सीमा सिलको कारण वैवाहिक कार्यक्रम प्रभावित

0

प्रस, पोखरिया, २३ मङ्सिर/
सीमा सिल भएको कारण अहिले नेपाल–भारतका नागरिकबीच वैवाहिक सम्बन्ध जोड्दा समस्या भएको छ।
भारतले कात्तिक ६ गतेदेखि आफ्नो नाका खुला गरे पनि नेपालले मङ्सिर मसान्तपछि मात्र सीमा खुला गर्ने बताएको छ। यसबीचमा मङ्सिर महीनामा परेका वैवाहिक कार्यक्रमहरू प्रभावित हुँदैछन्। सीमा क्षेत्रका नेपाली नागरिकहरूको वैवाहिक सम्बन्ध भारतका विभिन्न स्थानमा कायम हुँदै आएको छ भने त्यहाँका नागरिकहरूको पनि सीमा क्षेत्रका नागरिकसँग वैवाहिक सम्बन्ध बन्ने गरेको छ।
यस वर्ष मङ्सिरमा लगनको साइत भएको र त्यसपछि फागुन र एकैपटक २०७८ वैशाखमा विवाहको लगनको साइत भएकोले मङ्सिरमा विवाहको चाप बढेको हो। पर्सा जिल्लाका १४ वटै पालिकाबाट पचासभन्दा बढी वैवाहिक कार्यक्रम भारतमा भएको छ। यसबीच सीमा सिलले दुवैतर्फका नागरिकहरूले सास्ती भोग्नुप–यो। नेपालबाट जन्ती लिएर भारत जानेहरूलाई पनि समस्या भयो भने भारतबाट नेपाल जन्ती लिएर आउनेहरूले पनि सोही किसिमको समस्या भोगे। सीमा क्षेत्रसम्म आफ्नो गाडी लिएर जाने र त्यहाँबाट पैदल सीमा पार गरी अर्को गाडीबाट गन्तव्यसम्म पुग्दा नागरिकले समस्या झेले।
पर्सा जिल्ला छिपहरमाई गाउँपालिका–२ कि सविता कुमारीको विवाह भारत, रक्सौलका युवकसँग सम्पन्न हुँदा त्यहाँबाट आउने जन्तीहरूले अलौं र प्रसोतीपुरबाट नेपाल प्रवेश गर्नुप–यो। उनीहरूले ल्याएको गाडी सीमामा राखेर पैदल नेपाल आएर अर्को गाडीको प्रबन्ध गर्नुपरेको थियो।
यसैगरी, पोखरिया नपा–५ सञ्जय साह कानूको भारत, लहोरिया जन्ती जाँदा पनि सीमासम्म नेपाली गाडी प्रयोग गरिएको र पैदल सीमा पार गरेर भारतीय गाडीको बन्दोबस्त गरी जन्ती जानुपरेको थियो। यी दुई घटना उदाहरण मात्र हुन्। यस्ता कैयौं वैवाहिक कार्यक्रममा अहिले यही नियति भोग्नुपरेको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here