गिरोह सक्रिय भएको स्रोतले बताएको छ। सार्वजनिक, वनक्षेत्रको जमीन व्यक्तिले हडप्दा पनि स्थानीय विभिन्न राजनीतिक दलहरू भने मूकदर्शक बन्ने गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्