प्रस, वीरगंज, १८ मङ्सिर/
भूमिसुधार तथा मालपोत कार्यालय, पर्साबाट किर्ते जालसाज गरी वीरगंज–५ मेनरोडस्थित होटल मकालुअगाडिको करोडौं मूल्यको जग्गा बिक्री प्रकरण सम्बन्धमा पर्सा प्रहरीले गिरधारीलाल अग्रवाललाई बिहीवार पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–१ बस्ने गोपाल राजभण्डारीकी पत्नी कमला राजभण्डारीको नाममा रहेको वीरगंज महानगरपालिका–५ कित्ता नं ७१ को ३२५ वर्गमिटर, कित्ता नं ३ को १२७३.८ वर्गमिटर, कित्ता नं १८६ को १०३.४ वर्गमिटर र कित्ता नं १४३ को ८६.१० वर्गमिटर जग्गा २०७६ फागुन १२ गते मालपोत कार्यालय पर्साले मुकेश राजभण्डारीको नाममा नामसारी गरेको थियो। पछि यो घटना किर्ते जालसाज ठहर भएपछि तत्कालीन मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत तारानाथ दङ्गालले साउन ४ गते जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेका थिए र प्रशासनले किर्ते जालसाजको मुद्दा प्रहरीबाट अनुसन्धान गराएको थियो।
प्रहरीले घटना सम्बन्धमा सर्वप्रथम मुकेश राजभण्डारी भन्ने केवलप्रताप राणालाई केन्द्रीय अनुसन्धान ब्युरोमार्फत असोजमा पक्राउ गरेको थियो। राणा किर्ते जग्गा प्रकरणका मुख्य नाइके हुन्। उनले गिरधारीलाल अग्रवालसँगको संलग्नतामा सो कार्य गरेको पुष्टि भएपछि प्रहरीले बिहीवार अग्रवाललाई पक्राउ गरेको हो।
प्रहरीले घटना सम्बन्धमा सर्वप्रथम राणालाई पक्राउ गरेको थियो भने मङ्सिर १६ गते लेखनदास बारा जिल्लाका प्रमेश साह र वीरगंज–१५ लक्ष्मणवाका अमर साह कानूलाई पक्राउ गरेको थियो।
राणाले दुईजना लेखनदासको नाम पोलेको र लेखनदासले गिरधारीलाल अग्रवालको संलग्नता पुष्टि गरेको स्रोतले जनाएको छ। अनुसन्धानमा अग्रवाल संलग्न रहेको प्रतीक दैनिकले शुरूमै दाबी गर्दै आएको छ। अग्रवालले किर्ते जग्गा प्रकरणमा मुकेश राजभण्डारी भन्ने केवलप्रताप राणाविरुद्ध पर्सा जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेका थिए। रु ५० लाख बैना मुकेशले लिएको र जग्गा नदिएको भन्दै उनले नाटकीय हिसाबले अदालतमा मुद्दा दिएर चोखो बन्ने काम गरेका थिए।
त्यतिखेरै प्रतीक दैनिकले किर्ते जग्गा प्रकरणमा गिरधारी अग्रवाल संलग्न रहेको दाबी गर्दै आएको थियो। अहिले प्रहरीले अग्रवाललाई पक्रेर सो दाबीलाई पुष्टि गरेको छ।